FLASH NEWS
  • Loading...

मणिपाल अस्पताल बतास र अटोवेजले किने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२३ पटक पढिएको
मणिपाल अस्पताल बतास र अटोवेजले किने

भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो ।

उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । यी दुई व्यवसायीले ३ अर्ब ५० लाख रुपैयाँमा मणिपाल कलेज किनेका उनीहरु निकट स्रोत बताउँछ । कलेजमा ६० प्रतिशत बतास र ४० प्रतिशत अटोवेज समूहले लगानी गरेका छन् ।

४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले ९ सय शय्याको अस्पतालको अनुमति लिएको छ । अस्पतालले आफ्नो स्वामित्व बाहेक पनि १०० रोपनी लिजमा लिएको छ । मेडिकल कलेजमा अहिले १ सय विद्यार्थीले एमबीबीएस अध्ययन गरिरकेका छन् । मणिपालमै बीएस्सी नर्सिङ, स्टाफ नर्ससमेत पढाइ हुँदै आएको छ । मणिपालमा भारतदेखि धेरै विद्यार्थी एमबीबीएस अध्ययन गर्न आउने गरेका छन् ।

मणिपालले पोखरा महानगरपालिकालाई जग्गा शुल्क, करबापत २८ करोड रुपैयाँ तिर्न बाँकी छ । कलेजले विभिन्न दायित्व र अन्य ठाउँमा गरी ९७ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी छ ।

मणिपालको इतिहास

मणिपाल नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालनमा आएको शिक्षण अस्पताल हो । मणिपालले पोखरामा स्वास्थ्य शिक्षाको सुलभ अवसरमात्रै दिएन, विदेशी लगानीकर्तासमेत भित्र्याएको थियो ।

भारतीय लगानीमा पोखराको एक पाखोमा खुलेको मणिपालसँगै त्यो क्षेत्रमा विकासको ढोका पनि खुलेको थियो । काहुँडाँडाको काख फूलबारीमा स्थापित मणिपालले सेवा सुविधा र विकासका हिसाबले पनि त्यस क्षेत्रलाई हराभरा नै बनाइदियो ।

भारतका विभिन्न ठाउँमा मणिपाल अस्पताल चलाइरहेको समूहले पोखरामा मेडिकल चलाएर विकाससँगै ठूलो रोजगारी पनि सिर्जना गरेको थियो । मणिपालमा ११ सय भन्दा बढीले रोजगारी पाएका छन् ।

२०५१ सालमा मणिपाल समूहले पोखरा र जनकपुरमा एक साथ अस्पताल बनाउन थालेको थियो । सशत्र विद्रोहको कारण जनकपुरमा केही संरचना बनेर पनि अलपत्र प¥यो । तर, पोखरामा भने आकर्षक भवनसहित सेवा सञ्चालन गरेको थियो ।

विभिन्न माग राख्दै मणिपालमा कर्मचारी र चिकित्सकले वर्षेनी आन्दोलन गर्दै आएका छन् । यही जेठ महिनामा पनि चिकित्सक तथा कर्मचारीले सेवा सुविधा वृद्धिको माग राख्दै आन्दोलन भएको थियो । कर्मचारी आन्दोलनका कारण भारतीय समूहले मणिपाल बिक्री गर्न खोजेको यसअघि नै सार्वजनिक भएको थियो ।