FLASH NEWS
  • Loading...

गुलियो कृषी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८३ पटक पढिएको
गुलियो कृषी

कात्तिक–मंसिर घर मह झिक्ने उपयुक्त सिजन हो । यति वेला म्याग्दीका मौरी पालक किसानलाई मह झिक्ने, वेच्ने र माहुरी चराउने चटारो छ ।
मीठो र गुणकारी खाद्य वस्तु हो मह । कम लगानीलाइ पाल्न सजिलो भएपनि मौरीसँग खेल्नु जोखिमपूर्ण पनि छ । हिमालमुनीका वस्तीदेखी वंशीका वस्तीसम्म मौरी पाल्न सकिन्छ । राम्रो आम्दानी हुन थालेपछि म्याग्दीका कृषकले रैथाने सिप तथा प्रविधीमा सुधार गरी ब्यवसायीक मौरीपाल्न थालेका हुन ।
‘माग बढी भएकोले मौरीसहित घारको बढी विक्रि हुन्छ । कृतिम प्रविधीबाट मौरीको रानो उत्पादन गरिने भएकोले मौरी उत्पादन गर्न सजिलो भएको छ’ बेनी नगरपालिका, ४ सुर्केमेलाका डिलबहादुर केसीले भने, ‘नगरपालिका, स्थानीय कृषी समुहबाट अग्रिम माग भएको आधारमा मह उत्पादन गर्ने वा मौरीको घार बढाउने निर्णय हुन्छ । मैले बर्षमा २ सय बढी मौरीको घार वेच्छु ।’
डिलबहादुर मात्र होईन, मंगला गाउँपालिका, १ कुहुँका गोविन्द केसी, बेनी नगरपालिका, ५ डढुवाकी रामकुमारी खत्री र नारायण शर्माले पनि मह र मौरी वेचेर बार्षिक १० लाखबढी नगद आम्दानी गर्ने गरेका छन ।
मह र मौरी वेच्न समस्या छैन । अग्रिम नगद पेश्की लिएर उपभोक्ता घरमै किन्न आउँछन । सहरी मह भन्दा गाउँघरको मह बढी शुद्ध भएकोले उपभोक्ता घरमै पुग्छन । मह झिक्ने सिजनमा त ग्राहकले घारबाट सोझै झिकेर महसहित चाका नै किन्न सक्छन ।
‘फुर्सदको समय उपयोग गर्न मौरी पाल्न थालेको हुँ । मह र मौरीमा राम्रो आम्दानी हुने देखेपछि साविकको कृषी विकास कार्यालयबाट मौरी पालन सम्बन्धी तालिम लिएर ब्यवसायीक रुपमा मौरी पाल्न थालेको हुँ’ साउदी र इराकमा एक दशम मजदुरी गरी फर्केर मौरी पालन ब्यवसाय सुरु गरेका मंगला गापा, १ कुहुँका गोविन्द केसीले भने, ‘खेतीवाली, भैसीलाई घाँसपात र सामाजिक कामसँगै मौरी पाल्न भ्याईएको छ । मौरी र मह वेचेर बार्षिक १२–१५ लाख रुपैयाँ हातमा पर्ने गर्छ ।’ केसीले थपे, ‘मौरीको रानो उत्पादन गर्ने सीप भएकोले मौरीमा आम्दानी झन सजिलो बनेको हो ।’


राम्रो आम्दानी देखेपछि जिल्लामा मौरीको माग बढेको छ । मौरीको माग बढेपछि अगुवा कृषकहरुले मह उत्पादन भन्दा धेरै मौरी सहितका घार वेच्ने गरेका छन । ब्यवसायीक मौरी पालन गर्ने कृषकले मह र मौरी सहित घार बेचेर प्रति ब्यक्ति बार्षिक २० लाखबढी नगद आम्दानी गर्ने गरेका छन । मौरी सहितको घारलाई प्रतिघार १० हजार र महको प्रति केजी स्थान अनुसार १५–१७ सयसम्ममा विक्रि हुने गरेको छ । एउटा मैरीसहितको घार १० हजारमा बेच्दा नयाँ आधुनिक मौरीघार बनाउँदा ३ हजार–३५ सय सम्म खर्च हुने गरेको कृषकले बताएका छन ।
प्रसस्त वनजंगल, पारिलो र घमाईलो पाखो परेको क्षेत्र र मौरी चरन क्षेत्र भएकोले जिल्लाका सवै वस्ती मौरी पाल्नकालागी अनुकुल छन । जिल्लाका प्रायः सवै वस्तीमा परम्परागत तरिकाले धेरथोर माहुरी पालिन्छ । तर ब्यवसायीक मौरी पाल्ने भने थोरै छन । बेनी नगरपालिका, ४ सुर्केमेला, राखु सुन्तला पकेट क्षेत्र, बेनी नपा, ५ डढुवा, मंगला गाउँपालिका, १ कुहुँ, थाईवाङ, भर्जुला र रघुगंगा गाउँपालिका, २ राखु क्षेत्रमा माहुरी ब्यवसायीक रुपमा पालिन्छ । जिल्लामा २५ हजारबढी घर मह उत्पादन हुने कृषी ज्ञान केन्द्रको प्रारम्भीक तथ्याङ्क छ ।
कात्तिक–पहिलो सातासम्म मह झिकेपछि कृषकहरु घार बोकेर माहुरी चराउन तोरी खेती फाँट खोज्दै हिंडेका छन । मंसिर–माघसम्म हिउँदमा माहुरीले मह भन्दा बढी माहुरीको संख्या बढाउँछन । त्यसैले फागुन अन्तिममा मह झिक्ने र माहुरीको समुह फुटाउने गरिन्छ ।
कात्तिक, फागुन र जेठमागरी एक वर्षमा तीन पटकसम्म मह निकाल्न सकिन्छ । कृषकहरुका अनुसार एउटा घारबाट एक पटकमा ४–५ केजीसम्म मह उत्पादन हुन्छ । मौरीको घार बेच्ने कृषकले भने फागुनमा मह झिक्दैनन, मौरी फुटाएर दुई घार बनाउँछन । अनि घार नै बेच्छन । म्याग्दीमा मौरी पालनको प्रशस्त संभावना भएपनि अझै ब्यवसायीक बन्न सकेको छैन । राज्यको तर्फबाट पनि कुनै मौरी पालन ब्यवसायमा लगानी र ध्यान पुगेको छैन ।
‘मौरीको घार वेच्दा नै लाभ हुन्छ । गत वर्ष मौरी घार वेचेर २ लाख आम्दानी भयो, महबाट जम्मा ५० हजारको मात्र बेचियो’ बेनी नगरपालिका, ६ का वडाध्यक्ष समेत रहेका डम्बराका अगुवा मौरी पालक कृष्णसिं बानियाँले भने, ‘महमा ग्राहकले शंका गर्छन । फेरी चरन नपुग्ने भएकोले मौरी बढाउँछन, मह उत्पादन नगर्दै हामीले घार फुटाउने गरेका छौं ।’
साविकको जिल्ला कृषि विकास कार्यालयले पात्लेखेत, पिप्ले, डडुवा, घार, भकिम्ली, कुहुँ, भरजुला समेतका दर्जन वस्तीका १ सय ४० बढी कृषकलाई समुहमा आवद्ध बनाई मौरीपालन पकेट क्षेत्र घोषणा गरेको थियो । राज्य पुनसंरचना भएसँगै मौरी पालन पकेट क्षेक्र र मौरी विकासका कार्यत्रम अलपत्र छन । बेनी नगरपालिका कृषी शाखाका अनुसार नगर क्षेत्रमा ९० जना कृषकले मौरी पालन गरेपनि सुर्केमेला, डढुवा र काउलेगौडा क्षेत्रका ५–६ जना कृषकबाट ५ सय ५० केजी मह उत्पादन हुने गरेको छ ।
‘केही वर्ष अलमल नै भयौं । गत वर्षदेखी बेनी नगरपालिकामा वडा कार्यालय मार्फत मौरी पाल्न चाहने कृषकलाई ५० प्तिशत अनुदानमा मौरीसहित घार वितरण गर्न थालेका छौं’ बेनी नगरपालिका कृषी शाखा प्रमुख आकृति ढुङ्गानाले भनिन, ‘यस वर्षपनि मौरी पालन सम्बन्धी आधारभुत तालिमसहित ५० प्रतिशत अनुदानमा मौरी सहित घार वितरण कार्यक्रम राखेका छौं ।’
मौरीपालनमा मनग्य आम्दानी र प्रशस्त सम्भावना देखेपछि यहाँका कृषकले परम्परागत शैलीलाई परिवर्तन गरी थप ब्यवसायीक बनाउन कृतिम प्रविधिबाट सेरेना जातका मौरीबाट रानो उत्पादन गर्छन । माहुरी र महको माग थेग्न यहाँका माहुरी कृषकले कृतिम प्रविधीबाट रानो मौरी उत्पादन गर्छन । कृतिम प्रविधीबाट रानो माहुरी उत्पादन गर्दा मह झिकेर पनि माहुरी सहित घार बेच्न छुट्टै घार विक्रि गर्न संभव भएको हो ।
‘कृषी क्षेत्र स्थानीय तहमा हस्तान्त्रण नहुँदै कृषी ज्ञान केन्द्र मार्फत कृतिम प्रविधीबाट रानो मौरी उत्पादन गर्न सिकेका थियौं । स्थानीय सरकार बनेपछि मौरी विकासका कुनै कार्यक्रम भएको जानकारी छैन’ सिद्धिविनायक मौरी पालन केन्द्रकी प्रोपाइटर रहेकी जिल्लाकी एक्ली महिला मौरीपालक कृषक रामकुमारी खत्रीले भनिन, ‘मौरी पालनबाट गुलियो मह मात्र उत्पादन भएको छैन, केटाकेटीलाई राजधानीमा राखेर पढाउन सक्ने आर्थिक उपार्जन गर्ने गुलियो खेती भएको छ ।’
कृतिम प्रविधीबाट रानोमौरी उत्पादन गर्न ‘डिपिङ रड’ को सहायताले ताजा मैनलाई ‘क्वीन कप’ बनाई ‘ग्राफ्टिङ फ्रेम’ मा टाँसिन्छ । त्यसपछि १–२ दिन उमेरका माहुरीका लार्भालाई क्वीन कपमा ट्रान्सप्लान्ट गरिन्छ । कृतिम रानोमौरी उत्पादन गर्नु २४ घन्टा पहिला नै मौरीको घारलाई रानोविहीन बनाईन्छ । क्वीन कपमा ट्रान्सप्लान्ट गरेको ग्राफ्टिङ फ्रेमलाई रानो विहीन मौरीको घारमा राखिन्छ । यदी मौरीहरुले स्वीकार गरेमा १५ दिनमा छुट्टै रानो मौरीको जन्म हुन्छ ।
‘तालिममा कृतिम प्रविधीबाट रानो मौरी बनाउँदा डिपिङ रडबाट मैनलाई क्वीक कप बनाई ग्राफ्टिङ गर्ने सिकेको हो । तर हामीले हाम्रै अनुभवबाट मौरी उत्पादन गर्छौ । एउटा घार भित्र विभिन्न चाकामा २५–३० वटा रानो मौरीको क्वीन कप हुन्छन । हामीले माहुरी हटाएर चाकाबाट रानो भएको क्वीन कप निकाल्छौं र आधा माहुरीसहित त्यो क्वीन कपलाई अर्को चाकामा ग्राफिटिङ गरी मौरी उत्पादन गर्ने गरेका छौं ।’ अगुवा मौरी पालक रामकुमारीले थपिन, ‘आजभोली माहुरीका घार पनि पहिलाका जस्ता धेरै चाका भएका राखिन्न, तीन वटा चाका अट्ने साना घार हुन्छन । बोक्न सजिलो र छिटो मह झिक्न यो उपयुक्त छ ।’