FLASH NEWS
  • Loading...

बाढीले पुरेकाे कागवेनीमा खन्दा एक करोड ६५ लाखबढी पैसा भेटियाे

  • पुनहिल डट कम
  • ८ महिना अघि
  • २६३ पटक पढिएको
बाढीले पुरेकाे कागवेनीमा खन्दा एक करोड ६५ लाखबढी पैसा भेटियाे

हिमालपारीको मुस्ताङमा भारी बर्षपछि आएको बाढीले पुरेको कागवेनी बस्ती खोतल्दा पुरिएको एक करोड ६५ लाख बढी रुपैयाँ फेला परेको छ ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारी अनुसार उद्धारकर्ताले स्काभेटर र मानव जनशक्तिले पहिरो उत्खनन गर्दा पुरिएको प्रभु बैंक कागवेनी शाखाको ६५ लाख बढी र नेपाल इन्भेष्टमेन्ट मेगा वैंक कागवेनी शाखाको एक करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ नगद मौजाद रहेको ‘सेफ’ फेला परेको हो ।
थोरङ्लापास र मुक्तिनाथ क्षेत्रमा परेको अविरल बर्षापछि गत साउन २८ गते साँस स्थानीय कागखोलामा बाढी आउँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, ४ कागबेनी बस्ती पुरेको थियो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाका अनुसार कागखोलामा आएको बाढीले कागवेनीका २९ सर्वसाधारणका घर, ४ नम्बर वडा कार्यालय, इलाका प्रहरी चौकी पूर्ण रुपमा क्षति पुगेको थियो । जनशान्ती माध्यामिक विद्यालय भवन, मुक्तिनाथ अन्नक्षेत्र शन्तआश्रम धर्मशाला र १३ वना सर्वसाधारणको घरमा आंशिक क्षति पुगेको थियो । त्यस्तै, ९ वटा गोठसहित ३२ वटा गाई, घोडा र खच्चड पुरिएका थिए ।
बाढीको गेग्रान र लेदो वस्ती पसेपछि १६ वटा मोटरसाईकल, २ वटा जीप, कागवेनी स्थित श्राद्ध स्थल, श्रीकृष्ण मन्दीर, जोमसोम–कोरोला सडकको मोटरपुल, तिरी जोड्ने झोपु, ३ वटा काठेपुल र एउटा स्काभेटर पुरेको थियो । बाढीले पुर्‍याएको क्षतिको एकिन तथा विस्तृत विवरण संकलन भैरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।
‘बाढीले पुरेको क्षेत्र उत्खनन गर्दा दुई वटा बैंकको नगद फेला परेको छ । बाढीले कति क्षती पुर्‍याएको छ भन्ने एकिन डाटा संकलन भैरहेकोले राहत वितरण प्रभावित भएको छ’ प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘पालिकाले क्षतिको एकिन तथ्याङ्क संकलन गर्न सकेको छैन । घर पूर्ण क्षति भएका २९ जनाको नाम पनि प्राप्त नभएकोले प्रदेश सरकारले प्रति परिवार २५ हजारका दुरले पठाएको राहत पनि बुझाउन सकेका छैनौं ।’