FLASH NEWS
  • Loading...

कुकुर व्यवस्थापन कसरी ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६५ पटक पढिएको
कुकुर व्यवस्थापन कसरी ?

बढ्दो शहरीकरणसँगै सडकमा देखिने कुकुरहरूको संख्या औधि बढेको महसुस भइरहेको छ। कुकुरको संख्या बढेसँगै तिनको टोकाइको शिकार हुने क्रम पनि बढेको छ । गाउँमा भन्दा शहरका कुकुरहरूले मानिसलाई टोक्ने गरेको र टोकाइका घटना पनि शहरी क्षेत्रमा बढी हुने गरेको तथ्यांक छ ।
सामुदायिक कुकुरको दिसाबाट हुने प्रदूषण, कोलाहल तथा यौनक्रियाकलापबाट मानव समुदायमा हुने बेइज्जति पनि मानिसले सहनु परेको छ।
प्राकृतिक खान्कीमा रहेको कुकुरको दिसामा अलि कम हानिकारक वस्तु हुन्छन् तर शहरमा बस्ने कुकुरको खान्की (मानव समानको भोजनमा बाँचेकाहरूको) दिसा मानवको भन्दा खास भिन्न पनि हुन्न। अझै कतिपय परजीवीको लागि त कुकुरको दिसा सारै रुचाइएको खाना र सुरक्षित बासस्थान हो। कोरनेल विश्वविद्यालय,भेटेरिनरी मेडिसिन कलेजको अध्ययन टोलीको विवरणअनुसार अंकुशे जुकाको खानी कुकुरको जीउ र दिसा हो ।
अर्को तथ्यांक छ – एक ग्राम दिसामा दुई करोड ३० लाख वटा कोलिफर्म व्याक्टेरियाहरू हुन्छन् जसले मानवजगतमा झाडापखाला,आन्द्रामा समस्या,मृगौलाको रोग निम्त्याउँछन्। इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सी(ईपीए)का अनुसार उत्तरी भर्जिनियामा ११ हजार चार सय कुकुर छन् उनीहरूले दैनिक पाँच हजार पौण्ड दिसा गर्छन् । सो दिसा ले स्थानीय नदीलाई ब्याक्टेरियामय बनाएको छ।
कुकुरको दिसाबाट जार्डिया, गालोजुका, सालमोनेला,ई.कोली,कोरोना भाइरस, कोम्पीलोब्याक्टर, क्रिप्टोसोरिडियम, स्ट्राफाइलोकोकोस लगायत औषधीप्रतिरोधी अनेकन सूक्ष्मजीवाणु र अन्य रोगका कारक जीवहरू फैलिन्छन् । मानिस र कुकुरमा आलोपालो गर्दै सरी सरी जीवन चक्र पूरा गर्ने थुप्रै दोजीवआश्रित(डाइजेनेटिक) जुका र कीरा वर्गका परजीवीहरू छन्। खासमा एउटा कुकुरले गरेको दिसा एउटा मानिसले गरेको भन्दा धेरै हानिकारक हुन्छ, कम घिन भएर मात्र मानिसले सहँदै आएको छ।
शहरी फोहोरको बढ्दो मात्रा कुकुरले उत्सर्जन गर्ने दिसाले वास्तवमै नजानिदो किसिमले मानव जीवनलाई जोखिममै राखेको छ। एक प्रारम्भिक अध्ययनअनुसार विराटनगरमा करिब चार हजार सामुदायिक कुकुर रहेको जानकारी छ। अन्य ठूला शहरहरूमा के अवस्था छ सबैतिर अध्ययन भइसकेको छैन। तथापि सामुदायिक कुकुरबाट भएको अक्रान्त स्थिति निकै सोचनीय छ। अनि, यीनको व्यवस्थापन आज चुनौति बन्दै आइरहेको छ।
एक आधिकारिक सरकारी तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष ०७१/०७२ मा १७ हजार ३२० जना मानिस कुकुर टोकाइको शिकार भएका थिए। ०७३/०७४ मा आउँदा ३७ हजार २२६ जना शिकार हुन पुगे। कुकुरको टोकाइबाट हुने रेबिज रोगका कारण विश्वमा ५९ हजार मानिस सालिन्दा मर्ने गरेको तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको छ। इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको एक प्रतिवेदनले रेबिजका कारण ३२ जना मानिस मरेको जनाएको छ। जति मानिस रेबिज लागेर मर्छन् सोको ९९ प्रतिशत कुकुरकै टोकाइबाट हुने गरेको छ। संसारमा १५० देशहरू रेबिजबाट पीडित बनिरहेका छन्। रेबिज सीधा देखिने कुकुरद्वारा प्रसारित रोग भयो तर प्रत्यक्ष नदेखिने कुकुरका जीउमा बस्ने परजीवीबाट मानिसमा आउने रोगको संख्या दर्जनभन्दा पनि बढी छ।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा रेबिजमुक्त धरतीको लक्ष्य लिएको छ। सोहीअनुसार संसारभर अभियान चलाइएको छ । नेपाल सरकार पनि जोडतोडले सो लक्ष्य हासिल गर्न लागी परेको छ।
पहिला पहिला शहरीया सडकमा डुली हिँड्ने कुुकुरलाई मारेर नियन्त्रण गर्ने उपाय अपनाइएको थियो। पछि पशुअधिकारको कुरा व्यापक रुपमा उठेपछि यो अभियान रोकिएको छ। अब कसरी कुकुर व्यवस्थापन गर्ने भनेर सरोकारवालाहरूले मन्थन गरिरहेका छन्। संसारमा चलेको चलन चाहिँ प्रथमतः मार्ने नै थियो र हो पनि। यसलाई निरन्तरता दिन नसक्दा अर्को प्रयास गर्न खोजियो। त्यो हो समातेर एउटा ठूलो क्षेत्रफलमा तारबार गरी थुनेर राख्ने । यो पनि स्थायी समाधान होइन। सानो खर्चले चल्न पनि सक्दैन।
विभिन्न अनुसन्धानहरू भएर अब मूलतः कुकुर व्यवस्थापन गर्न केही उपाय लगाउन सकिन्छ । सबैभन्दा उत्तम तरिका बन्ध्याकरण हो। लट्याएर बन्ध्याकरण गरिदिए पछि उत्पादन घट्दै जान्छ । मानिसका क्रियाकलापले कुकुर सडकमा उत्रिएका भने अवश्य हुन्। तसर्थ कुकुरबाट मानवजगतमा र वातावरणमा हुने हानीका बारेमा जनचेतना जगाउन आवश्यक छ।  दोष कुकुरलाई मात्र होइन कतै हामीले नै नजादिँदो तालले सामुदायिक कुकुर बनाइरहेका छैनौ ?