FLASH NEWS
  • Loading...

अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम अनुमोदन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२९ पटक पढिएको
अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम अनुमोदन

|annapurna 11th gaun shava

अन्नपूर्ण गाउँपालिकाको ११ औं गाउँसभाले आगामी आर्थिक बर्ष २०७७/०७८ कालागी बजेटले अंगिकार गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
गाउँपालिका अध्यक्ष क्याप्टेड डमबहादुर पुनको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीको संञ्चालनमा आईतवार पोखरे वगरमा सम्पन्न ११ औं गाउँसभामा उपाध्यक्ष केशमायाँ मगरले प्रस्तुत गरेको ३५ बुँदे नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।
अन्नपूर्ण गाउँसभाले अनुमोदन गरेको नीति तथा कार्यक्रमले उत्पादन र उत्पादकत्वमा बृद्धी, श्रममा आधारित रोजगारी, कोभिड–१९ नियन्त्रण तथा रोकथाम समेत स्वास्थ्य क्षत्रमा लगानीबृद्धी, साक्षर गाउँपालिका बनाउने र गाउँपालिका भित्र भवन तथा सडक मापदण्ड लागु गर्ने समेतका नीति तथा कार्यक्रम तय गरेको छ ।
गाउँसभामा उपाध्यक्ष केशमायाँ मगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रम साभारगरी प्रस्तुत गरेका छौं । :
सभाका अध्यक्ष महोदय,
उपस्थित गाँउकार्यपालिकाका सदस्यज्यूहरु, गाँउसभाका सदस्यज्यूहरु, प्रमुख प्रशासिकय अधिकृत,गाँउपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु, सुरक्षाकर्मीहरु एवं उपस्थित सम्पुर्ण मानुभावहरु,
अब म गाँउपालिकाको आर्थिक वर्ष २०७७।७८ का लागि प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१ यस प्रस्तावित निति तथा कार्यक्रमले विकास निर्माण, उत्पादन र उत्पादकत्व बृद्दि रोजगारी सिर्जना, स्थानीय नेतृत्वको विकास,स्थानीय स्तरमा श्रममा आधारित रोजगार कार्यक्रम कोभिड १९ को असर र प्रभाव नियन्त्रण गर्ने र यसको जोखिम कम गर्ने, प्राप्त लाभहरुको समन्यायिक वितरण, न्यायपूर्ण समाज, प्रभावकारी सेवा प्रवाह, दिगो र सन्तुलित विकास समसामायिक मामिलाहरुको सम्बोधन, जनताको चेतनाको स्तर बृद्धि कानुनी शासनको प्रत्याभुतिलाई प्राथामिकतामा राख्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नेतर्फ केन्द्रित छन ।
२ गाँउपालिका अध्यक्षले वडा अध्यक्षसँग र प्रमुख प्रशासकिय अधिकृतले शाखा प्रमुखसँग मापन योग्य सुचकहरु सहित कार्यसम्पादन सम्झौता गरी सम्बन्धित कर्मचारी तथा पदाधिकारीहरुलाई नतिजा प्रति थप जवाफदेही र जिम्मेवारी बनाईने छ ।त्यसै गरी जनप्रतिनिधी र कर्मचारीको क्षमता अभिबृद्धि गरी विकास र सेवा प्रवाहमा गुणस्तर कायम गर्न तालिम प्रशिक्षण र अभिमुखिकरणका साथै अवलोकन भ्रमण गराईनेछ ।
३ विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि व्यवस्थित रुपमा क्वारेन्टाइनको सञ्चालन गर्न यसको असर प्रभाव र संक्रमणको न्युनिकरण गर्न तत्काल गर्नु पर्ने कार्यको लागि विपद व्यवस्थापन कोषको स्थापना गरी प्रभावकारी र व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
४ गाँउपालिकाबाट नक्सा पास नगरी भौतिक संरचना तथा घर निर्माण गर्ने र स्वीकृत मापदण्ड विपरित निर्माण कार्य गरिएका संरचनालाई कानुनी दायरामा ल्याई त्यस्तो कार्यलाई निरुत्साहित गरिने छ । गाँउपालिका क्षेत्र भित्रको सडकको मापदण्ड तोकी सडक मापदण्ड लागु गरिने छ । गाँउपालिकाले तोकेको सडकको मापदण्ड क्षेत्र भित्र बनेका संरचना जुनसुकै बखत हटाइने छ ।
५ गाँउपालिका क्षेत्रभित्रका सहकारीहरुको तथ्यांक संकलन गरी, सहकारी संस्थाको दर्ता, अनुमति, नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सञ्चालनमा रहेका सहकारी संस्थाहरुको प्रर्वधन, परिचालन र विकास गरिने छ । स्थानीय व्यापार वस्तुको माग, आपुर्ति तथा अनुगमन उपभोक्ता अधिकार तथा हित सम्बन्धी जनचेतना र स्थानीय बजारको व्यवस्थापन र नियमित अनुगमनको व्यवस्था मिलाईने छ ।
६ सबै नागरिकहरुमा बैक तथा वित्तिय साक्षरता अभिबृद्धि गर्न वैकहरुको समन्वयमा सघन रुपमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिने छ ।
७ गाँउपालिकाले हाल लिदै आएको कर राजस्व, शुल्क, दस्तुर आदिलाई थप व्यवस्थित र नियमन गरिने छ । असल करदातालाई सम्मान र समयमा नै कर तिर्ने करदातालाई विशेष छुटको व्यवस्था गरिने छ । ठप्प रहेको पर्यटन क्षेत्र, मन्द भएको व्यापार र बन्द रहेका उधोगहरुको सवलीकरणको लागि न्युन करको दर कायम गरी कर छुट दिने व्यवस्था मिलाईने छ ।
८ जनसंख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक पुर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषी, उधोग, व्यापार, रोजगारी, मानव विकास, प्रतिव्यक्ति आय, कुल गह्यस्त उत्पादन, लैङगिक सशक्तिकरण सुचकांक, राजस्व तथा आय व्यय समेतको तथ्यांक संकलन र प्रशोधन गरी नविनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सुचना प्रणालीमा आवद्धता र पार्श्व  चित्र तथा स्रोत नक्साको अध्यावधिक अभिलेख गरिने छ ।
१० संविधानले व्यवस्था गरेको आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको प्रत्याभुतिको लागि निशुल्क रुपमा औषधी वितरण, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अनुभुति हुने खालका कार्यक्रम सञ्चालन गरिने छ ।
११ गाँउपालिका भित्रका सबै बालबालिकाहरुलाई आधारभुत तथा माध्यमिक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराएर साक्षर गाँउपालिका बनाउने निति अवलम्बन गरिने छ । सबै विद्यालयलाई बाल मैत्री बनाईने छ ।विद्यालयहरुको गुणस्तर अभिबृद्धि, सामुदायिक विद्यालयको शौक्षिक पुर्वाधार निर्माण मर्मत, सम्भार, सञ्चालन र व्यवस्थापनलाई विशेष प्राथामिकता दिइने छ । वाल विकासमा कार्यरत सहयोगी कार्यकर्ताको लागि थप प्रोत्साहन प्रदान गरिने छ ।
१२ गाँउपालिकाभित्रको सम्पुर्ण शौक्षिक गतिविधिहरुलाई नीति, कानुन, मापदण्ड बनाइ व्यवस्थित र प्रभावकारी बनाइने छ ।संघीय सरकारको नीति अनुरुप विद्यार्थी संख्याको आधारमा सामुदायिक विद्यालय समायोजन गर्ने निति अबलम्बन गरिने छ ।
१३ शिक्षण सिकाईमा प्रविधीको प्रयोग बढाइ दिगो सिकाइ, शौक्षिक ज्ञान, सिप र प्रविधिको विकास र शौक्षिक गतिविधीहरुको प्रभावकारी कार्यान्वयनको लागि शिक्षकहरुलाई तालिम र क्षमता विकास कार्यक्रमरु सञ्चालन गरिने छ ।
१४ यस क्षेत्रको परिवेश र अनुकुल हुने कक्षा १-३ को स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरी लागु गरिने छ ।
१५ विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन, पहिचान र विकास स्थानीय ज्ञान, सिप र कला प्रदर्शन र प्रचार प्रसार एवं शौक्षिक क्रियाकलापको प्रवर्धनको लागि शौक्षिक प्रदर्शन मेला सञ्चालन गरिने छ ।
१६ स्थानीय स्तरको विकास योजना छनौट र कार्यान्वयमा वस्तुनिष्ठ र प्रभावकारी बनाउन योजनाको प्राथामिकिकरण कार्य सहज बनाउन गाँउपालिकाको पञ्चवर्षिय योजना तयार गरी कार्यान्वयनमा ल्याइने छ ।
१७ ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, विधवा, बालवालिका, लगायतलाई नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्रत्याभूत गर्दै आएकमा स्थानीय सरकारले जोखिममा रहेका असहाय, अनाथ, अशक्त, अति विपन्न, असाध्य रोग लागेका दिर्घ रोगीहरुको सहायताको लागि मापदण्ड निर्धारण गरी आर्थिक सहायता प्रदान गर्ने कार्यलाई थप व्यवस्थित गरिने छ । सामाजिक सुरक्षा भत्ता सबै वडाहरुमा बैक मार्फत वितरण गरिने व्यवस्था मिलाईने छ ।अनलाइन घटना दर्ता कार्यको सुरुवात गरिने छ ।
१८ यस गाँउपालिका भित्रका आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई गरिब पहिचान तथा परिचय पत्र वितरणको लागि अभियानकै रुपमा गरिब पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम सञ्चालन गरिने छ ।
१९ दन्द्ध पिडित तथा हिंसामा परेका एकल महिला, बालबालिका ज्येष्ठ नागरिक, विशेष क्षमता भएका व्यक्तिहरुको शशक्तिकरणको लागि सामाग्री वितरण, महिलाहरुको आय आयआर्जन सिप विकास, गर्भवती महिला तथा बालबालिकाको पोषण सुधार महिला हिंसा न्युनिकरण कानुनी सचेतना कार्यक्रम महिला बालबालिका अपांगता भएका व्यक्ति ज्येष्ठ नागरिक तथा यौनिक तथा लैंगिक अल्पसंखयकहरुको तथ्यांक संकलन गरि उनीहरुको पहिचान, सम्मान र शशक्तिकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
२० महिला महिला बिच हुने विभेद र हिंसा न्युनिकरण गरी सुमधुर पारिवारिक सम्बन्ध कायम राखन सचेतना मुलक कार्यक्रम सञ्चालन गरिने छ ।
२१ जिल्ला प्रशासन कार्यालय र स्थानीय तह विचको समझदारीमा तयार पारिएको जिल्ला भित्र सञ्चालन गरिने मेला तथा महोत्सव सम्बन्धी मापदण्डको आधारमा सो कार्यविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउदै लागिने छ र एक वडा एक मेला कार्यक्रमलाई व्यवस्थित गरिने छ ।
२२ स्थानीय तहको अधिकार क्षेत्र भित्रका विषयहरुमा कानुन निर्माण गर्न सकिने संविधानत व्यवस्था गरिएको छ । कानुन निर्माण प्रकृयामा सरोकारवालाहरुको भुमिका र सहभागिता अभिबृद्धि गर्दै योजना कार्यक्रम कार्यान्वयन गर्न, प्रभावकारी र गुणस्तरिय सेवा प्रभाव गर्न आवश्यक ऐन, नियम, कानुन, नीति, कार्यविधी र मापदण्डहरुको निर्माण गरी लागु गरिने छ ।
२३ स्थानीय स्तरमा विपद पुर्वतयारी तथा प्रतिकार्य योजना, पुर्व सुचना प्रणाली खोज तथा उद्धार राहत सामाग्रीको पुर्वभण्डारण विपद जोखिम क्षेत्रको नक्साकंन तथा वस्तीहरुको पहिचान गरिने छ । विपद व्यवस्थापनको लागि गठित गाँउपालिका स्तरिय विपद व्यवस्थापन समिति र प्रत्येक वडामा गठित वडा स्तरिय विपद व्यवस्थापन समितिलाई थप क्रियाशिल बनाई यस क्षेत्रमा हुने सक्ने विपद जोखिम न्युनिकरणका कार्यक्रमहरु सञ्चालन गरिने छ ।
२४ समाजमा विद्यमान रहेको धुम्रपान, मध्यपान तथा लागु पदार्थको दुर्व्यसनीलाइ न्युनिकरण, नियन्त्रण र निर्मुल पार्न अन्य निकाय सँगको समन्वय र सहकार्यमा लागु औषध नियन्त्रण कार्यक्रम सञ्चालन गरिने छ ।
२५ गाँउपालिका सबै गाँउ वस्तिलाई ग्रामिण सडक सञ्चालमा जोडिने छ । स्थानीय ग्रामिण तथा कृषि सडकको मर्मत, स्तरउन्नती गरी गाँउ गाँउको आवागमनमा सहजता ल्याउन र खाध्यन्न, मल, विउ सामानहरुको ढुवानी कार्यको लागि बाह्रै महिना सडक सञ्चालन गर्न सकिने व्यवस्था मिलाईने छ ।
२६ अन्य स्थानीय तहको असल अभ्यास र अनुभवको आदान प्रदान गर्ने प्रभावकारी गुणस्तरिय सेवा प्रवाह विकास कार्यहरुमा भएका सकरात्मक कार्यहरुको अनुशरण यस गाँउपालिकाको चिनारीको लागि अन्तर स्थानीय तह भगिनी सम्बन्ध कायम गरिने छ ।
२७ यस क्षेत्रमा रहेका ऐतिहासिक सांस्कृतिक धार्मिक पुरातात्विक प्राकृतिक सम्पदाको पहिचान संरक्षण प्रवर्धन र प्रचार प्रसार गर्ने र यी क्षेत्रहरु भौतिक पुर्वाधारको विकास गरिने छ ।
२८ ठुला प्रकृतिका योजना तथा परियोजना सञ्चालनमा प्रभावकारीता अभिबृद्धि गर्न, छिटो, छरितो र तोकिएको समयमा गुणस्तरिय रुपमा सञ्चालन गर्न नविनतम सुचना तथा प्रविधिको प्रयोग गरी बोलपत्र प्रकाशनको माध्यमबाट सञ्चालन गरिने  छ ।असारे विकासलाई आगामी वर्ष अन्त्य गर्न योजना सम्झौता कार्यलाई श्रावण महिनाबाट नै सुरु गर्ने व्यवस्था मिलाईने छ ।
२९ आर्थिक तथा गरिबी निवारणमा सहयोग पुग्ने उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने स्थानीय स्रोत साधन र सिपको अधिकतम प्रयोग हुने महिला बालबालिका तथा पिछडिएको वर्ग क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना तथा कार्यक्रम सञ्चालन गरिने छ ।स्थानीय श्रमिकहरुलाई प्राथिकमता दिने खालका कार्यक्रमलाई  प्राथामिकता दिइने छ । प्रधानमन्त्री रोजगार मार्फत सञ्चालन हुने योजना तथा अन्य विकास योजना र कार्यक्रममा स्थानीय श्रमको उपयोग हुने गरी सञ्चालन गर्न प्राथामिकता दिइने छ ।
३० स्थानीय स्तरमा हुने सामान्य प्रकृतिका विवादहरुको समाधानको लागि मेलमिलाप र मध्यस्ताको माध्यमबाट समाधान गर्ने उपायहरु अबलम्बन गरिने छ । वडाहरुमा रहेका मेलमिलाप केन्द्रहरुलाई न्यायिक समिति मार्फत थप प्रभावकारी बनाइने छ । मेलमिलाप केन्द्रहरुलाई शान्ति स्थापना गर्ने केन्द्रको रुपमा सञ्चालन गरिने छ ।
३१ यस क्षेत्रमा सञ्चालन भएका सामुदायिक तथा गैरसरकारी संस्थाहरुको लगानी र भुमिकालाई जवाफदेही र पारदर्शी बनाउने त्यस्ता संस्थाहरुको स्थापना, स्वीकृति, सञ्चालन र नियमन व्यवस्थापन गरी आवश्यकता र प्राथामिकताको क्षेत्रमा कार्यक्रम सञ्चालनमा सहभागी गराईने छ ।
३२ स्वस्थ, सक्षम र अनुशाशित नागरिक तयार गरी खेलकुदको माध्यमबाट यस क्षेत्रको पहिचान प्रवर्धन गर्न, खेल क्षेत्रमा युवा सहभागिता अभिवृद्धि गराउन खेलकुदको विकास र खेलाडीको उत्पादन गरिने छ ।
३३ सार्वजनिक प्रशासनलाई राजनितिक सिद्धान्तबाट अलग राखी स्थानीय सरकारका निति तथा कार्यक्रम निष्पक्ष रुपमा कार्यान्वयन गरी समृद्ध अन्नपुर्ण गाँउपालिका निर्माणमा समर्पित एवं तल्लिन गराइने छ । सुशासन तथा संस्थागत विकास मार्फत सेवा प्रवाहलाई चुस्त, दुरुस्त मितव्ययी, जनमुखी, गुणस्तरिय र प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्था मिलाइने छ । कर्मचारीहरुलाई उच्च मनोबल सहित काम गर्न प्रेरित हुने वातावरण मिलाउन आवश्यक व्यवस्था गरिने छ ।
३४ नेपाल सरकार प्रदेश सरकार र अन्य विकास साझेदार संस्था सँगको सहलगानीमा पुर्वाधार विकासको लागि समपुरक कोषको व्यवस्था गरिने छ । गाँउपालिका भित्र सहज यातायात एवं आवातजावतलाई प्रभावकारी बनाइ स्थानीय यातायात व्यवसायीहरु सँग समन्वय गरी स्थानीय भाडादर निर्धारण गरी लागु गरिने छ ।
३५ यस गाँउपालिका कृषी र पशुपालनको लागि उपयुक्त र सम्भावना युक्त क्षेत्र हो । कृषकहरुको हक हितको लागि सहुलियत रुपमा मल विउ पुजी र प्रविधिको अनुदान दिई व्यवसायिक खेती तर्फ आकर्षित गरिने छ र प्राकृतिक विपत्ति वा महामारीबाट कृषकको बाली नालीमा पुगेको क्षतिको क्षतिपुर्ति दिइने छ । पशु स्वास्थ्य शिविर सञ्चालन गरिने छ । घाँसको विउ, वोयर जातको बोका र माछाका भुरा वितरण कार्यक्रमहरु सञ्चालन गरिने छ ।  अगुवा कृषकहरुलाई प्रोत्साहन र सम्मान गरिने छ । खेतीबालीको विकास र उत्पादन र उत्पादकत्व बढाउन कृषक पाठशाला सञ्चालन गर्ने व्यवस्था मिलाईने छ । आम कृषकहरुलाई दिइने अनुदान सम्बन्धमा प्रभावकारी व्यवस्थाको लागि कृषकलाई दिइने अनुदान सम्बन्धी कार्यविधि निर्माण गरी कार्यान्वयन गरिने छ ।

धन्यवाद ।