FLASH NEWS
  • Loading...

हिरो बन्छु भन्दा खिल्ली उडाउँथे – दयाहाङ राई

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०२ पटक पढिएको
हिरो बन्छु भन्दा खिल्ली उडाउँथे – दयाहाङ राई

दयाहाङ राई नेपाली चलचित्र क्षेत्रमा चिरपरिचित नाम हो । २०६३ सालमा ‘अनागरिक’ चलचित्रबाट अभिनययात्रा सुरु गरेका राईले अहिले दुई नम्बरी फिल्मको सुटिङ गरिरहेका छन् ।

अभिनेता राईका बच्चादेखि वृद्धसम्म फ्यान छन् । हरेक फिल्ममा फरक अभिनय गर्दै आएका राई जुनसुकै भूमिकामा आफूलाई फिट राख्न सक्षम कलाकारभित्र पर्छन् ।

विगत केही वर्षयता महिनैपिच्छे हलमा उनका फिल्म लाग्दै आएका छन् । केही वर्षअगाडिसम्म उनको टाउको पोस्टरमा राखे मात्र पनि सिनेमा घरमा दर्शकको भीड जम्मा हुन्थ्यो । राई पछिल्लो समयका ब्यस्त नायक हुन् । उनी चलचित्रसँगै म्युजिक भिडियोमा समेत अभिनय गर्दै आएका छन् ।

संघर्षलाई साथ दियो लुट फिल्मको ‘गोफ्ले’ले

२०६० सालमा पहिलो पटक रंगमञ्चमा सिरुमा रानी नाटक गर्दादेखि यो दिनसम्म आइपुग्दासमेत संघर्ष गरिरहेको नायक राई बताउँछन् ।

‘मेरो फिल्म करिअरको टर्निङ प्वाइन्ट ‘लुट’ फिल्म हो । यो फिल्ममा ‘गोफ्ले’को लुक्स दर्शकले मन पराए । लुटमा हिरो भनेर होइन,’ उनले भने, ‘लुटपछि फिल्मसँगै संघर्षका चुनौती धेरै थपिए । दर्शकका लागि हरेक फिल्ममा फरक अभिनय गर्नुपर्‍यो । यो पनि मेरा लागि चुनाैती नै थियाे ।’

‘मेरो एउटा साथी छ’, मदन भण्डारीको हत्यामा आधारित चलचित्र ‘दासढुङ्गा’, र ‘आचार्य’जस्ता फिल्ममा काम गर्दासम्म चलचित्र क्षेत्रमा उनकाे खासै चर्चा थिएन ।

तर, २०६९ सालमा बनेको फिल्म ‘लुट’मा निर्वाह गरेको ‘गोफ्ले’ क्यारेक्टरले राईलाई स्टार बनायो । साे फिल्म नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्न पुग्यो । त्यसपछि उनले आफ्नो जीवनमा कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । उनले ‘लुट’को ‘गोफ्ले’लाई ठूलो संघर्षपछिकाे सफलता मानेका छन् ।

राईले एक दशकदेखि नेपाली फिल्ममा आफ्नो उपस्थितिलाई रत्तिभर कमी हुन दिएका छैनन् । राईको नाममा नेपाली फिल्मक्षेत्रको ‘लोगो’ बनिसकेको छ । तर, राई भने नामलाई ‘लोगो’ भन्न रुचाउँदैनन् । अगाडि वा पछाडि कुनै उपनाम जोडिरहन आवश्यक छैन । उनले ‘माइला डटकम’ नाटकको निर्देशन पहिलो पटक गरेका थिए । ‘डिग्री माइला’ जस्ता धेरै नाटक पनि उनले लेखेका छन् ।

राई भोजपुरको पश्चिमी गाविस खावा वडा नं. ५ मा १ वैशाख २०३७ मा बुबा टीकाराम राई र आमा चन्द्रदेवी राईको कोखबाट जन्मिएका एक छोरा हुन् । २०६२ सालमा राई गायिका बेनुका राईसँग लगनगाँठो बाँधेका थिए । राईको एक जना छोरा समेत छ ।

बाल्यकाल गाउँमै गाईवस्तु गोठालो र परिवारसँग खेतीपाती गरेर हुर्किएका नायक राईले खावा गाविसको दिल प्राथमिक विद्यालय, पशुपति निम्नमाध्यमिक विद्यालयहुँदै अन्नपूर्ण उच्च माध्यमिक विद्यालय भोजपुरमा एसएलसीसम्मको अध्ययन गरेका हुन् ।

एसएलसीपछि भोजपुर बहुमुखी क्याम्पसमा आईए पढेका दयाहाङ राई त्यसपछि सिधै काठमाडौं आए । काठमाडाैं आएर नाटक हुँदै फिल्मयात्रा सुरु गरे हुन् ।

गाईबस्तु गोठालोले कहाँ कलाकार बन्ने सपना देख्छन् । फेरि हाम्रो समुदायमा कलाकारभन्दा लाहुरे बन्ने रहर धेरै हुने गरेको नायक राई बताउँछन् ।

‘२०५७ सालतिर लाहुर जान भिडेको थिएँ । गल्ला पास भए पनि एआर पास हुन सकिनँ,’ उनले भने, ‘क्याम्पस पढ्दासम्म कलाकार बन्ने भुत चढेको थियाे । काठमाडौं प्रवेश गरेपछि नाटक सिक्न थाल्दा पनि हिरो बन्छु भन्ने सोचेको थिइनँ ।’

२०६० सालबाट कलाकारितासँग सम्बन्ध गाँसेका उनले २०६३ सालमा एक्टर्स स्टुडियोमा नाटक सिक्न थाले । त्यसपछि मात्र कलाकारिताकाे भुत चढेको उनी बताउँछन् ।

काठमाडौंमा पसेसँगै राईको संघर्षका दिन सुरु भए । काठमाडौंमा आफन्तसँग बस्ने हुँदा राईलाई साह्रै गाह्रो नभएको बताउँछन् । कलाकारितामा आफूलाई अगाडि बढाउन भने उनले खुब पसिना र संघर्ष गरेको बताउँछन् । परिवारका कोही कलाकार नभएका कारण यो क्षेत्रमा टिक्न र अगाडि बढ्न धेरै नै संघर्ष गर्नुपरेको अनुभव उनी सुनाउँछन् ।

पहिलो फिल्म ७ कक्षा पढ्दा राजेश हमालको ‘कसम’ चलचित्र भोजपुरमा हेरेको भए पनि त्यो बेला कलकार बन्ने सपना भने नदेखेको उनी बताउँछन् ।

युवा, हाम्रो टिम र दलनजस्ता टेलिफिल्म सानोतिनो भूमिका निर्वाह गर्दै आएका राईलाई निर्देशक रामबाबु गुरुङले फिचर फिल्म अनागरिकमा काम गर्ने अवसर दिए । राई नाटकमा अभिनय गर्दागर्दै ठूलो पर्दाका फिल्ममा प्रवेश गरेका थिए ।

रङ्गमञ्चकाे कलाकार फिल्ममा आउँछु भन्दा ‘धेरैले हो र अभिनय गर्न सकिन्छ ?’ भनेर खिल्ली उडाएको एक दशकअगाडिकाे अनुभव सम्झिन्छन् । भन्छन्, ‘एक दशकअगाडि रंगमञ्चका कलाकारकालाई नाटककर्मीका रूपमा मात्र हेर्ने परम्परागत सोच थियो । यस्तो चेतनाका कारण धेरै खुबी भएका कलाकार पनि नाटक, फिल्म दुवै क्षेत्र छाड्न बाध्य भएका छन् ।’

जसले जतिसुकै खिल्ली उडाए पनि सहन सक्ने रङ्गकर्मी मात्र फिल्म क्षेत्रमा स्थापित भएकाे उनी दाबीका साथ सुनाउँछन् । यो सोचले गर्दा नै फिल्म क्षेत्रबाटै राम्रा कलाकार पलायन भइरहेकाे उनकाे भनाइ छ ।

कति कलाकार त संघर्ष गर्दै गर्दा सम्बन्धित पक्षले खिल्ली उडाउनाले डिप्रेसनकाे शिकारसमेत बन्न पुगेकाे उनी बताउँछन् । वर्तमानलाई महत्त्व दिएर काम गर्दै जाने, भविष्य त आफैँ बन्छ भने कुरामा विश्वास राख्ने उनी भोलि त आफैँले तय गर्दै जानुपर्ने बताउँछन् ।

‘सेतो सूर्य’ जुन ओस्कार अवार्डका लागि नेपालको तर्फबाट छनाेट भएको थियो । यो फिल्ममा मुख्य भूमिका उनकै छ । उक्त फिल्मले अन्तर्राष्ट्रिय पुरस्कार पाउँदा एक दशकसम्म आफूले यस क्षेत्रका लागि गरेकाे संघर्ष, दु:ख, कष्ट सबै बिर्सिएकाे उनी बताउँछन् ।

‘गाँउमा कुनै बेलाकाे गोठालो राई केटोले अभिनय गरेको फिल्मले अन्तर्राष्ट्रिय पुरस्कार पाएको सुन्दा आफैँलाई अनौठो लाग्यो,’ उनले भने, ‘त्यो बेलामा आफूलाई कलाकार भएजस्तो लागेको थियो । धेरै खुसी भएको थिएँ । त्याे फिल्म पुरस्कृत भएपछि यस क्षेत्रका लागि अझै धेरै जिम्मेवारी थपिएकाे महसुस गरेकाे छु ।’

फिल्म भैरेमा दयाहाङले १८ लाख पारिश्रमिक लिएका थिए । उक्त समयमा धेरै पारिश्रमिक लिने कलाकारभित्र पर्छन् उनी । कबड्डी, कबड्डी कबड्डी, लुट, लुट २, झोले, पुरानो डुङ्गा, वडा नम्बर ६, र वीर विक्रमजस्ता चलचित्र दर्शकले धेरै मन पराए । यी फिल्मबाट सफल नायकको लिस्टमा उनको नाम छुट्दैन । उनका लोफर, तान्द्रो, नागबेली, कर्कस, फन्को, छड्के, सम्बोधन र लाल्टिनजस्ता फिल्मले दर्शकको मन खासै जित्न सकेनन् ।

पछिल्लो नयाँ पुस्ताले पुराना कलाकारलाई चुनौती दिएकाे प्रष्ट देखिन्छ । तर, उनलाई रुचाउने दर्शक भने कम भएका छैनन् । source-shilapatra.com