FLASH NEWS
  • Loading...

कतारी राजकुमारी थानीद्वारा अन्नपूर्णको सफल आरोहण

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४२ पटक पढिएको
कतारी राजकुमारी थानीद्वारा अन्नपूर्णको सफल आरोहण

कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन् ।

निर्मल पुर्जाकाे इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन्। अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ ।

पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनले जनाएकाे छ ।

टोलीमा रहेका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्णलाई सफलतापूर्वक आरोहण गरेका छन्। राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गरिसकेकी छन् ।

पेसाले चिकित्सक रहेकी थानी कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गरेकी थिइन् । अन्नपूर्ण हिमाल आरोहणका लागि २०७९ फागुन २२ गते थानी म्याग्दी पुगेकी थिइन्

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँचवटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो ।

विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।