FLASH NEWS
  • Loading...

धनधान्यकी देवीको विशेष पूजा गरी मनाइयो लक्ष्मीपूजा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६९ पटक पढिएको
धनधान्यकी देवीको विशेष पूजा गरी मनाइयो लक्ष्मीपूजा

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिएको छ ।

ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । यस दिन घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ ।

सुखरात्रिको पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर वा रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइएकाे छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ ।