FLASH NEWS
  • Loading...

जग्गा बेच्न नदिँदा आमाको हत्या !

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५१ पटक पढिएको
Post Thumbnail

प्यारालाइसिसबाट पीडित पोखरा १२, शीतलादेवीकी नौमाया नेपाली (६७) आफ्नो छोरासँग बस्दै आएकी थिइन् । चैत ४ गते बिहान उनी आफ्नै कोठामा मृतावस्थामा फेला परिन् । होली मनाउन घर बाहिर बसेका छोराले बिहान झिसमिसेमै आएर हेर्दा आमाको मृत्यु भइसकेको देखेका थिए ।

त्यसपछि छोरा ओमले बाहिर निस्केर हल्लाखल्ला गर्दै छिमेकीहरुसँग गुहार माग्न थाले । घरमै सुतिरहेकोबेला कसैले आमा मारिदिएको भनेर आफैंले प्रहरीलाई पनि खबर गरे । प्रहरी पुगेर नियाल्दा घाँटीमा निलडाम र अनुहारमा आलो चोटपटक देखियो ।
प्रहरीले अनुसन्धान अघि बढाउँदै जाँदा खुल्यो, आमाको हत्या गर्ने उनकै छोरा हुन् । जो बिहानै हल्लाखल्ला गर्दै छिमेकीसँग गुहार मागेका थिए । ओमले छिमेकी साथीको सहयोगमा आफ्नै आमाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जग्गा बेच्न नदिएको निहुँमा आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेको ३६ वर्षीय ओमबहादुर नेपाली र उनका साथी ३७ वर्षीय कुमार गुरुङलाई सोमबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरीका अनुसार पोखरा १२, शीतलादेवी बस्ने ओमबहादुर नेपाली (३६) आफ्नो घर, जग्गा बेच्न खोजिरहेका थिए । तर, जग्गा आमा नौमाया नेपाली (६७) को नाममा रहेकाले सहज थिएन । उनले जग्गा बेच्न आमालाई पटकपटक नफकाएका पनि होइनन् । नौमायाले मानिरहेकी थिइनन् ।

प्यारालाइसिस पीडित आमाले कुनै पनि हालतमा जग्गा बिक्री गर्न नमाने पनि ओमले जसरी पनि जग्गा बेचेरै छाड्ने सोच बनाइसकेका थिए । तर, त्यसका लागि आमालाई ‘पार’ नलगाउँदासम्म सम्भव देखेनन् ।
ओमले जग्गा बिक्री योजनामा बाधक बनिरहेकी आमालाई आमालाई ‘ठेगान’ लगाउने योजना बनाए । उक्त योजना सफल बनाउन उनले प्रयोग गरे, सोही वडाको माटेपानी बस्ने साथी कुमार गुरुङ (३७) लाई । आमाको हत्यापश्चात उनले साथी गुरुङलाई १ लाख रुपैयाँ दिने वचन दिए ।

‘आमालाई मारिसकेपछि साथी गुरुङलाई जग्गा, घर बेच्ने र त्यसपछि एकलाख रुपैयाँ नगद दिन्छु भनेर भनेको रहेछ,’ आरोपीलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने ।
चैत ३ गते होलीको दिन अबेरसम्म आरोपी ओम र कुमार दुईजना बसेर मादक पदार्थ सेवन गर्दै योजना बनाए । घर फर्किनेबेला आमा आफ्नो कोठामा एक्लै भित्रबाट आग्लो लगाएर सुतिरहेकी थिइन् । ओम आफैंले आग्लो खोलेर कुमारलाई आमाको हत्या गर्न भित्र पठाए, आफू भने बाहिरै बसे । घटना करिब साढे १० बजेतिरको थियो ।

भित्र पसेर कुमारले आमाको हत्या गरिसकेपछि दुवै जना कुमारकै घरमा गएर बसेको खुलेको प्रहरीले जनाएको छ । ‘टोलछिमेकमा हेर्दा पनि कसैले पनि हत्या उनकै छोरा ओमले गरेको भन्ने शंकै थिएन । राम्रोसँग केयर गर्दै आइरहेको भन्ने बुझिएको थियो,’ डिएसपीले भने, ‘अहिले अनुसन्धानका क्रममा दुवै आरोपीले घटना आफूहरुले घटाएको स्वीकारिसकेका छन् ।’
प्रहरीले हत्या आरोपमा पक्राउ परेका नेपाली र गुरुङ दुवैजनालाई फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १७७ अनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी घटनाबारे अनुन्धान भइरहेको डिएसपी तिवारीले जानकारी दिए ।