FLASH NEWS
  • Loading...

म्याग्दीका एक सयबढी सामुदायीक वनको एक हजारबढी हेक्टर जंगल नष्ट

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ११८ पटक पढिएको
म्याग्दीका एक सयबढी सामुदायीक वनको एक हजारबढी हेक्टर जंगल नष्ट

जिल्लाका एक सयबढी सामुदायीक वनमा लागेको डढेलोले एक हजारबढी वनजंगल नष्ट गरेको छ ।
डिभिजन वन कार्यालय म्याग्दीको फागुन सुरुदेखी वैशाख १२ गतेसम्मको तथ्याङक अनुसार एक सय ३ वटा सामुदायीक वनमा लागेको डढेलोबाट एक हजारबढी हेक्टर क्षेत्रफलको वन जलेको छ । डिभिजन वन कार्यालयका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्य वन डढेलोबाट म्याग्दी सवै भन्दाबढी प्रभावित भएको छ ।
वन कार्यालयको यो अभिलेखमा जिल्लाको माथिल्लो भाग (हिमालमुनीका चरन क्षेत्र) र एक्याप समेतका संरक्षण क्षेत्रका वनमा लागेको डढेलोको तथ्याङ्क समावेश छैन । धवलागिरी, रघुगंगा गाउँपालिकाको अधिकांश क्षेत्र राष्ट्रिय वन क्षेत्रमा पर्छन । त्यस्तै अन्नपूर्ण गाउँपालिकाको ४, ५ र ६ नं वडा राष्ट्रिय प्रकृति संरक्षण कोष अर्न्तगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अर्न्तगत पर्छन ।
वन क्षेत्रमा दैनिक डढेलो लागेको र डढेलोले वासस्थान र चरन नासिएपछि वन्यजन्तु वस्ती क्षेत्रमा पसेर खेतीवाली नष्ट गर्न थालेको स्थानीयहरुले बताएका छन । खासगरी मृग (राते), बाँदर र बँदेलहरु वस्ती क्षेत्रमा पसेका हुन ।
‘वन डढेलोबाट प्रदेशभरीमै म्याग्दी वढी प्रभावित भएको छ । दैनिक डढेलो लाग्छ । नियन्त्रण गर्नै सकिएको छैन । पछिल्लो साढे दुई महिनामा एक सयबढी सामुदायीक वनमा लागेको डढेलोले एक हजार बढी हेक्टर क्षेत्रफलको वन नष्ट भएको प्रारम्भीक तथ्याङ्क आएको छ’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवं सूचना अधिकृत विनय अधिकारीले भने, ‘डढेलोले वासस्थान र चरन नष्ट भएपछि पश्चिम म्याग्दीका उपल्लो लेकाली वस्ती क्षेत्रका खोती क्षेत्रमा वन्यजन्तु पसेर हैरान पारेको गुनासा आएका छन । केही सामुदयीक वनले डढेलो लगाउनेलाई कार्वाही पनि गरेका छन । तर प्रभावकारी बन्न सकेको छैन ।’
वन कार्यालयले वर्षेनी वन डढेलो नियन्त्रण गर्न विभिन्न शिर्षकमा लाखौं खर्च गर्ने गरेपनि डढेलो नियन्त्रणमा कुनै प्रभाव पारेको छैन । वन कार्यालयले वन डढेलो विरुद्ध प्रचार–प्रसार गर्न, सामुदायीक वनलाई डढेलो नियन्त्रण परिचालन गर्न डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्ने सामुदायीक वन समुहलाई पुरस्कार, डढेलो नियन्क्रणमा खटिने ब्यत्तिहरुलाई खाजा तथा पानी खर्च र र डढेलो लगाउने विरुद्ध सुराकी परिचालन खर्च कागजमै सिमित छ । वन डढेलो नियन्त्रण गर्न जिल्ला स्तरिय एक र सवै ६ वटा स्थानीय तहमा सव डिभिजन डढेलो नियन्त्रण सञ्जाल गठन भएपनि ति कागजमै सीमित छन ।
वन, पाखा र भीरमा लागेको डढेलोको धुँवा र कच्ची सडकमा गाडीले उडाउने धुलोले वायु प्रदुषण बढेको छ । वायु प्रदुषण मापन अनुसार बेनीको वायुमा १ सय २५ पिएम प्रदुषण देखिएको छ । यो मापनले वायुको अस्वस्थयता देखाउँछ ।
अभिलेख अनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्य ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले ब्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्य २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायीक वन उपभोक्ता समुह मार्फत ब्यवस्थापन हुँदै आएको छ । करिव ५ हेक्टर कवुलियत, धार्मिक र निजी वन छ । बाँकी सवै राष्ट्रिय वन हो ।
वन डढेलो मध्य सवैभन्दा ठूलो २०५० बैशाख १ गतेदेखी एक महिना १७ दिनसम्म ढोरपाटन सिकार आरक्षको म्याग्दी पट्टी लुलाङ्ग र गुर्जा गाविसको वन क्षेत्रमा लागेको थियो । यस वन डढेलोले झण्डै आठ सय हेक्टर वन नष्ट गरेकोले सुकेका रुखहरुको जंगल मात्र देख्न पाईन्छ । नयाँ विरुवा समेत उम्रेका छैनन ।