FLASH NEWS
  • Loading...

पुनहिलमा ‘गुराँस पार्क’ बन्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१२ पटक पढिएको
पुनहिलमा ‘गुराँस पार्क’ बन्दै

पदयात्राका लागि उत्कृष्ट गन्तव्य गुराँसे बस्ती घोरेपानी पुनहिल क्षेत्रमा ‘गुराँस पार्क’ बन्ने भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोरेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरलाई पार्क बनाउन लागिएको हो ।

डिभिजन वन कार्यालय म्याग्दीले चरा अवलोकन केन्द्र, वन्यजन्तुका लागि सानो प्राकृतिक स्वरूपको पोखरीसहित पार्क बनाउन लागेको हो । त्यसनिम्ति गण्डकी प्रदेश पर्यटन मन्त्रालयको २० लाख बजेटमा विनियोजन गरेको छ । घना गुराँसे जंगलविचको चौरमा वरपर थप गुराँसका बेर्ना रोप्ने तथा गुराँसका नयाँ जाति र अनुकूल हावापानीमा हुर्कने फूल रोप्ने योजना छ । ‘गुराँस पार्क निर्माण भइरहेको छ,’ कालीसार गुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र (सुशील) गर्वुजा पुनले भने, ‘गुराँस र हिमालको दृश्यावलोकन गर्न डेस्क राख्ने, सूचना केन्द्रसहितको गोलघर निर्माण गर्ने, शौचालय र पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानीपोखरी बनाउने काम भइरहेको छ ।’

अघिल्लो वर्ष यही क्षेत्रमा हर्स राइडिङ ट्रेल, साइकलिङ ट्रेल र वर्ड वाचिङ पोइन्ट बनाइएको अध्यक्ष गर्वुजाले जनाए । चालु बजेटबाटै ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाउने योजना छ ।

घान्द्रुकदेखि घोरेपानी–नागीसम्म सबैभन्दा ठूलो लालीगुराँसको जंगल छ । एक्यापको अभिलेख अनुसार नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ । त्यसमध्ये घोरेपानी क्षेत्रको जंगलमा ८ प्रजातिका पाइन्छन् । घोरेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जंगलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जंगलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ । फर्कंदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोरेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोरेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोरेपानी साइक्लिङ गर्न सक्छन् । प्यारीवराहदेखि घोरेपानीसम्मको घोडाचढी (पोनी ट्रेल) मा जान सकिन्छ ।

प्रदेश सरकारले अघिल्लो वर्ष २५ लाख खर्चेर घोरेपानीदेखि कालीसार (गुराँस पार्क) हुँदै प्यारीवराह ताल पुगेर भल्खरा हुँदै घोरेपानी फर्कन करिब ७ किमि साइकल लेन, हर्स राइडिङ ट्रेल र प्यारीवराह ताल फन्को लगाउने पैदल मार्ग बनाएको थियो । ‘पर्यटकीय क्षेत्र घोरेपानीमा गुराँस पार्क बनाउन प्रदेश सरकारबाट पाएको बजेट उपभोक्ता समितिमार्फत काम भइरहेको छ । पार्कले पर्यापर्यटनमा योगदान पुर्‍याउने र घोरेपानीमा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास छ,’ डिभिजन वन अधिकृत मनोज रानाभाटले भने । सामाजिक अभियन्ता महावीरले १६ वर्षअघि नै अन्नपूर्ण–८ नागी क्षेत्रमा संसारभर पाइने प्रजातिका गुराँस रोपेर ‘गुराँस पार्क’ बनाउने र पार्कसहितको गुराँसे जंगलभित्र साइकल लेन बनाई खेल पर्यटन प्रवर्द्धन योजना बनाएका थिए । डिभिजन वन कार्यालयले ३ वर्षअघि पनि अन्नपूर्ण–७ रिमा गाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँस पार्क बनाएको थियो ।

डिभिजन वन कार्यालयका अनुसार फूलबारीमा १० लाख ७० हजार बजेटमा पार्क क्षेत्रलाई तारबार गरी छुट्याउने, गुराँस पार्क क्षेत्रमा एउटा गोलघर बनाई नेपालमा पाइने विभिन्न प्रजातिका गुराँस फूलका फोटा टाँसेर छोडिएको छ । *कान्तिपुरमा समाचार छ ।