FLASH NEWS
  • Loading...

जाडोमा शरीरलाई न्यानो राख्न तातो झाेल उर्फ सुप

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११३ पटक पढिएको
जाडोमा शरीरलाई न्यानो राख्न तातो झाेल उर्फ सुप

पुस १९, २०७९ जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या देखिन्छन् । त्यसैले जाडोमा शरीरलाई न्यानो र हाइड्रेट राख्न जरुरी हुन्छ । यसका लागि सुप राम्रो विकल्प हुनसक्छ । सुप घरमै बनाएर खान सकिन्छ । यो मौसममा शरीरलाई तताउने परिकार खानुपर्छ, जुन स्वादिष्ट र स्वस्थकर पनि हुनुपर्छ ।

सुपको सुरुवात बिरामीहरूलाई तागत दिने, पोषणयुक्त र सजिलै पच्ने खानाका रूपमा भएको हो । यसमा प्रशस्तमात्रामा पौष्टिक तत्व पाइन्छ । यसलाई खाना खानुभन्दा अगाडि खाँदा भोक जगाउँछ । सूप पकाउँदा यसको पौष्टिक तत्व नष्ट नहोस् भन्नेमा विशेष ध्यान दिनुपर्छ । एक पटक सुप पिउँदा २४० मिलिलिटर सर्भ गरिन्छ, यसमा १२५–१५० सम्म क्यालोरी हुनैपर्छ ।

गहतको झोल (कुर्ती सुप)

सामग्री : गहत–दुई कप, तोरीको तेल–तीन चिया चम्चा, गेडा जिरा–आधा चिया चम्चा, चप गरेको अदुवा लसुन–एक र आधा चिया चम्चा, बेसर–आधा चिया चम्चा, गरम मसलाको धूलो–पिन्च, हरियो खुर्सानी चप गरेको–दुई पिस, ब्यान्ड गरेको वा मसिनो गरी काटेको गोलभेंडा–दुई पिस, नुन स्वादअनुसार, मरिचको धूलो पिन्च, ताजा हरियो धनियाँ–आधा मुठा, नुन–स्वादअनुसार ।

विधि : एक रात पहिले नै वा ६ देखि ८ घन्टा गहतलाई भिजाउने र नर्मल रुम टेम्पेचरमा छाडिदिने । राम्ररी भिजेपछि ढुंगा वा कुनै छेस्का केलाएर एक साइडमा राख्ने । दुई लिटरको प्रेसर कुकर तताएर तोरीको तेलमा जिरा फुराउने र चप जिजर गार्लिक हाल्दिने । गोल्डन ब्राउन हुनासाथ हरियो खुर्सानी, भिजाएर केलाएको गहत हाली चलाउने । आँचलाई केही मत्थर पारेर अन्य मसला र स्वादअनुसार नुन हाल्दिने । १० देखि १२ मिनेट भुटेपछि काटेको टमाटर हालेर चलाउने र एक छिनमा एक लिटरजति पानी हालेर ४ वा ५ सिठी लगाउने । अन्त्यमा आवश्यकतानुसार बाक्लो वा पातलो खाने अन्दाज गरी तातो पानी हाली उमाल्ने र काटेको धनियाँ छरेर तात्तातो सर्भ गर्ने ।

ज्वानो र जिम्बुकाे झाेल

सामग्री : शुद्ध नेपाली घिउ–२ चिया चम्चा, ज्वानो (अजवाइन)–साँढे १ चिया चम्चा, अदुवा–लसुन चप गरेको–२ चिया चम्चा, मसिनो गरी काटेको डन्डु (हरियो जिम्बु)–आधा मुठा, नुन–स्वादअनुसार, बेसार–आधा चिया चम्चा, मरिचको धूलो–पिन्च, ताजा चामलको पिठो–५ टेबल चम्चा, पानी–एक लिटर ।

विधि : बाक्लो कराहीमा घिउ हालेर खर्‍याउने र ज्वानो हालिदिने । खैरो हुनासाथ चप गरेको लसुन–अदुवा हालिदिने । गोल्डन ब्राउन हुनासाथ तातो चामलको पीठो हालेर मज्जाले भुट्ने, पानी खनाउने र पुनः उम्लिन दिने । नुन–मरिच हालेर राम्ररी चलाउने । अन्त्यमा काटेको डन्डु हालेर निकाल्ने र तात्तातो सर्भ गर्ने ।

गुन्द्रुक भटमासको मिलन (हिमालयन सुप)

सामग्री : तोरी वा रायोको गुन्द्रक–२५० ग्राम, भटमास–३०० ग्राम, तोरीको तेल–४० एमएल, हरियो खुर्सानी–३ पिस, मसिनो गरी काटेको अदुवा लसुन–१५ ग्राम, प्याज–१ पिस, गोलभेंडा–मसिनो खाले (चेरी टोम्याटो) ५ पिस, बेसार–आधा चम्चा, पिसेको जिरा आधा–आधा चम्चा, नुन–स्वादअनुसार, हरियो लसुन–एक पिस, हरियो धनियाँ–आधा मुठा, खुर्सानीको धूलो–पिन्च, टिम्मुरको धूलो–आधा चिया चम्चा ।

विधि : बाक्लो कराही तताएर भटमासलाई पाक्ने गरी थोरै तेल हाली भुटेर एक साइड लागाउने । तेल हालेर कराई पुनः तताउने र हरियो खुर्सानी, अदुवा–लसुन हाली भुट्ने । केही ब्राउन हुनासाथ प्याज हाली भुट्ने र नुन मसला हाली सानो आँचमा पकाउने । केही बेरमा भिजाएको गुन्द्रुक, भुटेको भटमास हाली चलाउने र तातोपानी आवश्यकतानुसार हालेर उमाल्ने । अन्त्यमा काटेको धनियाँ, हरियो लसुन र टिम्मुरको धूलो हाली तात्तातो सुप सर्भ गर्ने ।

खुट्टी सुप

सामग्री : खसीको खुट्टा दुई पिस, दुई चिया चम्चा पिसेको अदुवा र लसुन, आधा कप मस्याङ, आधा चिया चम्चा गरम मसला धूलो, आधा चिया चम्चा बेसार, आधा चिया चम्चा जिरा, मेथी, दुई वटा तेजका पात । डेढ चम्चा तोरीको तेल, एक मुठा हरियो धनियाँ, एउटा प्याज र गोलभेंडा, आवश्यकतानुसार पानी, स्वादअनुसार, नुन, खुर्सानीको धूलो ।

विधि : पहिले प्रेसर कुकरमा तोरीको तेल तताएर त्यसमा मेथी फुराउने । अनि अदुवा, लसुन, तेज पात एवं प्याज राखेर केही समय भुट्ने । त्यसमै काटेको खसीको खुट्टा राखेर चलाउने । (खानेले राँगा वा अन्य जनावरकाे खुट्टाकाे पनि बनाउन सक्छन) त्यसपछि मसला र पानी राखेर उमाल्ने । केही समयपछि मस्याङ राख्ने र प्रेसरकुकर बन्द गर्ने । प्रेसरमा ७ वा ८ सिठी लागेपछि आगोबाट बाहिर निकाल्ने । त्यसमा धनियाँ राखेपछि खसीको स्वादिलो खुट्टी सुप तयार हुन्छ ।

पञ्चमेलको कुवा

सामग्री : भिन्नभिन्न पाँच थरिका गेडागुडी, तोरीको तेल–३ चिया चम्चा, होल गरम मसला–३ ग्राम, काटेको प्याज–एक पिस, चप गरेको अदुवा लसुन–२ चिया चम्चा, ताजा हिङ–पिन्च, सुकेका खुर्सानी–३ पिस, नुन–स्वादअनुसार, उम्रेको मुङ (बिन स्प्राउट)– ४० ग्राम, गरम मसलाको धूलो–पिन्च, पानी–आवश्यकतानुसार ।

विधि : मिक्स गेडागुडीलाई एक दिन बेलुका नै भिजाउने र बिहान छान्ने । राम्ररी केलाएर एक साइड लगाउने । प्रेसरमा तोरीको तेल हालेर सुकेको खुर्सानी, होल गरम मसला, अदुवा, लसुन र हिङ फुराउने । केही बेरमा गेडागुडी हालेर चलाउने । मसला र सिजिनिङ हाली पुन स्लो आँचमा चलाउने । अर्को साइडमा उमालेको पानी हालेर ४ वा ५ सिठी लगाएर पकाउने र अन्त्यमा सुप बाउलमा हालेर तात्तातो सर्भ गर्ने । *नारीबाट