FLASH NEWS
  • Loading...

ढाड, गर्दन र कम्मर दुख्ने समस्या छ ? यी हुन् समाधानका उपाय

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११८ पटक पढिएको
ढाड, गर्दन र कम्मर दुख्ने समस्या छ ? यी हुन् समाधानका उपाय

ढाड, गर्दन तथा कम्मरको दुखाईले धेरैको दैनिकी नै बिथोलिने गर्छ । यस्ता दुखाईको कारण पहिचान गरी समयमै उपचार गरिएन भने यसले गम्भीर समस्या निम्त्याउन सक्छ । यद्यपि, यो समस्याको कारण सबैमा एकनासको हुँदैन । बालबालिका, युवा र वृद्धावृद्धामा फरक फरक कारण हुन सक्छ । त्यसैले ढाड, गर्दन र कम्मर दुखाईका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे प्राकृतिक तथा दुखाई रोग विशेषज्ञ डा. सुनिल पौडेलको सुझाव यस्तो छ ।

बालबालिकामा ढाड, गर्दन र कम्मर दुख्नुको कारण

बालबालिकाहरुको उमेर भनेको मेरुदण्ड दुख्ने उमेर हुँदै हैन । त्यसैले के कारणले दुख्यो भन्ने कुरा पत्ता लगाउनु एकदमै जरुरी हुन्छ । जन्मजात मेरुदण्ड सम्बन्धि रोग लिएर जन्मिएका बालबालीकामा यो समस्या हुन सक्छ । चोटपटक, एक्सिडेन्ट, व्यायामको कमी र पोषणयुक्त खानाको कमीले बालबालिकामा यो समस्या हुन सक्छ । त्यसका साथै लगातार यो समस्या देखिरह्यो भने क्याान्सर, ट्युमर, इन्फेक्सन र पत्थरीको कारण पनि हुनसक्छ ।

युवाहरुमा दुखाईको कारण

युवाहरुमा दुखाईको मुख्य कारण भनेको व्यस्त जीवनशैली हो । व्यस्तताको कारण युवाहरुसँग व्यायाम गर्ने, समयमा खाना खाने र पानी पिउने समय समेत हुँदैन । जसकारण मेरुदण्डमा दुखाईको समस्या हुन्छ । २० वर्षको तुलना गर्दा युवाहरुमा मेरुदण्ड दुखाईको समस्या एकदमै बढेको छ । अस्वस्थ जीवनशैलीको कारण यो समस्या बढेको देखिन्छ ।
जंकफुडको धेरै सेवन र पोषणयुक्त खानाको कमीको कारण पनि यो समस्या युवाहरुमा बढेको हो । हड्डी खिइएको कारण पनि मेरुदण्ड दुख्छ । पोस्टुरल कारण सुताई, बसाई हिँडाईको पोस्टर नमिलेको कारणले पनि ढाड, कम्मर र गर्दन दुख्ने गर्छ । चोटपटक, ट्युमर इन्फेक्सन, टिभीको कारणले पनि दुख्छ ।

वृद्धवृद्धामा दुखाईको कारण

वृद्धवृद्धाहरुमा सबैभन्दा धेरै दुखाईको कारण हड्डी खिइएर हुन्छ । अहिले धेरै बिरामीहरुमा मेरुदण्डको हड्डी भाँचिने समस्या पनि बढिरहेको छ । वृद्धवृद्धा भएपछि काम गर्नु हुँदैन आराम मात्र गर्नु पर्छ भन्ने सोच हाम्रो समाजमा हुन्छ । त्यसैले व्यायामको कमी तथा शारीरिक कामको कमीले पनि वृद्धावृद्धामा ढाड, गर्दन तथा कम्मर दुख्ने हुन्छ । साधारण चोटपटकका कारण पनि वृद्धावृद्धाहरुमा मेरुदण्डको दुखाई हुन्छ ।

समाधानको उपाय

– यदि मेरुदण्ड दुख्न सुरु भयो भने सम्बन्धित विशेषज्ञ कहाँ गएर चेक जाँच गराउनु उपयुक्त हुन्छ । यसो गर्दा रोगको कारण छिटो पत्ता लगाउन सकिन्छ र उपचार पनि चाँडो हुन्छ ।
– सुहाउँदो तथा फाइदा दिने व्यायाम गर्ने ।
– चिकित्सकको सल्लाहअनुसार घर तथा अस्पतालमा थेरापी गर्ने ।
– विभिन्न रोग जस्तै थाइराइड र किड्नीको बिरामीहरुमा पनि मेरुदण्ड दुख्ने समस्या हुने भएकोले यसको उपचार गर्नुपर्छ ।
– भिटामिन, मिनरल्सहरुको कमीको कारण दुखेको हो भने भिटामिन र मिनरल्स भएका खाना खानुपर्छ
– मेरुदण्ड अर्थात् गर्दन, ढाड, कम्मरको दुखाईको उपचारमा पोस्चुरल केयर महत्वपूर्ण मानिन्छ । त्यसैले कसरी सुत्ने, कसरी उठ्ने, कसरी बस्ने जस्ता कुराहरुको ख्याल गरियो भने पनि दुखाई कम हुन्छ ।