FLASH NEWS
  • Loading...

म्याग्दीमा तातोपानीको अर्को मुहान भेटियो

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • १०७८ पटक पढिएको
म्याग्दीमा तातोपानीको अर्को मुहान भेटियो

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तातोपानीको नयाँ मुहान फेला परेको छ ।
अन्नपूर्ण गाउँपालिका, २ भुरुङको कटुन्जेको पुछारमा पर्ने कालीगण्डकी नदी बगरमा तातोपानीको नयाँ मुहान फेला परेको हो ।
बेनी–जोमसोम सडकको भीरकाट–भिरच्याङ खण्ड (प्रस्तावित सुरुङ मार्ग रहने क्षेत्र)को पारीपट्टी कालीगण्डकी र दोवा खोलाको दोभान छेउको बगरमा चिसो भैरहेको र वाफ उडेको देखेपछि दोवा बेंसीका स्थानीले खन्दा तातोपानीको मुल निक्लेको हो ।


‘पोहोर हिउँदमा कटुन्जेको बगरमा वाफ उड्छ, बगरपनि पानी रसाएर चिसो भएको देखेपछि हामी गाउँका तीन–चार जनाले गल र बाउसोले खनेको तातोपानी निक्लेथ्यो । यो वर्ष फागुनमा फेरी गाउँलेहरु गएर कालीगण्डकी नदीबगर खोतलेर तातोपानीको मुल निकालेका हौं’ अन्नपूर्ण गाउँपालिका, १ दोवा वेंसीका स्थानीय गमबहादुर राम्जाली भने, ‘पोहोर हिउँदमा कुवा जस्तो बनाएर जगले तातोपानी खोप्दै नुहाउने गर्‍यौं । अहिले अलि ठूलो बनाएका छौं ।’
वस्ती छेउमा मोटरबाटोसँगै जोडिएको स्थानमा प्राकृतिक तातोपानीको मुहान फेला परेपछि स्थानीय उत्साही छन । अहिले स्थानीयले बगमा तातोपानी उत्खनन गरी ५–६ जना टुसुक्क बस्न मिल्ने पोखरी जस्तो बनाएका छन । ब्यवस्थित नभएकोले कालीगण्डकीको पानी तातोपानीको पोखरी तर्फ चुहिएर पानी चिसो बनाउँछ । फागुनदेखी मध्य वैशाखसम्म दैनिक १२–१५ जना यहीं दोवा क्षेत्रका बृद्धबृद्धा गै यहाँको तातोपानीमा डुबेर स्वास्थ्यलाभ लिएका थिए ।

‘म आमाा–बजैसँग सानो छँदा यही स्थानमा तातोपानी डुब्न आएको र कटुन्जे भीरजराको ओडारमा बसेर तातोपानी नुहाएको अलि अलि सम्झना छ’ दोवाबाट कटुन्जे तातोपानी डुब्न झरेकी ६७ बर्षिया लालमायाँ पुर्जाले भनिन, ‘पारी (ठाडो दोवाखोला) बस्छु । कालीगण्डकीको चिसोपानी चुहिएर तातोपानीको पोखरीमा निक्लने भएकोले पानी बुढाबुढीलाई डुब्न ठिक्क छ । पानीबाट विरेनुन वा अण्डा उमालेको जस्तो गन्ध आउँछ । पोखरीको तलबाट माथी पानी निक्लने भएकोले स्वाद चाखेको भने छैन ।’

पुर्जाले थपिन, ‘त्यो वेला ओढारमा अरु पनि मान्छे थिए । पोखरी कत्रो थियो, तातोपानीको मुल कत्रो थियो, कति मान्छे आउँथे भन्ने हेक्का छैन ।’
केही स्थानीय वृद्धबृद्धाहरुका अनुसार कम्तीमा ५५–६० बर्ष अघि पनि यही स्थानमा तातोपानीको पाोखरी थियो । दोवा, सुनारी, कटुन्जे क्षेत्रका मान्छेहरु यहाँ आएर नुहाउने र पोखरीमा डुवुल्कि लगाएर स्वास्थ्यलाभ गर्थे रे । अहिले भेटिएको तातोपानी जमिनबाट माथी भुलभुल निक्लन्छ । तातोपानीको स्रोत न ठूलो न सानो ठिक्कै छ । ब्यवस्थित पोखरी हुँदा २०–२५ जनासम्म एक पटकमा डुब्न मिल्ने पोखरी बनााउन मिल्छ ।


‘आमाहरुले कटुन्जेको सल्लेरीभीर मुनी बगरमा तातोपानी पोखरी थियो । सवै डुब्न आउँथो भन्ने मैले पनि सुनेको हो । अहिले स्थानीयले खोतलेर तातोपानी निकालेका छन रे । तातोपानीको मुहान र संरक्षणको संभावना हेरेर वडाकै भएपनि बजेट राख्न माग भै आएको छ’ अन्नपूर्ण गाउँपालिका, २ भुरुङका वडाध्यक्ष ओम फगामीले भने, ‘अहिले फेला परेको तातोतोपानीको मुहानदेखी २–३ सय मिटर माथी कटुन्जेभीर जरामा पनि तातोपानीको मुल छ रे । तर नदी किनारैमा भएकोले पोखरी बनाउन मिल्ने छैन भन्ने खवर पनि पाएको छु । सवै अध्ययन गर्ने योजनामा छु ।’
यस अघि अन्नपूर्ण गाउँपालिका, १ दोवाको महभीर तातोपानी, सोही गापा, २ भुरुङतातोपानी, वडा नं ५ पाउद्धार तातोपानी र ६ घारको रातोपानीमा तातोपानीका मुहान पहिचान भै प्रयोग हुँदै आएका थिए । त्यस्तै म्याग्दीका रघुगंगा गाउँपालिका, ४ दग्नाम तातोपानी, बेनी नगरपालिका, ४ सिङातातोपानी, धवलागिरी गाउँपालिका, १ गुर्जा तातोपानी र सोही पालिका, ४ मुदीको बगरा तातोपानी पनि पहिचान भएका तातोपानीका मुहान हुन ।