FLASH NEWS
  • Loading...

पुलाहश्रममा रावणको पार्क निर्माण अलपत्र

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३० पटक पढिएको
पुलाहश्रममा रावणको पार्क निर्माण अलपत्र

बेनी नगरपालिका, ५ पुलाश्रममा निर्माणाधिन रावणको मुर्तिसहितको रावण पार्क ६ महिनादेखी अलपत्र परेको छ ।
संकृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयसँगको पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रम अर्न्तगत अघिल्लो आर्थिक बर्षदेखी बेनी नगरपालिकासँगको साझेदारीमा पुलाश्रममा ६ मिटर अग्लो रावण मुर्तिसहित पार्क निर्माण थालिएको थियो । पार्क ०७९ फागुनमा निर्माण पुरा गर्ने सम्झौतामा उल्लेख भएपनि गत वर्ष बेनी नगरपालिकाले निर्माण प्रगति विवरण नबुझाएकोले मन्त्रालयले भुक्तानी रोकेपछि पार्क निर्माण अलपत्र परेको हो ।
मन्त्रालयको ७० प्रतिशत र बेनी नगरपालिकाको ३० प्रतिशत नगद लगानी हुने गरी अघिल्लो ०७७ फागुनमा १ करोड ७६ लाख ७७ हजार ५ सय ६३ रुपैयाँमा धर्म एस. कास्यप जेभी कलंकी काठमाण्डौले ठेक्का लिएको थियो ।
साझेदारी सर्त अनुसार पार्कको घेरावार, संरक्षण र जमिन सम्याउने समेतका काम भएको र रावणको मुर्ति समेत निर्माण सुरु गर्न नगरपालिकाले ठेकदार कम्पनीलाई रनिङ विल भुक्तानी गरेको छ । १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलाश्रम क्षेत्रमध्य ४ रोपनी क्षेत्रफलमा मात्र रावण पार्क बनाउन लागिएको हो ।
‘मन्त्रालयले गत आवमा भुक्तानी रोकेपछि रावण पार्क निर्माण स्थगित छ’ बेनी नगरपापलिका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले भने, ‘हामी निर्वाचित भै आएपछि योजनाहरुको लिस्ट र प्रगति प्रतिवेदन खोज्दा योजनाको प्रगति प्रतिवेदन मन्त्रालयमा नपठाएको भन्ने खुल्यो । चालु आवमा भने मन्त्रालयले सुरु किस्ता १५ लाख पठाएको छ । तर हामीसँग थप बजेट नभएकोले काम गराउन सकेका छैनौं ।’
ढकालले थपे, ‘प्राप्त १५ लाख रुपैयाँले काठमाण्डौमा बनेको मुर्ति ल्याई प्रतिस्थापन गर्ने र बाँकी काम थप श्रोत जुटाई काम गर्ने र पार्क अलपत्र परेकोले मन्त्रालयमा थप बजेट निकासाकालागी अनुरोध गर्न जाने तर्खरमा छौं ।’


हिन्दु धार्मिक ग्रन्थमा असुर राजा (राक्षस) को रुपमा चरितार्थ गरिएका चर्चित पात्र रावणको मुर्तिसहित बन्न लागेको संभवत नेपालको पहिलो पार्क हो । पुलाश्रममा रहेका ऋषिमुनी मन्दीर, हवन कुण्ड, रावणको नाभी गाडिएको स्थानलाई यथावत संरक्षणगरी ६ मिटर अग्लो रावण मुर्तिसहित बगैचा, विश्रामस्थल, घेरावार र जमिन संरक्षण समेतका पूर्वाधार निर्माण गर्ने योजना छ ।
महाभारतका मुख्य पात्र मध्यका रावणलाई राक्षस भनी घृणा गर्ने र रामलाई देवता मानी पुज्ने समाजमा रावण पार्क निर्माण थालिएपछि स्थानीयले भने पर्यटन प्रर्वद्धन भै पुलाश्रमको महत्व झन बढ्ने ठानेका छन । म्याग्दी उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष प्रमोद श्रेष्ठको अगुवाईमा ०६६ सालमा बनेको रावण पार्कको अवधारणा लाई बेनी नगरपालिकाले गुरुयोजना तयार गरी कार्यान्वयन गरेको हो ।
‘सांख्य दर्शनका महामुनी कपिल देखी पुलह ऋषिले ज्ञान प्राप्त गरेको पुलाश्रम पौराणीक तपोभूमि हो । पुलह ऋषिका नाती रावणको जन्मस्थल ओझेनमा छ । गुण दोष जे भएपनि रावण हाम्रा धर्तीपुत्र हुन’ रावण पार्कका कल्पनाकार मध्य एक प्रमोद श्रेष्ठले भने, ‘पार्क निर्माण ढिला भएपनि सुरु हुन सकरात्मक हो । यसले धार्मिक पर्यटन प्रर्वद्धन गर्ने छ ।’
ठेक्का प्राप्तीपछि कार्यस्थलमा पुगेको निर्माण कम्पनीका इन्जिनियर सन्तोष ओझाका अनुसार रावणमुर्क्ति काठमाण्डौमा कुँद्न थालिएको छ । रावण पार्क रहने पुलाश्रमबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यकासाथी म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसमेत जिल्लाका अधिकांश भुगोल तथा पर्वतको जलजला गाउँपालिका राम्रोसंग दृश्यावलोकन गर्न सकिन्छ ।

पुलाश्रममा ऋषिहरु पुलह, कपिल र जडभरतले तपस्यागरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता छ । पुलाश्रम सांख्य दर्शनका महामुनी कपिलको पनि तपोभूमि मानिन्छ ।

सदरमुकाम बेनीदेखी पश्चिम उत्तरमा करीव १५ सय मिटर उचाइमा अवस्थित तपोभुमि पुलहआश्रममा रहेको होमकुण्डमा प्राचिन चरुको अवशेष (खरानी रंगको चिम्टाइलो माटो) अझै पनि देख्न र हेर्न सकिन्छ । पुलस्त्य ऋषिको वास्तविक आश्रमको स्वरुप कस्तो थियो किटानसाथ भन्न सकिने आधार छैन । तर वर्षौदेखी पुलाश्रममा पुलस्त्य समेत ऋषिहरुको ढुङ्गाका आकृति कोरी पुजा गर्ने गरिएको छ । पुलाश्रम मन्दीरमा देवी–देवताको नभै ऋषिहरुको पुजाअर्चना गरिन्छ ।
‘रावणका पुर्खा बसेको क्षेत्रमा रावणको मुर्ति राख्ने र पार्क बनाउने धार्मिक पर्यटन तथा पुलाहश्रम क्षेत्रको प्रर्यटकीय प्रर्वद्धन हुने विश्वास गरेका छौं’ वडाध्यक्ष समेत रहेका स्थानीय गोविन्द बानियाँले भने, ‘रावण पार्क बन्न लागेकोमा राम पुज्ने हाम्रो समुदाय उत्साही छ । धार्मिक समुदाय पनि सकरात्मक छ ।’
पौराणीक मान्यता अनुसार लङ्ढाका राजा रावणले यस स्थानमा प्रथम पटक धार्मिक पाइला टेकेका थिए । वाल्मीकि रामायणमा उल्लेख भएअनुसार असुर राज रावण पुलस्त्य मुनि (ऋषि)को नाती, विश्वश्रवाका दुई पत्नीमध्य रावण कैकसीको कोखबाट धवलागिरी पर्वतको फेदीमा अवस्थित पुलाश्रममा भएको मानिन्छ । रावणको वास्तविक नाम दशानन् हो । महादेवले रावण नाम राखिदिएका मानिन्छ ।