FLASH NEWS
  • Loading...

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

नेपालको पर्वताारोहणलाई संसारभर चिनाउने जेठो अन्नपूर्ण प्रथम हिमाल पुग्न हालै मात्र स्थानीयले पहिचान र प्रर्वद्धन गरेको कान्छो पदमार्गमा गुल्जार हुन थालेको छ । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमाललाई पर्वतारोहणको हिसावले जेठो हिमाल भनिन्छ ।
अन्नपूर्ण आरोहणको ७५ बर्षपछि सो हिमाल पुग्न पूर्वाधारसहितको सजिलो र छरितो पदमार्ग विकास गरिएपछि ‘जेठो हिमाल पुग्ने कान्छो पदमार्ग’ पछिल्ला केही बर्षदेखी गुल्जार बन्न थालेकाे हो । स्थानीय पर्यटन ब्यवसायीका अनुसार चैत–वैशाख–जेठ २० गतेसम्ममा कान्छो पदमार्गमा क्याम्प, ब्याकप्याक र टि हाउस ट्रेकमागरी ६ हजार आन्तरिक पर्यटक पुगे ।
‘अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गका कम्तीमा ७ स्थानमा ४०–५० जनासम्म सजिलै खाना र बास बस्न मिल्ने अस्थाई प्रकृतिको वासस्थान बनेपछि आन्तरिक पर्यटक धेरै आएका छन । यही सिजनमा मात्र ६ हजार हाराहारी आन्तरिक पर्यटक आए । हिमाल चढ्न आउने पर्यटकहरु पनि यस वर्ष हेलिकोप्टरबाट गएनन, हिंडेरै गए’ मौसिर हर्जोग पदमार्गमा पर्ने गुफाफाँट स्थित होटलका संञ्चालक अनिल मगरले भने, ‘पदमार्गमा पर्ने अति सुन्दर फुतफुते झरना र वेस क्याम्पमा रहेको निलो पञ्चकुण्ड हिमतालले धेरै पर्यटक आर्कषित भएका छन ।’

अन्नपूर्ण प्रथम हिमालमा मानव पाईला परेको ७५ बर्ष पुरा भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही माउरिस हर्जोगको टोलीले सर्वप्रथम अन्नपूर्णको चुचुरोमा पाईला राखेको थियो । उनै पर्वतारोही मौरिस हर्जोगले लेखेको र आजसम्म ४० बढी भाषमा अनुवाद भएको र विश्वको सर्वाधिक विक्रि भएको पुस्तक ‘दि अन्नपूर्ण’ नामक पुस्तकले नेपालमा पर्यटनको ढोका उघारेको मानिन्छ ।
संसारमा ८ हजार मिटरभन्दा अग्ला १४ मध्य ८ वटा हिमाल नेपालमै छन । अन्नपूर्णमा सफल आरोहण भएको १ बर्षपछि मात्र संसारको सर्वाधिक अग्लो सगरमाथा हिमालको आरोहण भएको थियो । त्यसपछि सगरमाथामा सिजनमै सयौं पर्वतारोही उक्लिन्छन, आधार शिविरमा हजारौं पर्यटक पुग्छन । तर यही पुस्तकले विश्व विख्यात बनेको जेठो हिमाल अन्नपूर्ण र पहिलो आरोही मौरिस हर्जोगले हिंडेको बाटो भने गुमनाम रह्यो ।

‘संसारकै पर्वतारोहणको इतिहाँसमा ८ हजार मिटर भन्दा अग्लो अन्नपूर्ण प्रथम हिमाल आज भन्दा ७५ बर्ष अघि नै आरोहण भएपछि अझै गुमनाम र ओझेलमा भएको देख्दा अचम्म लागेको छ’ अन्नपूर्ण हिरक महोत्सव मनाउन वेस क्याम्प पुगेका नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख मणीराज लामिछानेले भने, ‘पहिलो आरोहीले लेखेको ‘दि अन्नपूर्ण’ पुस्तक संसारभर चर्चित हुने तर उनै आरोही हिंडेको बाटो भने कसैले नपछ्याउने भएछ । कितावमा पढिने र मान्छे नपुग्ने किन भयो अध्ययन गरिनु पर्ला ।’
लामिछानेले थपे, ‘अन्नपूर्ण हिमाल संसारलाई हिमाल चिनाउने नाम मात्र होईन नि, नेपाललाई चिनाउने ढोका थियो । तर विडम्बना ७५ बर्षसम्म बाटै ओझेलमा रह्यो, सायद स्थानीय र जिल्लाबासीको पहुँच अभाव र सकृयता पुगेन कि ?’

हर्जोग र उनको टोली सदस्यहरु लुईस लचेनल, गास्टन रेबुफा, लियोनल टेरे समेत सुरुमा भारतको गोरखपुरबाट समेत देखिने ८ हजार १६७ मिटर अग्लो धौलागिरी हिमाल आरोहणकालागी हिंडेको थियो । टोली पोखराबाट म्याग्दी सदरमुकाम बेनीहुँदै म्याग्दीखोला पछ्याउँदै धौलागिरी हिमात तर्फ जानु पर्नेमा भुलवस कालीगण्डकी नदी पछ्याउँदै मुस्ताङको लेते पुगेको थियो ।
लेतेबाट टोली पूर्वमोडिए भेडा गोठालो र सिकारी मार्ग पछ्याउँदै निलगिरी साउथ हिमालको फेदीको ५ हजार मिटर अग्लो खर्क छिचोल्दै अन्नपूर्ण हिमालबाट बग्ने मिस्ट्रीखोला (मिस्रीखोला) किनारामा अवस्थित भुस्केटमेला भन्ने पाखोमा पुगेको थियो । त्यसपछि केही घन्टामै निलगिरी नर्थ, तिलिचोपीक र अन्नपूर्ण प्रथम हिमाल फेदीको वेस क्याम्प पुगेको थियो ।

अन्नपूर्ण वेसक्याम्पबाट हिमालको उत्तरीमोहडाहुँदै सन् १९५० जुन ३ तारिकमा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग र लुइस ल्याचेनलले अन्नपूर्ण प्रथम (८०९१ मी.) विना अक्सिजन आरोहण गरेका थिए । हर्जोगले पहिलो वास बसेको पहिलो क्याम्प अहिले तिलिचोपीकबाट झरेको हिमपहिरोले क्षति पुर्‍याएको छ । सो समयको हिमनदी पग्लेर अहिले विशाल हिमताल बनेको छ । माथिल्लो ग्लेसियर पातलो हुँदै कालो पहाड मात्र देखिन थालेको छ । ठूला ठूला वरफका ढिक्का फुट्दै चिरा परेका खाल्टो ‘खरपस’ वा क्रेबसहरु गर्मीले पग्लदै ठूलो पानीको झरनाको रुपमा बग्दै छ । हिमालबाट पानीको झरना खसेको देख्दा झट्ट देख्दा सुन्दर लागेपनि यो भविश्यकालागी खतराको संकेत हो ।
‘हिमालमा तिब्र परिवर्तन भैरहेको छ । ३० बर्ष अघि मैले देखेको अन्नपूर्ण वेस क्याम्प वरपरको हिमनदी अहिले करिव अस्थित्वमै छैन । अन्नपूर्ण चढ्ने बाटोमा पर्ने ग्लेसियर पग्लेर पातलो भैसक्यो’ हिमाली क्षेत्रमा खोज तथा उद्धारमा सकृय इन्द्रसिं शेरचनले भने, ‘यही सिजनमा अन्नपूर्णको क्याम्प टु मा भएको हिमपहिरोमा ज्यान गुमाएका शेर्पाहरुको उद्धार गर्न पुग्दा त्यहाँ पनि चक्ला चक्ला पर्दै हिउँ तल लच्केको देखें ।’

अन्नपूर्ण प्रथम आरोहण गर्ने यो बाहेक अर्को मार्ग हालसम्म पहिचान भएको छैन । धेरै म्याप र विवरणहरुमा भने नर्थअन्नपूर्ण वेस क्याम्प भन्ने भ्रमपूर्ण विवरण पाईन्छ । वास्तवमा अन्नपूर्ण हिमश्रृखलामा कुनै नर्थ अन्नपूर्ण भन्ने हिमालको नाम नै छैन । अन्नपूर्ण प्रथम हिमालको वेस क्याम्प पनि भौगोलिक हिसावले अन्नपूर्णको पश्चिम फेदीमा अवस्थित छ । तर अन्नपूर्ण आरोहण भने उत्तरी मोहडाबाट मात्र हुँदै आएको छ ।
‘अन्नपूर्ण हिमाललाई सानो तर कष्टपूर्ण हिमाल मानिन्छ । अन्नपूर्ण आरोहण पनि निक्कै टेक्निकल छ’ अन्नपूर्ण आधारशिविरमा भेटिएकी अन्नपूर्ण हिमालको पहिलो महिला आरोही पूर्णिमा श्रेष्ठले भनिन, ‘अवत अन्नपूर्ण वेस क्याम्पसम्मै सजिलो पदमार्ग बनेका छन, बेसक्याम्पसम्म ब्याकप्याक ट्रेक नै गर्न सकिने छ । टिहाउस ट्रेकको रुपमा विकसित भैरहेको पाएँ ।’
अन्नपूर्ण वेस क्याम्पमा राखिएको पहिलो आरोहीहरु हर्जोग, लाचेनल र शेर्पाको शालिक छेउमा राखिएको ताम्रपत्रमा उल्लेख भएअनुसार सन् २०२५ सम्ममा ५ सय ६ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन । तथ्याङ्कको हिसावले हेर्दा ३२ प्रतिशतबढी आरोहीहरुले अन्नपूर्ण आरोहणक्रममा ज्यान गुमाएका छन ।
अन्नपूर्ण हिमालको प्रथम आरोही मौरिसको सन् २०१२ मा ९३ वर्षको उमेरमा मृत्यु भैसकेको छ । मृत्यु अघि अन्तिम पटक हर्जोग सन् २०१० सालमा अन्नपूर्ण वेस क्याम्प पुगेपछि वेस क्याम्पबाट निक्लने खोला मिस्टीखोला पछ्याउँदै सवैभन्दा नजिकको वस्ती नारच्याङमा ओर्लेका थिए । उनै मौसिरको प्रेरणाबाट हालको मौरिस हर्जोग ट्रेल खोलिएको हो ।

हर्जोगले झक्झकाएपछि स्थानीय प्रभा माध्यामिक विद्यालयका शिक्षक तेजबहादुर गुरुङको अगुवाईमा विस २०६८ सालमा गाउँको विचमा बग्ने मिस्ट्रीखोला पछ्याउँदै अन्नपूर्ण हिमाल र आधारशिविर तथा मिस्त्रीखोलाको मुहान रहेको हिमतालसम्म पुग्ने १६ दिन लामो पदमार्ग पहिचान भएको थियो । त्यसपछि शिक्षण पेशा त्यागेर गुरुङ्ग यो पदमार्ग प्रर्वद्धन अभियानमा निरन्तर जुटेका छन । सो पदमार्गलाई स्थानीय अन्नपूर्ण गाउँपालिकाले विस २०७७ सालमा ‘मौरिस हर्जोग पदमार्ग’ नामाकरण गरेको थियो । जन्मथलो पर्वत छोडेर गुरुङ अहिले अन्नपूर्ण अवस्थित नारच्याङमा घरबाससहित अन्नपूर्ण हिमालमा पर्यटन प्रर्वद्धनमा जुटेका छन ।

‘दुई दशक अघिसम्म अन्नपूर्ण हिमाल आरोहण गर्ने जाने पर्वतारोही मुस्ताङबाट छिरेर वेसक्याम्प पुग्थे ।
अन्नपूर्ण हिमाल म्याग्दीको भुगोलमा पर्ने तथ्य र त्यहाँ पुग्ने मार्गको पहिचान नै भएको थिएन । गाउँमा बग्ने खोलो पछ्याउँदै जाँदा त्यसको मुहान अन्नपूर्णहिमताल र अन्नपूर्ण आरोहण हुने एकमात्र रुट यही हो भन्ने पहिचान भएको हो’ अन्नपूर्ण पदमार्ग प्रर्वद्धनमा जुटेका अभियन्ता तेजबहादुर गुरुङ्गले भने, ‘अहिले अन्नपूर्ण आधार शिविरमा एक–दुई दिनमै सजिलै टि हाउस ट्रेक गर्दै पुग्न सकिने भएको छ । वाहृयमात्र हैन आन्तरिक पर्यटकले सिजनमा पदमार्ग गुल्जार भएको छ ।’
दुई पालिकाको नाम एउटै ‘अन्नपूर्ण’
अन्नपूर्ण प्रथम र साउथ हिमालको पूर्व र पश्चिममा अवस्थित कास्की र म्याग्दीका दुई पालिकाले आ–आफ्नो नाम ‘अन्नपूर्ण’ राखेका छन ।
अन्नपूर्ण हिमालबाट उठ्ने पर्यटन रोयल्टी एकलौटी बुझ्दै आएको कास्कीले अन्नपूर्ण हिमालको स्वामित्व लिने ‘अन्नपूर्ण गाउँपालिका’ नामााकरण गरेको छ । त्यस्तै भुगोलमा पर्ने तथ्यप्रमाणसहित म्याग्दीले पनि सोही हिमालको स्वामित्व लिन ‘अन्नपूर्ण गाउँपालिका’ नाम राखेको हो ।

वित्त आयोगका पदाधिकारीले स्थालगत अध्ययनपछि अन्नपूर्ण हिमालबाट प्राप्त हुने रोयल्टी म्याग्दी र कास्कीलाई बाँडिदिएपछि राजनैतिक तथा निजामति क्षेत्रमा बढी पहुँच र प्रभाव राख्ने कास्कीले ‘संघिय’ मन्त्रालय मार्फत नाम जुधेको भन्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई नाम फेर्न दवावमुलक पत्राचार गरेपछि विवाद वल्झेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र