FLASH NEWS
  • Loading...

दुर्गेशको ‘तीज गीत’ फेरि विवादमा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२३ पटक पढिएको
दुर्गेशको ‘तीज गीत’ फेरि विवादमा

गायक दुर्गेश थापा गीतकै कारण फेरि एकपटक विवादमा तानिएका छन् । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनिक गरेर होस् या ‘बीच्चबीच्च-३’ मा साडी लगाएर गीत गाउँदा विवादमा तानिएका थिए । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले सामाजिक सहिष्णुता बिगारेको भन्दै प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो । यसपालि भने तीज लक्षित गर्दै सार्वजनिक गरेको ‘बीच्चबीच्चमा-४’ ले उनी विवादमा तानिएका हुन् ।

६ दिनअगाडि युट्युबमा सार्वजनिक भएको ‘बीच्चबीच्चमा-४’मा प्रयोग गरिएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आपत्ति जनाएको छ । यसअघि गीतको प्रोमो सार्वजनिक हुँदा नै प्रतिष्ठानले दुर्गेशलाई पत्र काटेको थियो । संस्थाको विकृति/विसंगति न्यूनिकरण समितिले गीतमा प्रयोग भएको ‘ख्यास्स पुतली’ शब्दको फेरबदल गर्नसमेत पत्रमार्फत ध्यानाकर्षण गराएको थियो ।

गाउँघरमै प्रयोग हुने शब्दलाई प्रयोग गर्दा प्रतिष्ठानले आफूलाई पेलेको दुर्गेशको भनाइ छ । ‘ख्यास्स भनेको त गाउँतिर सामान्य भाषामा नराम्रो काम गर्दैछस् झुक्केला भन्न प्रयोग गरिन्थ्यो । प्रतिष्ठानले मलाई पेल्न खोजेको हो, म संस्थाको सदस्य पनि हैन । म विवादमा तानिन चाहँदिन । तर उहाँहरुले तानिदिनुहुन्छ । मैले त अहिलेको तीजमा नाच्न पाइएन, गाउन पाइएन, ख्यास्स भो भन्न खोजेको हो । त्यसमा नराम्रो भन्न खोजेको जस्तो लाग्दैन,’दुर्गेशले भने ।

प्रतिष्ठानले सबै गायक/गायिकालाई समान व्यवहार नगरेको दुर्गेशको आरोप छ । ‘उहाँहरुले सबैलाई समान व्यवहार गर्नुपर्‍यो । आफ्नाहरुले जस्तो गीत गाए पनि हुने तर हामी संस्थामा छ भन्दैमा त्यस्तो पत्र काट्न मिल्दैन । अरु कतिले छाडा शब्द प्रयोग गरेर गीत गाएका छन् । त्यो सब हटाउनुपर्‍यो नि पहिला । लाइभ दोहोरीमा पनि सेन्सर बनाउनुस् । सेन्सर पास गरेर मात्र गीत प्रदर्शन गर्ने प्रक्रिया बनाउनुस् । मलाई मात्र उहाँहरुले देख्नुहुन्छ,’उनले भने,’उहाँहरुले जस्तो गीत ल्याए पनि हुने । प्रतिष्ठानको पूर्वअध्यक्ष चन्द्र शर्माले ‘छातिमाथि ट्याटु हान्ने’ बोलको गीत बनाएर खेल्नु भएको छ । महासचिव सुवास केसीकी पत्नी प्रीति आलेले ‘भुत्रो मायाजाल’ निकाल्नु भएको । ती गीत हटाएको भए मैले निकाल्ने पनि थिइनँ यो गीत ।’