FLASH NEWS
  • Loading...

कालीगण्डकी नदी किनारामा अझै अब्यवस्थित डम्पिङ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३३९ पटक पढिएको
Post Thumbnail

‘उपयुक्त डम्पिङसाईड फेला नपरेकोले’ भन्दै बेनी नगरपालिकाले १७ बर्षदेखी फोहोरमैला बर्खे भेलबाढीमा बगाउन मिल्नेगरी कालीगण्डकी नदी किनारामा फाल्न गरिएको छ ।


कालीगण्डकी नदीमा सोझै मिसिनेगरी फोहोरमैला अब्यवस्थित रुपमा फाल्दा कालीगण्डकी सभ्यता र पर्यवरणमा गम्भीर प्रभाव परेको भन्दै आलोचना भएपनि बेनी नगरपालिकाले ब्यवस्थित डम्पिङ गर्ने भन्दै बेनीको फोहोर मैला ब्यवस्थापन जिम्मा निजी क्षेत्रलाई ठेक्का दिएपनि अझै फोहोरमैला सडकदेखी सोझै कालीगण्डकी नदीमा मिसाउने गरिएको छ । फोहोरमैला फाल्दा धार्मिक तथा पर्यटकीय महत्वको कालीगण्डकी नदी दिनदिनै प्रदुषित मात्र होईन तल्लो तटिय नारायणी नदी क्षेत्रमा पाईने डल्फिन समेत जलचर प्रजातीको जीवनचक्रमा संकट उत्पन्न हुन थालेको समाचार आउन थालेका छन ।


‘अर्को सुरक्षित र दिगो ब्यवस्थापन गर्न मिल्ने ल्याण्डफिल साईट फेला नपरेकोले सहरबाट उत्र्सजन भएको फोहोर कालीगण्डकी नदी किनारामा विर्सजन गर्नु बाध्यता हो’ बेनी नगरपालिकाका कार्यकारी प्रमुख छविलाल सुवेदीले भने, ‘फोहोरमैला सोझै नदीमा पुग्न नदिन ग्याभिन पर्खालले घेरेर राख्ने, पुन:प्रयोग योग्य फोहोरमैला छानेर ब्यवस्थापन पनि गरिरहेका छौं । तर अर्को ल्याण्डफिलसाईट फेला नपर्दा फोहोरको थुप्रो माथी सडकसम्मै उक्लेको छ ।’

फोहोरलाई संकलन केन्द्र भवन भित्र पुर्‍याई वर्गिकरणपछि रिसाईकलन गर्ने, कुहिने फोहोर झिकेर बाँकी फोहोर मात्र विर्सजन गर्ने भनिएपनि त्यसो हुन सकेको छैन । अहिले दैनिक निक्लने एक मेट्रिकटन फोहोर एक किलोमिटर माथी बेनी–जोमसोम सडक खण्डको धार्मिक स्थल गलेश्वरधाम छेवैमा कालीगण्डकीमा लगेर खसाल्ने गरिएको छ ।


‘फोहोर आफैमा नराम्रो वस्तु हो, लुकाउनु पर्ने । कालीगण्डकी नदी नदी मात्र होईन सभ्यता पनि हो, आस्था पनि हो । प्राणी जगतको जीवन पनि हो । संरक्षण गर्नु पर्ने दायित्व बहन गरेको नगरपालिकाले नै हाम्रो आस्थामाथी फोहोर थुपारीरहेको छ’ पर्यटन पर्वद्धन र पर्यावरण संरक्षणमा सकृय चित्र तिलिजाले भने, ‘पवित्र नदीमा फालेको फोहोर लुकाए पनि त हुन्थ्यो नि मुल सडकमै छरपष्ट छ, फोहोरको पहाड नै लगाएको छ, दुर्गन्ध उस्तै ।’ तिलिजाले थपे, ‘देश विदेशबाट आउने मान्छेले हाम्रो सभ्यतालाई कसरी मुल्याङ्कन गर्लान ?’
नगरपालिकाले फोहोर ब्यवस्थापन जिम्मा निजी क्षेत्रको मिसन फर वेष्ट मेनेजमेन्ट प्रालिलाई दिएपनि प्रालिले सम्झौता अनुसारको ब्यवस्थापन गरेको छैन । फोहोरमैलाले नदी प्रदुषित मात्र गरेको छैन, दुर्गन्धले सडकमा हिँड्नै नसकिने भएको छ ।


‘कालीगण्डकी नदी किनारामा फालेको फोहोरको दुर्गन्धले बेनी–गलेश्वर खण्डमा हिंड्नै गाहे हुन्छ । अव गर्मी बढ्यो, झन दुर्गन्ध परसम्म फैलन्छ’ बेनी नगरपालिका, ९ गलेश्वरका मोहन केसीले भने, ‘हामी गलेश्वर–बेनी दैनिक यात्रा गर्ने हामीले भोगेको दुर्गन्धका पीडा कस्ले भोगे होला र ?’ उनले थपे, ‘तल नदी किनाराबाट फालेको फोहोरको थुप्रो भरिदै माथी सडकसम्म आएको छ । कालीगण्डकीलाई सभ्यता मानेर गलेश्वर, मुक्तिनाथ र दामोदर कुण्ड तीर्थाटनमा आउने भक्तजनले कालीगण्डकीमा फालेको फोहोर देखेर घिन मान्ने गरेका छन ।’


प्रालिले पुन:प्रयोग हुने वस्तु झिकेर, सड्ने वस्तीको कम्पोष्ट मल उतपादन गर्ने र बाँकी वस्तुलाई नगरपालिकाले उपलब्ध गराएको सेतीपहिरो स्थित फोहोर संकलन केन्द्रमा विर्सजन गर्ने सम्झौता भएपनि फोहोर बाहिर सडकदेखी नदी किनारामा फाल्ने गरेको छ । ल्याण्डफिल्ड साईटको विकल्प नकिक्ले पनि दुर्गन्ध रोक्न औषधी, माटो, चुना आदी छर्कनु पर्ने हो तर सरोकारवालाको त्यसमा समेत ध्यान पुगेको छैन ।
‘संकलित फोहोरबाट पुन:प्रयोग गर्न मिल्ने, सड्ने र नसड्ने वस्तु छुट्याउन र छुट्याएको वस्तु भण्डारण प्रयाप्त ठाउँ चाहिन्छ । कालीगण्डकी किनारो साँघुरो भएकोले फोहोर बाहिरसम्म पुगेको हो’ फोहोरमैला ब्यवस्थाक यामबहादुर परियारले भने, ‘संकलित फोहोर सडकबाट तल खाली ठाउँमा खसाल्ने र त्यहाँ पुन:प्रयोग गर्न मिल्ने वस्तु झिकेर बाँकी वस्तु नगरपालिकाले देखाएकै ठाउँमा डम्पिङ गरेका छौं ।’

बेनीबाट मात्र होईन कालीगण्डकी नदी तटिय क्षेत्रका जोमसोमदेखी तल कुस्मा नगरपालिकासम्मको फोहोर कालीगण्डकी क्षेत्रमा फाल्ने गरिएको छ ।