FLASH NEWS
  • Loading...

तीन महिना नपुग्दै उप्कियो बेनी–जोमसोम सडककाे महभीर-पाेखरे खण्डमा कालोपत्रे

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • १६५ पटक पढिएको
तीन महिना नपुग्दै उप्कियो बेनी–जोमसोम सडककाे महभीर-पाेखरे खण्डमा कालोपत्रे

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक अर्न्तगत म्याग्दीको महभीर–पोखरेबगर खण्डमा गरिएको कालोपत्रे तीन महिना नपुग्दै उप्किएर सडकमा खाल्डाखुल्डी परेका छन ।
बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका, ३ राहुघाट खोलादेखी अन्नपूर्ण गाउँपालिका, २ नागढुङ्गासम्मको दोस्रो प्याकेजको १९ किलोमिटर सडक कालोपत्रेसहित स्तरउन्नत गर्ने ठेक्का पाएको शर्मा युनाईटेड जेभीले महभीर–भिरकाटे–धिरच्याङ–रातोपानी–पोखरेबगरसम्मको ६ किलोमिटर सडकको विचविचमा गत फागुन (०८० फागुन महिनामा) विडिएसडी प्रविधीको कालोपत्रे गरेको थियो ।


गत फागुनमा गरिएको कालोपत्रे सडक चैतदेखी नै उप्किन थालेको हो । सडकको महभीर–भीरकाटे क्षेत्र र धिरच्याच्याङ–पोखरेको रातोपानी क्षेत्रमा सडकको पिच उप्केर बसका टायर अट्ने ठुला खाल्डाखुल्डी परेका छन । अन्नपूर्ण गाउँपालिका मुकाम रहेको पोखरेबगर खण्डमा सडकमा सडकको विच विचमा खोल्सा परेका छन ।
‘अस्तिभर्खर मध्य फागुनमा गरेको सडक कालोपत्रे एक महिना नपुग्दै उप्किन थालेको हो । अहिले त पुरै खाल्डाखुल्डी परेको छ । त्यो पनि एक ठाउँमा हैन, धेरै ठाउँमा’ पसल अघि सडकका खाल्डाखुल्डी देखाउँदै अन्नपूर्ण गाउँपालिका, ६ रातोपानीकी ज्ञानु खड्काले भनिन, ‘यस्तो विकासले कहिले देश बन्ला । सडकका ठेकदारले यस्तो वदमासी गर्दा हेर्ने इन्जिनियर पनि नहुने रहेछन कि क्याहो ?’


शर्मा युनाईटेडले राहुघाट–तातोपानी नागढुङ्गासम्मको कालोपत्रे स्तरमा स्तरवृद्धी गर्न बेनी–जोमसोम–कोरोला सडक आयोजनासँग विस ०७४ सालमा दुई बर्षभित्र काम सम्पन्न गर्नेगरी ६६ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
ठेकदार कम्पनीले अहिले बेगखोलादेखी तिप्ल्याङसम्मको आधा भागमा पहिलो चरणको चिप्स, बिटुमिन विच्छ्याएर छोडेको छ भने तिप्ल्या–महभीर खण्डको करिव दुई किलोमिटर सडक कालोपत्रे गरेको छ । तर यो कालोपत्रे सडक पनि लेवल नमिलेको धर्सा र खोल्सी परेको हुँदा दुई पाङ्ग्रे सवारी चलाउनेलाई कठिन हुने गरेको छ ।
त्यस्तै राहुघाटखोला देखी बेगखोलासम्मको ८ किलोमिटर सडकमध्य ३ किलोमिटर सडक दुई बर्ष अघि नै कालोपत्रे गरिएको थियो । यो खण्डमा पनि अधिकांश सडक जीर्ण बनेको छ । कालोपत्रे सडकमा खाल्डाखुल्डी र बाढीले बगाएर खोल्सा परेको छ ।