- Loading...
‘लक्षणसहितका संक्रमित बढ्नु खतराको संकेत’
- पुनहिल डट कम
- ४ साल अघि
- ११६ पटक पढिएको

कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न गरिएको चार महिने लकडाउन हटेको केही दिनभयो । लकडाउन हटेपछि संक्रमणको जोखिम बढेको छ । उपत्यकामा लक्षणसहितका संक्रमित पनि बढ्न थालेका समाचारहरु सार्वजनिक भइरहेका छन् । यसै विषयमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुराकानी :
लकडाउन हटेपछि संक्रमणको जोखिम झन् बढेको हो ?
लकडाउनअघि नेपालमा कोभिड–१९ का संक्रमित २ जना मात्रै थिए । लकडाउनपछि औसतमा दैनिक डेढ सय जनाको दरले संक्रमित बढिरहेका छन् । संक्रमितको संख्या ओरोला नलाग्दै बिना तयारी लकडाउन हटाइयो । यस्तो व्यवस्थाका कारण संक्रमणको जोखिम बढेकै हो ।
लकडाउन हटेपछि जोखिम किन बढ्छ ?
लकडाउन गर्दैमा संक्रमण रोकिने भन्ने होइन । संक्रमण फैलिन नदिनका लागि तयारी गर्नका लागि, जनमानसलाई यसबारे बुझाउनका लागि लकडाउन गरिने हो । सरकारले यसैका लागि १२० दिने लामो लकडाउन गर्यो । रोकथामका लागि केही तयारीहरु पनि भए । तर, रोकथाम तथा नियन्त्रणका लागि आममानिसले पुरा गर्नुर्ने जिम्मेवारीमा भने लापरवाही देखिएको छ । भीडभाडमा भौतिक दुरि, अनिवार्य रुपमा मास्क लगाएर हिँड्ने, हात धुने जस्ता आधारभूत नियम पनि पालना नगरी दिँदा संक्रमणको जोखिम बढेको हो । लकडाउन खुल्यो भन्ने शब्दलाई जनमानसले बुझेकै छैनन् । यसलाई उनीहरूले संक्रणमुक्त भयौं भनेर बुझेर मनलाग्दी रुपमा हिँडिरहेका छन् । केहीले बुझेर पनि अटेरी गरिरहेका छन् । यो भन्दैमा जनमानसमा संक्रमणको डर नै छैन भन्ने पनि होइन, डराउने, सावधानी अपनाउने समूह पनि छ । पहिले रोग लाग्यो की मरिन्छ भन्ने डर थियो । अहिले रोग लाग्लाभन्दा पनि रोग लागेपछि समाजले बहिष्कार गर्ला भन्ने डर बढी छ । यो रोगबारे समाजमा जनचेतना पर्याप्त छ । तर, उनीहरूले सावधानीका उपाय व्यवहारमा लागू गर्न अटेरी गर्दा लकडाउन हटेपछि संक्रमणको जोखिम बढेको हो । यस्तै बानी व्यहोरा र चालचलनमा चल्ने हो भने भोलिका दिनमा समुदायमै संक्रमण फैलिने सम्भावना उच्च छ
उसोभए लकडाउन खोल्नै नहुने थियो ?
महामारी नियन्त्रण गर्नका लागि लकडाउन अन्तिम उपाय होइन । यो खोल्नैपर्ने थियो । सधैं लकडाउन गर्दा मुलुकमा आर्थिक लगायतका धेरै समस्या आउँछन् । तर, लकडाउन गर्ने र खोल्ने दुवै तरिका मिलेन । लकडाउनभर सिकेका कुराहरू अब व्यवहारमा उतार्नुपर्छ । संक्रमणको झन् जोखिम भएकाले पहिलेभन्दा बढी सावधानी अपनाउनुपर्छ ।
पछिल्ला दिनमा लक्षणसहितका संक्रमित पनि बढेका हुन् ?
पहिले पीसीआर पोजेटिभ आएका ९९ प्रतिशत संक्रमित लक्षणविहिन हुन्थे । अहिले अस्पतालमा लक्षणसहितका बिरामी आउन थालेका छन् । उनीहरूमा ज्वरो रुघाखोकी, श्वास फेर्न गाह्रो हुने खालका लक्षण छन् । तर, यो कोभिडकै लक्षण हो भन्न हतार गर्नुहुँदैन । स्क्रबटाइपस, इन्फ्लुएन्जा, स्वाइन्फ्लु लगायत अन्य संक्रामक रोगमा पनि यस्तै लक्षण देखिन्छन् । यी रोगका सर्ने तरिका र बच्ने उपाय पनि उस्तै हुन् ।
साउन, भदौ भनेको फ्लुको मौसम पनि हो । यदी अहिले कोभिड–१९ नभएको भए यस्ता लक्षण लिएर आउने बिरामीलाई हामीले फ्लुकै उपचार गरिरहेका हुन्थ्यौं । कोभिड र गैर कोभिडमा स्वाद र गन्ध थाहा नपाउने लक्षण मात्रै फरक छ । त्यसैले लक्षण नदेखिएकोमा अचानक कसरीे लक्षण देखिन थाल्यो, कसरी ‘ट्विस्ट’ आयो भनेर पहिचान गर्न कोभिडसँगै अन्य फ्लुको पनि परीक्षण गरेर हेर्नुपर्छ अनि मात्रै केही निष्कर्ष निकाल्न सकिन्छ ।
लकडाउन खुलेको अवस्थामा जोखिम कम गर्न जनजीवन कस्तो हुनुपर्छ ?
लकडाउन खुलेको अवस्थामा आममानसको जिम्मेवारी झनै बढेको छ । घर बाहिर आवतजावत धेरै छ, भेटघाट बढेको छ । बजार, रेस्टुरेन्ट र सार्वजनिक यातायात खुला छ । तर, सर्वसाधारणले सही तरिकाले सावधानी अपनाइरहेको देखिँदैन । जोखिम न्यूनिकरण गर्ने मुख्य जिम्मेवारी उनीहरूकै हातमा छ । लापरवाही गर्ने हो भने भोलि जे जस्तो नतिजा आउँछ त्यसको भागिदार पनि उनीहरू नै हुनेछन् । यो महामारी राज्य र जनता दुवैले मिलेर लड्नुपर्ने लडाई हो । सच्चा नागरिकको हैसियतले भएपनि सावधानी अपनाएर हिँड्नुपर्ने सबैको कर्तव्य हो । सावधानी कसरी अपनाउने अब सबैले सुनेका, बढेका र बुझेका छन् । व्यवहारमा लागु गरिदिए ठूलो खतरा हुनबाट अवश्य बच्न सकिन्छ ।
संक्रमण बढ्यो भने कस्तो खाले खतरा हुन सक्छ ?
विश्वका लगभग सबै मुलुकमा कोभिड–१९ को संक्रमण फैलिसक्यो । केही मुलुक बाहेक कतै भयाभह स्थिति आएको छैन र नेपालमा पनि आउँछ नै भन्ने छैन । हाम्रो देशका अस्पतालको अवस्था र स्वास्थ्य पूर्वाधार कस्तो छ सबैलाई थाहै छ । भयाभह स्थिती आयो भने थेग्न सकिँदैन । उपत्यकामा जनघनत्व बढी छ, आवतजावत बढी छ त्यसैले जोखिम पनि यहाँ नै बढी छ । संक्रमण बढ्यो भने यहाँका अस्पतालले धान्न सक्छन् जस्तो लाग्दैन । लक्षणसहितका संक्रमित बढेर अस्पताल भर्ना गर्नुपर्यो भने सम्हाल्न नसकिने स्थिती आउन सक्छ । एकपछि अर्को जटिल अवस्था आउन सक्छ । हामीले सोचेभन्दा खराब स्थिती नआओस् भनेर तयार हुनुपर्छ । सर्तकता अपनाउनुर्छ ।
कोभिडसँगै अहिले अन्य संक्रमक रोग थपिन थालेका छन् त्यसलाई नजरअन्दाज गर्नु हुँदैन । भाइरसले कुनैपनि बेला रूप फेर्न सक्छ, जटिलता पैदा हुनसक्छ र यो जनस्वास्थ्यकै लागि ठूलो चुनौति खडा हुनसक्छ ।
अन्य मुलुकसँग तुलना गर्दा नेपालमा संक्रमणको स्थिती कस्तो छ ?
अहिलेसम्मको अवस्था हेर्दा अन्य मुलुकको तुलनामा हाम्रो स्थिती खराब छैन । निको भएर गएका संक्रमित फर्केर आएका छैनन् । अन्य मुलुकमा जस्तो कडा रोगी र वृद्धवृद्धाको मृत्युदर यहाँ छैन । वृद्धवृद्धा हुँदैमा मानविय क्षति हुन्छ भनेर चाहीँ बुझ्नु हुँदैन । उमेरहद नहुनु रोगबाट बच्नु भन्ने होइन । पक्षघात, क्षयरोग या अन्य कडारोग छ भन्ने युवालाई पनि यो रोगको खतरा उत्तिकै छ । नेपालका मृत्यु भएका संक्रमितको तथ्याकंले पनि यही देखाएको छ ।
समुदायमा संक्रमण फैलिएको छ, छैन भन्ने अहिले तर्कवितर्क चलिरहेको छ । अहिलेको संकेत हेर्दा हामी समुदाय संक्रमणको मुखैमा छौं । ठोकुवा गरेर भन्न चाहीँ एकपटक समुदायमा परीक्षण गर्नुपर्छ । संक्रमण फैलिएको क्षेत्रमा, उपत्यका जस्तो मानिसहरू धेरै आवतजावत हुने ठाउँमा परीक्षण गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदासम्म धेरै जोखिम छैन तर, देशभित्रै सावधानी नअपनाउने हो भने उपत्यका लागायत ठूला शहरमा समुदाय संक्रमण हुने उच्च जोखिम छ ।
कोभिड–१९ संक्रमणका कारण नेपालमा मृत्युदर कम देखिएको हो ? किन ?
हाम्रो देशमा संक्रमण फैलिरहेको अवस्था भएकाले अहिले नै मृत्युदर कम या धेरै भनेर हिसाब गरिहाल्न मिल्दैन । दैनिक जसो एकजना संक्रमितको मृत्यु भैरहेको छ । अहिलेसम्मको संक्रमण हेर्दा चाहीँ अन्य मुलुकको तुलनामा मृत्युदर कम नै हो भन्न सकिन्छ । मृत्युदर कम हुनुका धेरै कारण पत्ता लाग्नै बाँकी छ । दक्षिण एशियाली मुलुकमा यो भाइरस कमजोर रूपमा प्रस्तुत भएको छ पनि भनिएको छ तर, यो अनुमान मात्रै हो । यहाँको वातावरण र जीवनशैलीका कारण पनि यो भाइरसले कडा रूपमा असर नगरेको हो कि पनि भन्न सकिन्छ । यद्यपी यसको कुनै वैज्ञानिक प्रमाण छैन ।
संक्रमण रोक्न राज्यको प्रणाली कस्तो हुनुपर्छ ?
अहिलेको अवस्थामा सर्वसाधारणले सावधानी अपनाउनु नै मुख्य उपाय हो । परीक्षणको दायरा बढाउनपर्छ । लक्षणसहितका संक्रमित बढेकाले अस्पतालमा आईसीयू र भेन्टिलेटरको संख्या पनि बढाउन आवश्यक देखिन्छ ।
source – https://ekantipur.com/Interview/2020/07/29/159601932951359024.html

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
