FLASH NEWS
  • Loading...

कृषीमा लगानी गर्दै म्याग्दीका ‘हाईप्रोफाईल’

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२० पटक पढिएको
कृषीमा लगानी गर्दै म्याग्दीका ‘हाईप्रोफाईल’

म्याग्दी, १२ साउन ।

देशका विभिन्न पेशा र ब्यवसायमा स्थापित अगुवाहरुले ठूलो लगानीमा जिल्लामा ब्यवसायीक कृषी फार्म संञ्चालन गरेका छन ।

राष्ट्र वैंकका पूर्व निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, कृषी बैज्ञानिक टीकाबहादुर कार्की, कृषी विज्ञ कृष्ण थापा, कुखुरा विज्ञ मनप्रसाद कंडेल,, माहुरी विज्ञ धनीलाल जैसी समेतले जिल्लाका लगानीकर्ताको अर्गानिक कृषी फर्म संञ्चालन गरेका हुन ।

सुजना श्रेष्ठले नेतृत्व गरेको हरियाली ग्रुप प्रालिमा ६ करोडबढी लगानीमा ब्यवसायीक कृषी फर्म सुरु गरेको छ । जिल्लामा कृषी ब्यवसायमा पछिल्ला बर्ष लगानी बढ्दो छ । ब्यवसायीक तरकारी, मासु तथा दुधजन्य उत्पादनका क्षेत्रमा लगानी थपिने क्रम बढेको छ ।

बेनी नगरपालिका, ४ सिङ्गामा १ सय ६० रोपनी जग्गा भाडामा लिएर हरियाली ग्रुपले ७ महिनादेखी तरकारी, कुखुरा, माछा र माहुरी पालन ब्यवसाय सुरु गरेको हो । पुष्पखेती तयारीमा छ । उन्नत बोयर जातका बाख्रा र वन्य पंक्षी कालिज पाल्न खोर निर्माण तयारी रहेको हरियाली ग्रुपले वन्य जन्तु मृग पाल्न कानुनी प्रकृयामा लागेको जनाएको छ ।

‘म्याग्दीको कृषी क्षेत्रमा गरिएको यो ठूलो ब्यवसायीक लगानी हो । पूर्वाधार थप्दै र विस्तार गर्दै लैजाने योजनामा छौं । अर्गानिक कृषी ब्यवसायबाट रिसोर्ट देखी कृषी रिलेटेड क्षेत्रमा लगानी बढाउने ड्रीम प्रोजेक्ट हो’ निर्देशक शेरबहादुर केसीले भने, ‘समुहमा आवद्ध नभएका कृषकलाई अर्गानिक तरकारी, माशुजन्य उत्पादन तथा फलफुल खेतीमा उत्प्रेरित गर्ने अनुदान दिने र उत्पादित वस्तु खरिद गर्ने पनि गरेका छौं ।’

१९ जना संस्थापकले स्थापना गरेको हरियाली ग्रुपमा अहिले १ लाखदेखी १० लाख रुपैयाँसम्म लगानी हाल्ने ५० जना शेयर सदस्य छन । समुहले ६ करोडबढी लगानीमा हाईटेक प्रविधीको प्लास्टिक घरमा अर्गानिक ताजा तरकारी खेती सुरु गरेको छ । त्यसैगरी लेयर्स र बोईलर कुखुरा, माछा र माहुरी पालेको छ । पुष्पखेती, स्थानीय जातका कुखुरा, उन्नत जातका बोयर बाख्रा, वन्य पंक्षि कालिज पाल्न तयारी भैरहेको छ । वन्य जन्तु मृग पाल्न कानुनी प्रकृया थालिएको छ ।

हरियाली अर्गानिक कृषी फर्मले पछिल्लो एक महिनादेखी उत्पादन बजार पुर्‍याउन थालेको छ । एक महिनामा १० लाख मुल्यको टमाटर, घिरौला, लौका, भिण्डी, खुर्सानी, करेला, काँक्रा समेतका तरकारी, २२ लाखको माशु, २ क्वीन्टल माछा, २ लाख मुल्यको खर्वजा निकासी गरेको छ । यहाँका माशु फ्रिज जडित गाढीबाट मुस्ताङ्गका होटलमा निर्यात हुने गरेको छ । फर्ममा ४० जनाले न्यूनतम १५ देखी ४० हजारसम्म पारिश्रमिक पाउनेगरी प्रत्यक्ष रोजगारी पाएका छन ।

‘७ महिनाको अवधिमा भौतिक पूर्वाधार निर्माणसँगै गरिएको कृषी उत्पादनबाट उत्साही छौं । कार्यरत सवै ४० जना स्थानीय छौं’ प्रवन्ध इन्चार्ज भगवान खड्काले भने, ‘ माछा थप्ने र आगामी ३ महिनापछि दैनिक १५ हजार अण्डा टिप्न छुट्टै घन्टा सिस्टममा कामदार थप्ने योजनामा छौं ।’

समुहले अहिले एउटा हाईटेक समेत १२ वटा ठूला टनेलमा गोलभेडा समेत मौषमी/वेमौषमी तरकारी खेती गरेको छ । ३ सय क्वीन्टल तरुलका वेर्ना रोपिएको छ । १५ हजार लेयर्स, २५ हजार बोईलर कुखुरा छन । थप १५ हजार कुखुराको चल्ला हाल्ने तयारी भएको छ । २७ हजार माछा छन । माछा भर्खर झिक्न योग्य भएका छन । थप एक लाख ५० हजार माछाका भुरा नर्सरी पोखरीमा हुर्कदैछन, तीन महिनाभित्र यी ठूला पोखरीमा सारिने छ ।