FLASH NEWS
  • Loading...

हिमालपारी सिजनकाे पहिलाे हिमपात सुरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२५ पटक पढिएको
हिमालपारी सिजनकाे पहिलाे हिमपात सुरू

मुस्ताङमा योसिजनकै पहिलो हिमपात भएको छ । बुधबार बिहानदेखि मुस्ताङमा हिउँ पर्न सुरु गरेको हो । हिउँ पर्न सुरु गरेपछि यहाँ किसान,पर्यटन व्यवसायी र स्थानीय खुसी भएका छन् ।

बिहानैदेखि परेको हिउँ परेपनि बस्तीमा हिउँ जम्न सकेको छैन । यद्यपी तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङका डाँढाकाँढा र खर्कहरु हिउँले सेताम्मे हुन थालेको छ । मुस्ताङमा मध्यम प्रकारको हिउँ परिरहेको छ । हिमपात अझै बाँक्लो र साँझसम्म परेमा मुस्ताङका डाँढाकाँढा,खर्क ,खेतबारी र बस्ती पुरै हिउँले ढाँकिने छ ।

मुस्ताङको मौसम अहिले धुमिल छ । मुस्ताङभर फुर्रर फुर्रर हिमपात भईरहेको छ । ठिनीकी निशा थकालीका अनुसार याे मुस्ताङमा सिजनकै पहिलो हिपमात हाे । ‘ढिलै भएपनि यहाँ हिमपात हुँदैछ, अनुकुल समयमा नपरेको हिमपात अब पर्दैन होला भन्ने ठानेका थियौ, पर्याे ’  थकालीले थपिन,  ‘यसले कृषकलाई आशिंक राहत दिएकाे छ ।’

जिल्लाको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भईरहेको छ । हिमपात भएपछि मुक्तिनाथ दर्शन तथा मुस्ताङ भ्रमण गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत हिउँ अवलोकन गर्दै रमाएका छन ।

बर्सेनि कार्तिक देखि माघ महिनासम्म हिमपात हुँने गथ्र्यो ।तर, यसवर्ष मुस्ताङमा हिमपात र वर्षा समेत हुन सकेको थिएन ।हिउँ नपर्दा यहाँका कृषकले सिंचाईको भर पर्नु परेको थियो ।कतिपय स्थानमा सिंचाईको स्रोत नहुने र हिउँ पनि नपरेकाले खेतीयोग्य जमिन सबै सुख्खा भईरहेको थियो ।

अनुकुल समयमा हिमपात नहुँदा सुख्खा बनेका यहाँका खेतीयोग्य जमिनमा हिउँले सिञ्चत गर्न थालेको छ । हिमपातले जमिनको भित्री सतहलाई पूर्नरजिवित गर्न योगदान गर्छ र हिउँले जमिनको सतहलाई रिचार्ज गराउँछ । हिउँदयामको हिउँ सिंचाईलाई मात्रै नभएर कृषकले लगाएको फलफुल तथा अन्नबालीमा लाग्ने विभिन्न रोग संक्रमण र प्रकोप नियन्त्रण गर्न टेवा पूर्याउँछ ।

जलवायु परिर्वतनका कारण हिमाली जिल्ला मुस्ताङमा बर्सेनि असमान प्रकारको हिमपात हुँने गरेको छ । कुनै वर्ष भारी मात्रामा हिमपात हुँने,कुनै वर्ष आशिंक हिमपात हुँने र कुनै वर्ष अनुकल समयमा हिमपातनै नहुँने गरेको छ । गतवर्ष मुस्ताङमा १० पुस र १९ माघ महिनामा भारी मात्रामा हिमपात भएको थियो । यस्तै, ४ वर्षअघि मुस्ताङमा भारी हिमपात हुँदा उपल्लो मुस्ताङमा भारी वर्षा हुँदा सयौं याकचौरी र भेडाच्यांग्रा खर्कमा हिउँले पुरिएर मरेका थिए ।