FLASH NEWS
  • Loading...

पुर्णस्वाद नपस्दै मुस्ताङका स्याउ झर्न थाल्यो बजार

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • १३५ पटक पढिएको
पुर्णस्वाद नपस्दै मुस्ताङका स्याउ झर्न थाल्यो बजार

स्याउमा रंङ चढेको र स्वादमा गुलियोपन भरिदै गएपछि मुस्ताङको स्याउ बजारमा आई पुगेको छ ।
रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर मापन गर्दा न्युनतम मापदण्ड १२ प्रतिशतबढी गुलियोपना देखिएपछि असोजा १ गतेबाट बजार पठाउन थालिएको प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन कार्यालय मुस्ताङले जनाएको छ । कृषी प्राविधिकहरुका अनुसार मुस्ताङका स्याउमा वास्तविक स्वाद आउने समय कात्तिक हो । असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ ।
गाला, किङरोट जातका छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सीटी रहेको हाईव्रिड) स्याउ भने भदौ चौंथो साताबाटै बजारमा जान थालेको थियो । अहिले फुजी, जोनाप्रिन्स, गोल्डेन डेलासिस जातका हाइडेन्सीटी हाईव्रिट तथा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड र फुजी जातका स्याउ बजार पठाउन थालिएको हो ।
मुस्ताङ्गी स्याउ बजार झर्न थालेसँगै चिनियाँ तथा भारत कास्मीरि स्याउको मुल्य विस्थापन गर्न थालेको छ । मुस्ताङ्गी स्याउ बजारमा गुणस्तर हेरी एक सय ८० देखी २ सय रुपैयाँमा पाईन थालेपछि प्रति केजी ३ सय ५० देखी ४ सय रुपैयाँमा विक्रि भैरहेको चीनियाँ तथा भारतीय स्याउ विक्न छोडेको बेनीका फलफुलका थोक ब्यापारी कृष्ण अर्यालले बताए ।

ब्यापारी अर्यालका अनुसार मुस्ताङबाट स्याउको भोलुम बढेकोले मुल्य घटेको छ । पुरानो मुल्य विस्थापन भएको छ । बेनीमा ए ग्रेडका गोल्डेन र रेडको मुल्य १ सय ९० प्रतिकेजी र सि ग्रेडको स्याउ प्रति केजी एक सय ७० रुपैयाँमा खुद्रा विक्रि भैरहेको छ ।‘मुस्ताङमा स्याउ पाक्न थालेको छ । मुस्ताङ्गी स्याउको ब्राण्ड र मुल्य कायम राख्न कृषकविच असोज नलागी स्याउ बजारमा नपठाउने भन्ने भद्र सहमति थियो । अहिले स्याउमा आउनु पर्ने गुलियोपना प्रयाप्त आईसकेकोले बजार पठाउन थालेका हौं । यद्यपी छिटो पाक्ने जातका हाईब्रिज जातका केही स्याउ भदौ चौंथो सातादेखी नै बजार पठाउन थालेका थियौं’ मुस्ताङको सवैभन्दा ठूलो निजी स्याउ बगान सिम्ले अचार्डस प्रालिका कर्म गुरुङले भने, ‘रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर नाप्दा १० देखी १४ प्रतिशतसम्म गुलियोपना पुगेको छ ।’
मुस्ताङका अगुका स्याउ कृषक गुरुङले थपे, ‘एउटै बोटका सवै फलमा त समान गुणस्तर हुँदैन । सुरुमा फलेका तथा सोझो घाम पर्ने स्याउका दानामा बढी गुलियोपना र भित्र पछि फलेका स्याउमा गुलियोपना कम पसेको सक्छ । पारिलो–ओसेपिलो, तल्लो–माथिल्लो क्षेक्र तथा स्त्रिनिङ गरे–नगरेको आदी आधारमा स्याउको गुणस्तर फरक पर्छ । ब्यापारीले असोज लाग्यो भन्दैमा ग्रेडिङ नगरी स्याउ बजार पठाउँदा उपभोक्ताले गुणस्तरीय नपाउन पनि सक्छन ।’
मुस्ताङका कृषकले स्याउ टिप्ने निर्णय गरेसँगै ब्यापारीहरु हात–हातमा पैसा बोकेर कृषकको बगैचामा पुगेका छन । मुस्ताङमा ब्यापारीले कृषकको बगैचामा पुगेर स्याउ फलेको हेरेर अनुमानको भरमा बगान नै ठेक्का लिने चलन छ ।


कृषकका स्याउ बगान नै ब्यापारीले वोलकवुलबाट ठेक्का बढाबढगरी खरिद विक्रि हुने गरेकोले कृषकको बारीमै स्याउको मुल्यमा एकरुपता छैन । बजारले मुल्य निर्धारण गर्न खुल्ला राखिएकोले भुगोल, गुणस्तर र समय अनुसार स्याउको मुल्य फरक पर्ने गरेको कृषी ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
‘स्याउको गुणस्तर कायम राख्न यहाँका स्थानीय तह र हामी मिलेर स्याउ टिप्ने न्यूनतम समय असोज तोकेका हौं । मुल्य भने खुल्ला बजारले निर्धारण गर्ने भएकोले ब्यापारीले आफ्नो सामानको गुणस्तर अनुसार मुल्य निर्धारण गर्ने गरेका छन’ कृषी ज्ञान केन्द्र मुस्तााङका प्रमुख प्रकाश वास्ताकोटीले भने, ‘उही स्याउ ठूला डिपार्टमेन्ट स्टोर र साना खुद्रा पसलमा मुल्य फरक पाईन्छ । एउटै बोटको पनि ठूला, पाकेका स्याउको मुल्य धेरै र साना, अलि नपाकेका छनौटा स्याउको मुल्य थोरै पर्ने हुन्छ । केही ब्यापारीले नाफाकालागी सवै ग्रेडका स्याउ मिसाएर बेच्ने गरेका छन ।’
प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना स्याउ जोन इकाई कार्यालय मुस्ताङका अनुसार मुस्ताङमा मुस्ताङमा १ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा स्याउ खेती र ५ सय हेक्टरमा स्याउ रहेका स्याउबाट उत्पादन हुन्छ । स्याउ खेती भएकोमध्य ३८ रोपनी क्षेत्रफलमा उच्च घनत्वमा आधारित ५ जातका स्याउको खेती भैरहेको छ । मुस्ताङमा १४ दशमलव २ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको छ ।
गत वर्ष ६ हजार ६ सय मेट्रिक टन स्याउ जिल्ला बाहिर विक्रिगरी ७२ करोड रुपैयाँ मुस्ताङका कृषकले कमाएका थिए । यो वर्ष ८ हजारबढी मेट्रिक टन स्याउ उत्पादन हुने प्रक्षेपण छ । तर यो वर्ष हिउँदमा प्रयाप्त हिउँ नपरेको र फुल्ने बेलामा असिनापानी परेकोले उच्चघनत्वबाहेकका स्याउको उत्पादनमा केही कमी आउन सक्छ ।
‘स्याउको आधारभुत गुलियोपना आईसकेकोले कृषकले स्याउ टिपेर बजार पठाउन थालेका छन । कृषकले आफुखुशी ब्यापारीसँग मुल्यमा मोलमोलाई गरी बगान नै ब्यापारीलाई ठेक्का दिने गरेकाले स्याउको थोक मुल्य तोकिएको छैन । स्याउको जात, गुणस्तर र भुगोलले स्वादमा फरक पर्ने भएकोले स्याउको मुल्य पनि कृषक र ब्यापारी विच नेगोसेसनमा हुने गरेको छ’ स्याउ जोन मुस्ताङकी नायव प्राविधिक सहायक यमुना लामाले भनिन, ‘सितोष्ण बागवानी विकास केन्द्र मार्फाले भने स्याउको मुल्य तोक्ने प्रकृयामा छ ।’
मार्फाको सरकारी स्याउ बगानमा बार्षिक ३० मे.टन स्याउ उत्पादन हुन्छ । केन्द्रको बगानमा उत्पादित स्याउको दाना बाहेक मदिरा पनि उत्पादन गरी विक्रि गर्छ । केन्द्रका अनुसार बागवानी केन्द्रले स्याउको ब्राण्डी २ हजार लिटर, साईडर ३ सय लिटर र आरुवखडाको वाईन ४ सय लिटर उत्पादन गर्दै आएको छ ।
मोटरबाटो पुगेपछि मुस्ताङका कृषकले वारीमै स्याउको राम्रो मुल्य पाएका छन । तर ब्यापारीको मुल्यमा कार्टेलिङ गरेकोले बारीको मुल्य भन्दा धेरै बढी मुल्य तिर्न बाध्य छन । मुस्ताङबाट ट्रकमा स्याउ ढुवानी गर्दा बेनीसम्म ८ रुपैयाँ र पोखरा पुर्‍याएको १२ रुपैयाँसम्म प्रतिकेजी मुल्य पर्ने गरेको छ ।
मुस्ताङ्गको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ्ग, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ्ग, लुप्रा, ताम्बे, छुक्साङ, चैले आदी गाउँमा स्याउको राम्रो खेती गरिन्छ । मुस्ताङको घरपझोङ, वारागुङमुक्ति क्षेत्रमा स्याउ पकेट क्षेत्र हुन । थासाङको टुक्चे, कोवाङ क्षेत्रमा केही खेती हुन्छ । उपल्लो मुस्ताङका लोघेकरदामोदरकुण्ड र लोमन्थाङमा पनि स्याउ खेती विस्तार भएको छ । तर प्रतिफल राम्रो आएको छैन ।
फस्टाउँदै हाईब्रिड स्याउ
खेती भएकोमध्य ३८ रोपनी क्षेत्रफलमा उच्च घनत्वमा आधारित गाला, किङरोट समेत ५ जातका स्याउको खेती भैरहेको छ ।
मुस्ताङमा हाइडेन्सीटी रहेको हाईव्रिड स्याउको ब्यवसायीक र ठूलो क्षेत्रफलमा खेती गर्ने सिम्ले अचार्डस प्रालि हो । प्रालिले बार्षिक २ सय मेट्रिक टन स्याउ उत्पादन गर्ने जनाएको छ ।
‘हाइडेन्सीटी रहेको हाईव्रिड स्याउबाट तीन वर्षदेखी प्रतिफल लिन थालेका छौं । गत वर्ष २ करोडको स्याउ विक्रि गरेको थियौं । यो वर्ष स्याउ वेचेर ३–४ करोडसम्म आम्दानी हुन्छ भन्ने अनुमान छ’ उच्च घनत्वमा आधारित स्याउको ब्यवसायीक उत्पादन थालेका सिम्ले अचार्डस प्रालि अध्यक्ष कर्म गुरुङले भने, ‘मैले विभिन्न ७ स्थानमागरी ४ सयबढी रोपनी क्षेत्रफलमा हाइडेन्सीटी स्याउ रोपेको छु । अवका तीन वर्षमा उत्पादन दोब्बर बनाउने लक्ष्य छ ।’ गुरुङले थपे, ‘हाइडेन्सीटी स्याउमध्य पनि छिटो पाक्ने गाला र किङरोट जातका स्याउ धमाधम टिपिरहेका छौ । अरु जातका पनि टिप्न थालेका छौं ।’
गुरुङले सिम्लेका स्याउ फल्ने बेलादेखी नै स्क्रिनिङगरी ग्रेडिङ गरिएकोले गुणस्तरिय भएकोले मुल्य पनि अन्य कृषकका स्याउ भन्दा महंगो छ ।
‘हामी गुणस्तरमा बढी चनाखो भएकोले सिम्ले ब्राण्ड स्थापित गर्न खोजेका छौं । हाम्रो फर्ममा उत्पादित स्याउको मेशिनमा गुणस्तर नापेर, ग्रेडिङ गरी आफैले काठमाण्डौमा पुर्‍याउने गरेका छौं ।’