FLASH NEWS
  • Loading...

गोठाला जीवन रोज्दै म्याग्दीका युवाहरू

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४७५३ पटक पढिएको
गोठाला जीवन रोज्दै म्याग्दीका युवाहरू

अन्नपूर्ण गाउँपालिका, ५ स्थित शिख माध्यामिक विद्यालयबाट दुई वर्ष अघि कक्षा १२ उत्तिर्ण गरेपछि सोही वडाको पाउद्धारका तन्नेरी प्रकाश पुनलाई परिवारले विदेश जान दवाव दिएका थिए । तर परिवार र आफन्तको विदेश जाने सुझाव मानेनन, वरु भेडा गोठालो बने ।


‘भेडा पालनमा राम्रो आम्दानीको संभावना छ । दु:ख त सवै काममा हुन्छ । अरव गएपनि रुखमा पैसा फल्ने हैन । पैसा यहींका डाँडापाखामा छ, टिप्ने सकिन्छ भन्ने विश्वास छ’ अन्नपूर्ण गाउँपालिका, ५ को नौलोवनमा भेटिएका २१ बर्षिय भेडा गोठाला प्रकाश पुनले भने, ‘१२ कक्षा पास भएपछि परिवार र आफन्त सवैले विदेश जा भन्थे तर म भेडा गोठाला बनें । ६० वटा भेडा किनेर साथीको गोठमा मिसिएको छु । दुई वर्ष गोठमा खटिएँ भने त्यसपछि बार्षिक १५–२० लाख रुपैयाँ सजिलै कमाउँछु ।’

प्रकाशसँगै भेडा पालन पेशामा संगल्न अर्का तन्नेरी हुन, पाउद्धारकै कमल पाईजा (२५) । पाईजाको एक्लै दुई सय ५० बढी भेडा छन । कमल र प्रकाशका भेडा जोडेर एउटै गोठ बनाएका हुन । उनीहरुको गोठमा अहिले तीन सयबढी भेडा छन ।
प्रकाश पुन र कमल पाईजा मात्र होईन, रघुगंगा गाउँपालिका, ८ पात्लेका ३२ बर्षिय दुर्गा छन्त्याल र धवलागिरी गाउँपालिका, ५ मल्कवाङका ३६ बर्षे देवान छन्त्याल पनि वनपाला भेडा पालन पेशामा जोडिएका छन । मलेशिया, कतार र सिङ्गापुरमा करिव १० बर्षे रोजगारी अनुभव संगालेका देवान छन्त्यालले पछिल्लो पाँच वर्षदेखी पुर्खाले सुरु गरेको भेडापालन पेशालाई पछ्याएका हुन । छन्त्याल एक्लैको गोठमा अहिले ६ सयबढी भेडाबाख्रा छन ।
जलवायु परिवर्तनको प्रभावले हिमाली खर्कमा पारेको प्रभावले उत्पादकत्व घट्दै गएको, सामुदायीक वन विकासले हिउँदे चरन क्षेत्र साँघुरिएको र वैदेशिक रोजगारी प्रतिको आर्कषण तथा स्वदेशमा श्रमको सम्मान नहुँदा वर्षेनी त्याज्य वन्दै गएको भेडा गोठालो पेशा प्रति तन्नेरी पुस्ताको प्रवेशले भेडागोठ प्रति आसा जगाएको छ ।
परम्परागत भेडा गोठ पाल्न सजिलो छैन । पाल्ने शैलीको आधारमा भेडा खोरपाला र वनपाला हुन्छन । खोरपाला भेडा दिनभर वनजंगलमा लगेर चराईन्छ, साँझ घरको खोरमा ल्याएर थुनिन्छ । म्याग्दीका माथिल्लो भेगका गाउँमा खोरपाला भेडा पाल्ने चलन छ । उन्नत जातका खोरपाला भेडालाई वँदुवा शैलीमा खोरमै दानापानी र घाँस दिएर पनि पाल्न सकिन्छ ।

वनपाला भेडा भने फिरन्ते शैलीमा पालिन्छ । घाम, झरीवादल, हुरीवतास, असिनापानी र हिउँपात तथा हिउँद–वर्खा सवै वेला, सवै सिजन खुल्ला आकाशमुनी चरन खर्क डुलाउँदै पालिन्छ ।
‘धेरै पढिन । ८ पास गरेपछि विवाह गरें र पठाई छोडें । धेरै वर्ष विदेशको चक्कर मारेपछि चार वर्ष अघि घर फर्केर भेडा पाल्न थालेको हो । पहिला घरमा ७० वटा खोरपाला भेडा थिए, त्यसैमा २ सयबढी वनपाला भेडा थपेर भेडीगोठ पेशा सुरु गरेको हो’ दुर्गा छन्त्याल भने, ‘भेडा पालन पेशा र गोठको बसाई कष्टकर छ । राम्रो आम्दानी पनि छ । पेशा फाप्ने न नफाप्ने हुन्छ, मलाई राम्रो भएको छ ।’
छन्त्यालले भेडा गोठमा सहयोगीको रुपमा दुई जना गोठाला राखेका छन । उनीहरुलाई बार्षिक खाना, लगाउन र अम्मल सहित एक–एक लाख नगद र प्रति ब्यक्ति २० वटा वस्यौली (माउ र पाठा) भेडा दिन्छन ।
‘भेडागोठ एक्लै पाल्न सकिन्न । सहयोगीलाई निरन्तरता दिन मुस्किल हुन्छ । मेरा गोठका सहयोगीले बार्षिक तलव एक लाखबाहेक भेडा वेचेरै २ लाखबढी छुट्टै कमाउँछन’ छन्त्यालले थपे, ‘पढलेखा नभएपछि संसारमा जहाँ गए नि पैसाकालागी गर्ने दु:ख नै हो । भेडा भए ग्राहक पैसा वोकेर आफै गोठमा आउँछन । यही पेशामा सन्तुष्ट छु ।’
वनपाखार र हिमाली चरन क्षेत्रमा हुर्केर फिरन्ते शैलीमा चर्ने भए पनि भेडा आफ्नै विवेकले वाटो हिंड्दैनन । भेडा ‘भेडा’ नै हुन । खोरपाला हुन वा वनपाला । भेडालाई ‘गाईड गर्न’ गोठमा ८–१० वटा ‘सिनाल’ जातका बाख्रा पनि पालिन्छ । सिनाल उच्च हिमाली वातावरणमा हुर्कन र बाँच्न सक्ने जातका बाख्रा हुन । भेडा गोठमा बाख्राको संख्या बढी भयो भने, बाख्रा ‘बाख्रा तिर’ भेडा ‘भेडातिर’ हुने भएकोले गोठालालाई संहाल्न समस्या हुन्छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार म्याग्दीमा २ जातका भेडा पालिन्छ । म्याङ्लुङ र वरुवाल । हिउँदको जाडोमा बेंशीका फाँटमा झार्ने र गर्मि मौषममा हिमाल मुनीका फराकिला चरन क्षेत्रमा पुर्‍याईन्छ । यसरी भेडा गोठलाई तल र माथी गर्ने क्रमलाई ‘उधौली–उभोली’ भनिन्छ । भेडा र गोठालाको कुनै पनि स्थानमा दुई साताबढी बसाई रहन्न । उनीहरु चरन अनुसार दुई हप्तामै घुमिरहने भएकोले फिरन्ते भएका हुन ।
केन्द्रको तथ्याङक अनुसार जिल्लाका एक सय ९३ जनाले परम्परागत तरिकाले खोरपाला र वनपाला गरी १९ हजार ३ सय २५ वटा रैथाने भेडा पाल्छन । अन्नपूर्ण गाउँपालिकाको शिख, नारच्याङ, दाना, दोवा, रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती, चिमखोला, कुईने–मंगले र धवलागिरी गाउँपालिकाका मल्कवाङ्ग, मुदी, मुना, लुलाङ्ग र गुर्जा वस्ती भेडापालन पकेट क्षेत्र हुन । केन्द्रले २० वटाभन्दा बढी भेडा पाल्नेलाई ब्यवसायीक मानेको छ । भेडासँगै मिलाएर खुल्ला तरिकाले पालिएका ८ हजार बाख्रा पनि छन ।
‘परम्परागत फिरन्ते भेडा पालन ब्यवसायलाई ब्यवस्थापन गर्न पशु सेवा विभागअन्र्तगत केन्द्रीय भेडाबाख्रा प्रर्वद्धन कार्यक्रम र चरनखर्क निती २०६८ ब्यवहारमा लागु भएको छैन । तर गोठ सुधार, रोगब्याधि नियन्त्रण र पेशा प्रर्वद्धनमा काम गरिरहेका छौं’ भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका नायव पशुसेवा प्राविधिक गणेश रिजालले भने, ‘अझै स्थानीय सरकारसँग सहकार्य गरी स्वजातीय गर्भाधान रोक्ने, चरन क्षेत्र ब्यवस्थापन गर्ने र अझै युवा कृषकलाई प्रेरित गर्ने कार्यक्रम आवश्यक छ । केन्द्रले अनुदानका कार्यक्रम पनि गर्दैछ ।’
फिरन्ते भेडाबाख्रा बजार पुर्‍याउने झन्झट छैन । गाउँ–गाउँमा गरिने भूमेपुजा, बराह पुजा, विभिन्न जाति, जनजाहिरुको कुलपुजामा भेडाको वलीदिएर पुजा गर्न स्थानियले गोठबाटै खोसाखोस गर्छन । बराह, भूमे, कुलपुजा भेडाको ‘थुमा’ बोकाले वली दिने चलनले भेडा पालन पेशालाई टिकाएको हो ।
भूमेपुजामा भेडा र बाख्रा दुवैको बोकाको बली दिईन्छ । छन्त्याल जातीले आफ्नो कुल पुजामा बाख्राको बोकाले बलि दिन्छन भने मगर र क्षत्रीहरुले आ–आफ्नो कुल पुजामा भेडाको साँड (भेडाको खसी नबनाएको बोका) र बाख्राको बोकाले वली दिने प्रचलन छ । गाउँ–गाउँमा लाग्ने यस्ता पुजाअर्चनाहरु फिरन्ते भेडीगोठकालागी बोका तथा भेडाको साँढ ब्यापार गर्ने गतिलो अवसर हो । एक बर्षमा एउटा गोठले सामान्य ५–६ लाखदेखी २५ लाखसम्म भेडा, बोकाको विक्री गर्छन ।
‘गाउँघर र डाँडापाखाका देवीदेउता पुज्ने चलन हुन्थेन भने सायद यस्ता भेडीगोठ पहिल्लै मासिन्ने होला । यहाँका देवीदेवता आस्था र विश्वास मात्र होईनन, हाम्रा परिवार पाल्ने माध्यम पनि भएका छन’ लालवीर तिलिजिलो भने, ‘भेडा पालनमा राम्रो आम्दानीको संभावना छ । दु:ख त सवै काममा हुन्छ । अरव गएपनि रुखमा पैसा फल्ने हैन । पैसा यहींका डाँडापाखामा छ, टिप्ने सकिन्छ ।’
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार म्याग्दीमा औषतबढी मासु खाने गर्छन । राष्ट्रिय मासु उपभोग दर प्रतिब्यक्ति बार्षिक १४ किलोग्राम रहेकोमा म्याग्दीमा भन्दा ७ केजी अर्थात प्रतिब्यक्ति २१ केजी मासु सेवन गर्ने गरेका छन ।
भेडा पालन पेशामा आम्दानी मात्र होईन समस्याहरु पनि देखिन थालेका छन । खर्क तथा चरन ब्यवस्थापन नीति नहुँदा भेडालाई चरन समस्या हुन थालेको छ । जलवायु परिवर्तनसँगै बढेको तापक्रमको प्रभावले बेंशीमा मात्र देखिने खोरेत, निमोनिया, पिपीआर जस्ता रोगहरु हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।
‘खोप्रा, नौलोवन र खयरखोला चरन क्षेत्रका पाँच वटा भेडीगोठबाट मात्र यो बर्ष ७०–८० वटा भेडा चितुवा र स्यालले खायो । ८ वटा त चौरीका बच्छाबाच्छी खायो’ नौलोवनका भेडा गोठाला कमल पाईजाले भने, ‘मैले मात्र यो बर्ष चितुवाले भेडाबाख्रा खाएकोले चार लाखबढी घाटा पर्‍यो । एक्यापको नियमले गर्दा फिरन्ते भेडागोठ असुरक्षित भए ।’
चरन अभाव, रोगब्याथीको प्रकोप बृद्धी र वन्यजन्तुबाट असुरक्षा बढ्दै गएपछि फिरन्ते भेडागोठालाहरु भेडापालन समितिमा संगठित हुन थालेका छन । कालीगण्डकी, राहुघाट र म्याग्दीखोला गरी जिल्लाका मुख्य नदीको आधारमा चरन क्षेत्र बाँडेर भेडा पालक कृषक संगठित भएका हुन ।
त्यति मात्र होईन परम्परागत शैलीमा पालिएका भेडीगोठमा भेडाको आनुबांशिक समस्या पनि देखिएको छ । स्वजातिय गर्भाधान (हाडनाता गर्भाधान)को समस्याले भेडाको बृद्धीविकास, उत्पादनशिलता घट्दो छ ।
साँघुरिएको चरन क्षेत्र, वन्यजन्तुको बढ्दो आक्रमण र भेडाबाख्रामा हिमाली चरन क्षेत्रसम्मै देखिन थालेको सरुवा रोगबाट बच्न परम्परागत फिरन्ते शैलीका भेडागोठलाई ब्यवसायीक योजना सहित पाल्नु पर्ने देखिएको छ ।
‘वर्खा त माथी हिमालमुनी बुक्यान/खर्कमा उकाल्छौं, उतै चरन हुन्छ । हिउँदमा माथी गोठ राख्न सकिन्न तल वेंशी झार्नु पर्‍यो । तल गाउँमा गोठ ल्याउँदा चरनको समस्या हुन्छ’ ५० बर्षदेखी निरन्तर भेडा गोठ पाल्दै आएका ७२ बर्षिय लालवीर तिलिजाले भने, ‘हामीले संरक्षण गरेको सामुदायीक वनमा चराउन पाईन्न भन्छन । वनपाला भेडाको जात न गोठमा बाँधेर घाँस हालेर मिल्छ । कहाँ चराउने ? चरन नपुग्ने भएकोले एकै ठाउँमा मिल्दैन, गोठ सारी रहनु पर्‍यो । सामुदायीक वन भन्दै सेपल (जरिवाना) तिर्नु पर्दा धेरै गाहे भएको छ ।’