FLASH NEWS
  • Loading...

वेर्ना वेचेरै बार्षिक २० लाख कमाउँछन, बरंजाका रेशम

  • पुनहिल डट कम
  • ९ महिना अघि
  • ५४२ पटक पढिएको
वेर्ना वेचेरै बार्षिक २० लाख कमाउँछन, बरंजाका रेशम

मंगला गाउँपालिका, ४ बरंजाका रेशम बुढाथोकीले यस वर्ष फलफुलका विरुवा वेचेर २० लाखबढी आम्दानी गरे । बुढाथोकीको ‘बरंजा नर्सरी फर्म’बाट सुन्तला, कागती, टिम्मुर र दाँते ओखरकागरी ४५ हजारबढी विरुवा स्थानीय मंगला गाउँपालिका, बाग्लुङको सिगाना, कुस्मीशेरा, कास्कीको ढिकुरपोखरी तथा कृषकलाई वेचेर २० लाख कमाएका हुन ।
‘देशविदेशमा हण्डर खाएर फर्केपछि गज्जवको नर्सरी ब्यवसायमा आएको छु । ब्यवसायबाट सन्तुष्ट छु । यो वर्ष २०–२२ लाखको कारोवार गरें । नर्सरीलाई चाहिने, मल, स्क्रिनिङ हाउस, आफ्नै श्रमको ज्यालासमेत लागत कटाएर बर्षको ७ लाखबढी नेट बचाउँछु’ बरंजा नर्सरी फर्मका रेशम बुढाथोकीले भने, ‘सामुदायीक वनको नर्सरीमा सिकेको शिप र ज्ञानलाई प्रयोग गरी फलफुल नर्सरी तर्फ लागें । तालिम र शिप भएकोले नर्सरीको मापदण्ड अनुसार विरुवा उत्पादन गरिरहेको छु ।’
समुद्र सतहदेखी १ हजार ६ सय ३० मिटर उचाईमा अवस्थित उनको नर्सरीमा उत्पादित विरुवाको लुम्ले कृषी अनुसन्धान केन्द्रका विज्ञबाट गुणस्तर नाप्न समय–समयमा स्वास्थ्य परिक्षण (पिसिआर) गराउने गरिएको बुढाथोकीले बताए । रुखविरुवामा पनि सरुवा र दिर्घरोग दुवै लाग्छ । सरुवा रोगको औषधी छर्केरु वा रोकथामको उपाय अपनाउन सकिन्छ । तर दिर्घरोग लागेको विरुवा कृषककालागी भारी पर्न जान्छन ।
‘विरुवामा सितस चिल्ला भन्ने एक प्रकारको ब्याक्टेरियाको प्रकोप हुँदा ग्रिनिङसिटी भन्ने दीर्घ रोग लाग्छ । विरुवा हेर्दा स्वस्थ्य देखिन्छ । तर १०–१२ बर्षको उमेर भै राम्रो फल दिने वेलामा विस्तारै मर्न थाल्छ, कुनै उपचारले काम गर्दैन’ कृषक बुढाथोकीले भने, ‘मेरो नर्सरीका विरुवा अहिले सम्म पूर्ण स्वास्थ्य छन । मैले विरुवाको लुम्ले कृषी अनुसन्धान केन्द्रका विज्ञबाट विरुवाको स्वास्थ्य परिक्षण (पिसिआर) गराई निरोगी विरुवा मात्र बेच्ने भएकोले केही महंगा छन ।’


त्यस्तै, बेनी नगरपालिका–३ भकिम्ली राखुकी मनकुमारी पुनले सुन्तलाजात बेर्ना उत्पादन गर्ने नर्सरीबाट बर्षेनी राम्रो आम्दानी गर्दै आएकी छिन । पुनको ‘आरती सुन्तलाजात तथा फलफुल नर्सरी’बाट वार्षिक ५ लाख नघटी कमाई भैरहेको छ । यही नर्सरीको कमाईले पुनले छोराछोरीलाई सहरका निजी स्कुलमा राखेर अँग्रेजी पढाई रहेकी छिन । उनले नर्सरीका वेर्ना रोगी नहुन भनेर पुनले स्क्रिनिङ हाउस बनाएकी छिन ।
‘मेरो नर्सरीमा सुन्तला र कागतीका मात्र बेर्ना उत्पादन गर्छु । यस वर्ष नर्सरीबाट विरुवा वेचेर ४ लाखजति र बारीका सुन्तला वेचेर ८ लाखबढी आम्दानी गरें । यो भिरको पाखोमा सुन्तला खेतीबाट राम्रो आम्दानी भैरहेको छ’ सुन्तला खेती गर्दागर्दै नर्सरी सिकें । वारीको सानो पाटोमा थोरै लगानीबाट नर्सरी गर्न सकिने र राम्रो आम्दानी हुने गरेको छ ।’
अन्नपूर्ण गाउँपालिका–३ दाना फगामका तेजेन्द्र थापाले १० हजार सुन्तला र कागतीका बेर्ना वेचेर यो वर्ष ३ लाख ५० हजारबढी कमाए । थापाले जस्तै दाना फगामका जोगबहादुर विक, गौमती वुढाथोकी, नयन्द्र पुर्जासमेत ५ जना नर्सरी ब्यवसायी छन । उनीहरुले कागती र सुन्तलाका विजु बेर्ना बेचेर ३ देखी ७ लाख रुपैयाँ कमाए ।
यहाँका सुन्तला र कागतीका बेर्ना स्थानिय अन्नपूर्ण गाउँपालिका बाहेक धवलागिरी गाउँपालिका तथथा बाग्लुङ, कास्की र गोर्खाका स्थानीय तहले खरिद गरी लगेका छन ।
‘थोरै मेहिनत, कम लगानीमा गर्न सकिने फलफुलको नर्सरीबाट आम्दानी राम्रो छ । मेहिनत र लगानीको तुलनामा धेरै आम्दानी त छ तर कर्मचारीतन्त्र र विचौलियाको कारण पुरै विरुवा खेर जाने जोखिमबढी छ’ अन्नपूर्ण गापा, ३ दाना फगाम स्थित सुमन एग्रो नर्सरीका जोगबहादुर विकले भने, ‘स्थानीय पालिकाहरु मार्फत विरुवाको माग आउँछ । कर्मचारी र विचौलियाले विरुवामा मोलमोलाई गर्छन । नवेचे वेर्ना नर्सरीमा वस्छ, बेचे मुल्य नै पर्दैन । कृषकले बढी मुल्य तिर्न बाध्य छन ।’ विकले थपे, ‘सवै पोल खोले अर्कोपटक देखी कुनै पालिकाले विरुवा किन्न आउँदैनन, नवोले किसान मुल्यमा मर्ने, कर्मचारी र विचौलिया मोटाउने हुने गरेको छ । दैलोको सरकार पनि उस्तै भ्रष्टाचारमा डुब्दै छन ।’
विरुवामा पनि विचौलिया सकृय छन । विचौलियले जिल्ला–जिल्लाका स्थानीय तहमा पुगेर अनुदानका विरुवा ल्याउन टेण्डर हाल्छन । टेण्डर स्वीकृत भएपछि ब्यापारीहरु नर्सरी पुग्छन र सस्तोमा वेर्ना उठाउँछन । वेर्ना उत्पादन गर्ने कृषकको अनुदानमा विरुवा वितरण गर्ने कार्यालय/निकायसम्म पहुँच नपुग्ने र सरकारी विधी प्रकृया पुर्‍याउन नसक्ने भएकोले विचौलियाले कतिमा टेण्डर गर्छन, कतिमा वेच्छन कृषकले पत्तै पाईदैनन ।
‘सरकारी कार्यालयमा पुगेर कोटेशन हाल्ने, मोलमोलाई गर्ने ढंग छैन, चिनजान पनि छैन । फलफुलका वेर्ना वेच्ने ब्यापारीले विभिन्न कार्यालयमा कोटेशन गरी महंगो मुल्यमा वेर्ना वेच्ने ठेक्का लिन्छन । हामीले तिनै ठेकदारलाई सस्तोमा वेर्ना वेच्छौं’ तेजेन्द्रले भने, ‘पहिला पहिला त कृषी कार्यालयबाट समय समयमा प्राविधिक आउँथे, नर्सरी अनुगमन गर्थे, सुझाव दिन्थे । मलविउ, विषादी सहयोग आउँथ्यो । दैलोमै सरकार आएपछि सहयोग बन्द भयो बरु विचौलिया पो धेरै आए । अनुदान परको कुरा उल्लो हामीसंग ढुवानी माग्छन ।’
जिल्लामा कम्तीमा १२ वटा सूचिकृत फुलफुलका नर्सरी सूचिकृत छन । ति नर्सरीले सुन्तला, कागती, ओखर, किवी, लिची, आँप समेतका फलफुलका वेर्ना उत्पादन गर्छन । सानो र गाउँको पाखोवारीमा पनि सजिलै गर्न सकिने नर्सरी ब्यवसायमा पुरुष र महिला उक्तिकै सत्रिय छन । घर छेउको जंगलबाट पर्स्याउला ल्याउँछन, गाईभैसीको गोवर मिलाएर कम्पोष्ट मल बनाउँछन । विउ पनि बाहिरबाट ल्याउनु पर्दैन । वारीकै सुन्तलाका बोटबाट ठूला र स्वस्थ दाना छानेर विउ झिक्छन । विरुवा उर्माछन ।
जिल्लामा फलफुलका वेर्ना उत्पादन गर्ने नर्सरीको स्थापना भने विस २०३० साल अघि नै भएको पाईन्छ । भेटिएको तथ्य अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ खिवाङका (साविक घारखिवाङ, पर्वत जिल्ला)का मेजर टेकबहादुर पुनले २०२७ सालमै पर्यटकीय वस्ती घोरेपानीमा ‘विकास फारम’ नामको फलफुलका बेर्ना उत्पादन गर्ने नर्सरी स्थापना गरेका थिए । हाल यो फर्म अहिले अस्तित्वमा छैन ।


त्यसैगरी ०४३/०४४ साल तिर तत्कालिन कृषी शाखाले गलेश्वरमा सरकारी स्वामित्वको फलफुल नर्सरी स्थापना गरी सुन्तला र कागतीका वेर्ना उत्पादन थालेको थियो । जिल्लाको पहिलो फलफुल नर्सरीबाट उत्पादित सुन्तला, कागतीका वेर्ना वरपरका कृषकलाई दुई–चार वटाका दरले बाँड्थ्यो । जुन नर्सरी बहुदल आएपछि भताभुङ्ग भयो । २०४५ साल तिर राखु, घार, तातोपानी, दाना क्षेत्रमा सुन्तलाको राम्रो खेती गरिएको थियो । अहिले जिल्लामा कतै फलफुलका वेर्ना उत्पादन गर्ने सरकारी नर्सरी छैनन ।
विसं ०४७ सालमा बेनी नगरपालिका, ३ भकिम्ली राखुका स्व. धनबहादुर रोकाले ‘धनश्री बागवानी फारम’ स्थापना गरी जिल्लामा सुन्तलाको ब्यवसायीक खेती थालेका थिए । उनै रोकालाई ब्यवसायीक सुन्तला खेतीका अगुवा कृषक मानिएको छ ।
जिल्लामा निजी क्षेत्रबाट सुन्तला जातका फलफुलका वेर्ना उत्पादन गर्ने ब्यक्ति भने अन्नपूर्ण गापा, ३ दानाका जोगबहादुर विक र बेनी गपा, ३ भकिम्ली राखुकी मनकुमारी पुन हुन । साविकको कृषी विकास कार्यालयले ०५९/०६० साल तिर नर्सरी तालिम दिएपछि सुन्तला र कागतीका वेर्ना जिल्लामै उत्पादन सुरु भएको हो । साविकको कृषी विकास कार्यालयले नर्सरीबाट विरुवा खरिद गरी कृषकलाई अनुदानमा वितरण गरेर फलफुल नर्सरीको प्रर्वद्धन थालेको थियो ।
‘जिल्लाको पहिलो फलफुल नर्सरी गलेश्वरमा तत्कालिन कृषी शाखाले स्थापना गरेको नर्सरी हो । जुन सफल भएन । निजी क्षेत्रबाट भने ०५८–०६० बाट भकिम्ली र दानामा कृषी विकास कार्यालयको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना गरिएको हो’ कृषी/वागवानी क्षेत्रमा कृषी प्राविधिक भै लामो समय काम गरेका सेवानिवृत्त भोगबहादुर थापाले भने, ‘जिल्लामा फलफुल (सुन्तला)को ब्यवसायीक खेती गर्ने अगुवा कृषक भकिम्ली राखुका धनबहादुर रोका र फर्म धनश्री बागवानी फारम हो ।’
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार जिल्लामा १ सय ७२ वटा कृषी सहकारी, समुह तथा निजी फर्मका ४३ हजार ६ सय ५२ ब्यवसायीक बोटबाट गत वर्ष ३ हजार ६ सय ९० मेट्रिक टन सुन्तला जिल्लाबाहिर निर्यातगरी २२ करोड १४ लाख नगद जिल्ला भित्राएका हुन ।
सुन्तला जोन कार्यालयको तथ्याङ्ढ अनुसार बेनी नगरपालिकाबाट सवैभन्दाबढी १ हजार ४ सय ११ मेट्रिक टन, मालिका गाउँपालिकाबाट ७ सय १० मे.टन, अन्नपूर्ण गापाबाट ६ सय ४४ मे.टन, मंगला गापाबाट ४ सय ९० मे.टन र थोरै रघुगंगाबाट ४ सय ३३ मेटन सुन्तला निर्यात भएको छ ।
प्रधानमन्त्री कृषी आधुनिकिरण परियोजना सुन्तला जोन कार्यालयको अभिलेख अनुसार जिल्लामा ३ हजार ७ सय ७७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ ।
‘म्याग्दीखोला, रघुगंगा र कालीगण्डकी नदीको दुवै कोखामा रहेका वस्तीमा सुन्तला खेतीको अनुकुल वातावरण छ । कृषकलाई थप ब्यवसायीक वनाउन तालिम, अनुदान र निरोगी बेर्ना उत्पादन/वितरण र रोगको उपचारमा कृषकको घरदैलोमा पुग्ने प्रयास गरेका छौं’ सुन्तला जोन कार्यालयकी नायव प्राविधिक सहायक रुपा विकले भनिन, ‘मौषम अनुकुल भए अर्को बर्ष कम्तीमा ५ हजार मे.टन उत्पादन बढाउने लक्ष्य छ ।ं’
सुन्तला जोन कार्यालयका अनुसार बेनी नगरपालिकाका नं ३, ४, ९ वडाका भकिम्ली, बास्कुना, नेप्टेचौर, अन्नपूर्ण गाउपालिकाको १–७ वडाका दोवा वेशी, भुरुङवेशी, दाना, नारच्याङ, घारा र हिस्तानको तल्लो क्षेत्र, रघुगंगा गापाको वडा १ बेगवान्दुक, २ भगवती, ३ पिप्ले र ५ झिंको पुछार क्षेत्र, मंगला गापाको कुहुँ, बाबियाचौर, अर्मन, बरंजासमेत सवै वडा र मालिका गापाको ४–७ का वडाका देविस्थान, ओखरवोट, विमलाई सुन्तला जोन बनाईएको छ । सुन्तलाको खेती हुने सवै वस्ती कम्तीमा हिउँदे सडक जोडिएका छन ।


गत वर्ष (०८० असार)मा जिल्लाका ६ वटा स्थानीय तहले सुन्तलाका २१ हजार १ सय ९५ वटा विरुवा (१ हजार ४ सय १३ रोपनी) कागतीका ४ हजार ३ सय १५ वटा (२ सय १६ रोपनी), किवी ६ हजार ६ सय वटा (३ सय ३० रोपानी), नास्पती २ सय वटा (१४ रोपनी), दाँते ओखर ३ हजार ८ सय ७५ (६ सय ४६ रोपनी), अंगुर ३ सय वटा (६ रोपनी) र आँप ६० वटा विरुवा (५ रोपनी) ५० प्रतिशत अनुदानमा वितरण गरेको तथ्याङक छ । कृषक आफैले किनेर रोपेका विरुवाको भने तथ्याङ्क लिन सकिएन ।
सुन्तला, कागती समेत फलफुलका बेर्ना विउबाट उत्पादित र कलमी गरिएका हुन्छन । प्रोजेक्टेड ग्रीनहाउस भित्रउत्पादित विजु बेर्नाको जिल्ला दररेट २५ रुपैयाँ गोटा मुल्य निर्धाण गरिएको छ । कलमी वेर्नाको भने ५५ देखी ६५ रुपैयाँ गोटा मुल्य निर्धारण गरिएको छ । जिल्लामा काउली, काँक्रा, खुर्सानी, कुरिलो, प्याज, घिरौंला समेतका तरकारीका नर्सरी, सुन्तला, कागती, किवी, जुनार, एभोकाडो, ओखर, मेवा आदिका नर्सरी छन ।
फलफुलको मात्र होईन, तरकारीजन्य नर्सरी पनि उत्तिकै मौलाएका छन । सिजन अनुसारका प्याज, बन्दा, काउली लगाएतका तरकारीका नर्सरीमा बेर्ना ब्यापार हुन्छ । खासगरी सहरी क्षेत्रमा कौषी खेती गर्ने बढसँगै तरकारीका बेर्ना उत्पादन गरी विक्रि गर्ने नर्सरीहरुले राम्रो आम्दानी गर्न थालेका हुन । घरायसी प्रयोजनकालागी काउली, ब्रोकाउली, बन्दा, प्याज, खुर्सानी लगाएतका तरकारीका बेर्ना उत्पादन गर्ने नर्सरी ब्यवसाय फस्टाउन थालेको छ ।
नर्सरी ब्यवसाय कम लागतमा, थोरै जनशक्ति र सजिलोसँग गर्न सकिने भएपछि जाँगरिला किसान नर्सरी ब्यवसाय तर्फ आर्कषित छन । नर्सरी ब्यवसाय ओझेलमा रहेको तर उदाउँदो ब्यवसाय हो । खासगरी तरकारीका वेर्ना उत्पादन गर्ने नर्सरीले थोरै लगानीमा मनग्य आम्दानी गर्न थालेका छन ।
‘कृषी नर्सरीमा छोटो समयमा थोरै लगानी र परिश्रम गर्दा राम्रो आम्दानी छ । १० फुट लम्बाई र ५ फुट चौडाई भएको नर्सरीमा उमारेका तरकारी बेर्नाबाट ५–७ हजारसम्म आम्दानी हुन्छ’ बेनी नगरपालिका, ५ कुमाल्नीका मनोज खड्काले सुनाए ।
सहरमा कौसी खेती गर्न थालिएसँगै ब्रोकाउली, बन्दा, काउली, काँक्रा, खुर्सानी, कुरिलो, प्याज, घिरौंला समेतका तरकारीका बेर्ना उत्पादन र विक्रि थप बढेको हो । कृषी नर्सरीमा तरकारी बेर्ना उत्पादन गर्ने कृषकलाई मात्र होईन, तरकारी पसल र स–साना खुद्रा पसल गर्नेले पनि प्याज, काउली, खुर्सानी, काँक्रा, घिरौला, करेला लगाएत तरकारीका बेर्ना वेचेरै राम्रो आम्दानी गर्ने गरेका छन ।
‘गाउँमा घरायसी खानाकालागी थोरै वारी/खेतमा तरकारी रोप्ने र सहरमा घरका कौसीमा तरकारी गर्नेले बेर्ना किनेर लैजाने गरेका छन’ सदरमुकाम बेनीको पिपलचोक स्थित तरकारी पसले देवेन्द्र सुवेदीले भने, ‘हामीले कृषकबाट प्याजका बेर्ना एक रुपैयाँको २ गोटा किनेर ग्राहकलाइ प्रति गोटा एक रुपैयाँमा र अन्य लहरे जातका तरकारीलाई प्रति गोटा ५ मा किनेर १०–१५ रुपैयाँ गोटामा बेच्ने गरेका छौं ।’ सुवेदीले थपे, ‘यो सिजनमा ४०–५० हजार तरकारीका बेर्ना बेचें । हाम्रो जिल्लाको हावापानीमा अझै लहरे तरकारीको बेर्ना उत्पादन र बेच्ने वेला अझै भएको छैन ।’
फलफुल र तरकारीका मात्र होईन, जिल्लामा यसैगरी डालेघाँस तथाबहुमुल्य काठ हुने सिर्मु समेतका वनपैदावरका वेर्ना उत्पादन गर्ने वन नर्सरी, टिमुर, लसुन, प्याज, कालो मरिच आदीउत्पादन गर्ने मसलेदार नर्सरी र सतुवा, अतिस, विषजरा समेतका विरुवा उत्पादन गर्ने जडिबुटी नर्सरी ब्यवसायीक रुपमा फस्टाएका छन ।
वनपैदावारको नर्सरी स्थापना गरी ब्यवसायीकरण गर्ने ब्यक्ति भने अन्नपूर्ण गाउँपालिका, ८ नागीका ८१ बर्षिय मतीबहादुर पुर्जा हुन । पुर्जाले ०३४ सालमा गाउँमा वन नर्सरी स्थापना गरी वेर्ना वेच्ने प्रचलनको सुरुआत गरेका थिए । लेकाली चाँप, सिर्मु, लोठसल्ला जस्ता बहुमुल्य वनपैदावर र डालेघाँसका वेर्ना नर्सरीमा उत्पादन गर्ने वेर्ना वेच्न थालेका हुन । नर्सरी बाजेले परिचित पुर्जाको नर्सरीको नारा छ, चिनारी, संरक्षण तथा संवद्धन ।
‘स्थानीय तहले पनि फलफुलका विरुवा विक्रि गर्ने भएपछि कार्यक्रम नदोहोरियोस् भन्ने उदेश्यले कृषी ज्ञान केन्द्रले यस वर्ष फलफुलका वेर्ना वितरण नगर्ने भएको छ ।
जडिबुटी धवलागिरी–१ गुर्जामा २ रोपनी र अन्नपूर्ण–२ भुरुङका धनवहादुर गर्वुजाले १२ रोपनीमा सतुवाको खेती गरेका छन ।