FLASH NEWS
  • Loading...

प्रेरणादायी युवा ः भाँडा धुन आएका राजन बने, होटल मालिक

  • पुनहिल डट कम
  • ७ महिना अघि
  • २५६ पटक पढिएको
प्रेरणादायी युवा ः भाँडा धुन आएका राजन बने, होटल मालिक

आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउँछ । सपना देख्नेहरु कहिल्यै थाक्दैनन, निरन्तर कर्म गरिरहन्छन । तिनै सपना देख्ने भुईमान्छे मध्यका हुन, राजन लामा (३६) ।
होटलमा भाँडा धुने मजदुरका रुपमा बेनीमा आएका लामा अहिले बेनीका स्थापित होटल ब्यवसायी बनेका छन । लामाले सदरमुकाम बेनीको हस्पिटलचोकमा ‘लामा कुदाप लज एण्ड रेष्टुरेन्ट’ खोलेका छन । होटल एण्ड रेष्टुरेन्टमा नेपाली, इण्डियन र कन्टिनेन्टल खानाकालागी लोकप्रिय छ । होटलमा आर्कषक सभाहल सहित लक्जरी ९ वटा सहित १८ वटा कोठा छन । लजमा ७० जना पाहुना बास बस्न सक्छन ।


लामाको बेनीमै छुट्टै ‘लामा रेष्टुरेन्ट एण्ड भान्सा घर’ पनि चलाएका छन । १० बर्षदेखी होटल मदजुरी छोडेर ६ लाख लागतमा आफ्नै सानो ‘लामा रेष्टुरेन्ट एण्ड भान्सा घर’ खोलेर ब्यवसाय सुरु गरेका राजनले बेनीको हस्पिटलचोकमा ६ करोडबढी लागतमा आफ्नै भवनमा ‘लामा कुदाप’ होटल सुरु गरेका छन । लामाले जोडिएकै भवनमा चार बर्षदेखी भाडाको घरमा होटल ब्यवसाय चलाउँथे । भदौ १ गतेदेखी आफ्नै घरमा सरेका हुन ।

लामाले छुट्टै मासिक एक लाख ७० हजार भाडा तिरेर लामा रेष्टुरेन्ट एण्ड भान्सा घर पनि चलाएका छन । होटल र रेष्टुरेन्ट पनि फरक र आर्कषक शैलीमा सजाएका छन । ग्राहकले शान्त वातावरण र फरक लुक्स पाउँछन । लामाले होटलका कोठाहरु जिल्लाका पर्यटकीय स्थल र जिल्लाका हिमालहरुको नामबाट राखेका छन । होटल, डायनिङ, लिभिङ समेत सवै कोठाका पर्खालमा कालीगण्डकीको ‘देवशिला’ले सँजाएका छन ।
‘म कहाँको नुवाकोटबाट म्याग्दी आएको सानो फुच्चे म । होटलमा भाँडा धुँदा एक दिन म पनि यस्तै होटलको मालिक बन्छु भन्ने संकल्प गर्थें । अहिले त्यही मजदुर मालिक बन्न सकेको छु’ तन्नेरी ब्यवसायी राजन लामाले भने, ‘१४–१५ बर्षको उमेरमा रोजीरोटी खोज्न गन्तब्यहीन यात्रामा निक्लेको थिएँ । आज जे गर्न सकेको छु, खुशी छु, सवैको आर्शिवादले अझ काम गर्न उर्जा मिल्छ ।’
होटलमा भाँडाधुने मजदुरको रुपमा १८ बर्ष अघि ०६२ सालमा राजन बेनी भित्रिएका हुन । अहिले उनी मजदुरबाट सफल होटल ब्यवसायी बन्न सफल भएका छन । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका, ३ मझुवाका राजन लामा घरको आर्थिक अवस्था कमजोर भएपछि कक्षा ८ पढ्दै घरबाट भागेर काठमाण्डौ झरेका थिए । काठमाण्डौमा एक बर्ष होटलमा भाँडा धोएपछि अझ राम्रो कामको खोजीमा ०५९ जेठ १५ गते काठमाण्डौबाट बाग्लुङ हानिए । बाग्लुङमा तीन वर्ष भाँडाधुने, खाना पकाउने र होटल सरसफाई गर्ने मजदुरी गरे ।
त्यसपछि ०६२ असारमा बाग्लुङबाट बेनी पुगे । र बेनी स्थित होटल डल्फिनमा मजदुरी सुरु गरे । होटलमा पनि भाँडा माझ्ने, कोठा सफा गर्ने, खाना पकाउने सवै काम गर्थे । होटल संञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी श्रेष्ठले लामाको काम र मेहिनतबाट प्रभावित थिए । लामाले होटल डल्फिनमा मजदुरी मात्र गरेनन, सफल हुन काममा सर्मपण हुनु पर्छ भन्ने बुझे । भान्सा ब्यवस्थापन, अतिथि सत्कार र कर्मचारी ब्यवस्थापनको सीप आर्जे । १० बर्ष डल्फिनमा काम गरे ।
यही होटल डल्फिन नै लामाको जीवनमा टनिङ पोईन्ट बन्यो । श्रेष्ठ दम्पत्तिले लामालाई विहान–बेलुका होटलको काम हेर्नेगरी नजिकको प्रकाश माध्यामिक विद्यालयमा भर्ना गरिदिए । त्यहींबाट प्राईभेट एसएलसीहुँदै ब्वस्थापन विषयमा १२ कक्षासम्मको अध्ययन पुरा गरे । लामाले यही होटल डल्फिनमा काम गर्दै बाग्लुङकी सारिका थापा मगरसँग प्रेमपछि विवाह गरे । डल्फिन होटलले धुमधामसँग विवाह गरिदियो ।
‘राजन एउटा सपना बोक्ने तन्नेरी हो । म सुरुवाती रोजगारदाता भएपनि राजको फरक कन्सेप्ट तथा आईडिया भएको हिक्मतीला युवा हुन । टाढाको जिल्लाबाट फरक समुदाय, संस्कृति र रहनसहन भएको ठाउँमा मजदुरबाट मालिक बन्नु चानचुने आँट, साहस र मेहिनत परेको छैन’ लामा कुदाप रेष्टुेन्टमा साथीभाईसँगै खाजा खान आएका सुरुआती रोजगारदाता होटल डल्फिनका संञ्चालक हरीकृष्ण श्रेष्ठले भने, ‘राजनले युवा तथा पछिल्लो ट्रेनलाई एउटा कन्सेप्टमा उतारेर काम गरिरहेका छन । खुशी लागेको छ ।’

१८ बर्ष अघि होटल मजदुरको रुपमा बेनी आएका राजनले ०७२ सालको भदौ १ गतेदेखी आफ्नै पारिश्रमिक, श्रीमतिको केही पैसा र बेनीका साथीभाईले सापट दिएको ६ लाख रुपैयाँबाट ‘लामा रेष्टुरेन्ट एण्ड भान्सा घर’ खोलेर ब्यवसायीक यात्रा सुरु गरेका हुन । भुकम्प, नाकावन्दी, कोरोनाकहर तथा आर्थिक मन्दीले चेपुवामा पनि राजनले आफ्नो ब्यवसाय फस्टाउँदो छ । १० बर्ष अघि ६ लाखमा सुरु गरेको रेष्टुरेन्टबाट आर्थिक हैसियत, ब्यवसायी सिप र ग्राहक तथा वित्तियसंस्थाको विश्वासमा बढोत्तरी गराएका लामाले ६ करोडमा आफ्नै स्वामित्वको होटल ब्यवसायमा उक्लेका छन । कुनै काम सानो वा ठूलो हुँदैन भन्ने बुझेका राजनले अहिले कर्मको फल टिपिरहेका छन । ब्यवसाय राम्रो चलेको छ । कमाई राम्रै छ ।

‘डल्फिन होटल र नानुकुमारी श्रेष्ठले कर्मसँगै भाग्य दिनु भयो । त्यहाँ मैले पाहुनाको सत्कार गर्न सिकें । निरन्तर लगनशिल, इमान्दारी र धर्य भै कर्म गर्न सिकायो’ राजन लामाले भने, ‘जीवनमा प्रगति गर्न शिक्षा चाहिन्छ । अझ पढेर भन्दा परेर सिकिने रहेछ । सिक्ने इच्छाशक्ति र लगनशिलता आवशयक रहेछ ।’ लामाले थपे, ‘ब्यवसायमा निरन्तर खटन नै महत्वपूर्ण छ । काम ठूलो सानो हुँदैन । ठुलो नाक गरेर ब्यवसाय चल्दैन ।’
लामाले थपे, ‘ मैले कहाँबाट ल्याएर धितो राख्नु र ? मेरो लगन, श्रम र विश्वासलाई ‘धितो’ सकारेर बैंकहरुले मलाई लगानी गरे । मैले विश्वासमा धोका दिने छैन ।’
जीवन संघर्षलाई नजिकबाट चिनेका राजन म्याग्दीमा मिहिनत गरे कुनै पनि ब्यवसायमा सफल भइन्छ भन्ने राम्रो प्रेरणाका श्रोत बनेका छन । यहाँका सञ्चार माध्यमहरुमा विज्ञापन बज्छन, छापिन्छन, ‘स्वदेशमै केही गर्छु भन्ने लाग्छ भने एक पटक लामा रेष्टुरेन्ट हेर्न र राजनलाई भेट ।’