FLASH NEWS
  • Loading...

ब्यवसायी बोगटीको मृत्यु प्रकरणमा छिमेकी/ब्यवसायीक साझेदार किसान घर्ती पूर्पक्षकालागी जेल चलान

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ५१०७ पटक पढिएको
ब्यवसायी बोगटीको मृत्यु प्रकरणमा छिमेकी/ब्यवसायीक साझेदार किसान घर्ती पूर्पक्षकालागी जेल चलान

बेनी नगरपालिका वडा नं १ थाङ्ने (आनन्दबगर) घर भएका ४० बर्षिय ब्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी/साथी एवं ब्यवसायीक साझेदार किसान भनिने कृष्णबहादुर जिसी (४० बर्ष) पूर्पक्षकालागी जेल चलान भएका छन ।
कर्तब्य ज्यान कसुर सम्बन्धी मुद्धामा वुधवार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि न्यायाधिस कृष्णप्रसाद नेपालको आदेश अनुसार जिसी पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान भएका हुन ।
‘मुद्धामा पेश भएका अनुसन्धान रिपोर्ट समेतका तथ्यको आधारमा आरोपितलाई तारेखमा छोडी मुद्धाको अनुसन्धान गर्न मिल्ने देखिएन । पूर्पक्षमा राखी अनुसन्धान गर्न आदेश गरेका छौ’ न्यायाधिस कृष्णप्रसाद नेपालले बताए ।
०७९ चैत २९ गते बेनी नपा, १ रत्नेचौरबाट बेनी हिंडेका बोगटी सोही वडाको आनन्दबगर स्थित घर न बेनी स्थित फेन्सी पसलको डेरामा नफर्केपछि खोजी गर्दा चैत ३० गते विहान बेनी–बाग्लुङ सडक अर्न्तगत खवराको हुलाके डाँडास्थित भीरमा मृत अवस्थामा फेला परेका थिए । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले वैशाख १ गते नै जिसी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
थाङ्ने (आनन्दबगर) स्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा स्थानीय खेल मैदान निर्माण समितिका पदाधिकारी रहेका बोगटी र घर्ती चैत ३० गते बोगटीको बाईकमा रत्नेचौरमा पुगेका थिए । त्यहाँ मदिरा सेवनगरी मोटरसाईकलमा राती ९ बजे फर्केका बोगटी र घर्ती मध्य राती १२ बजे बेनीमा घर्ती एक्लै मोटरसाईकल लिएर आई बोगटीको पसल बाहिर पार्किङ गरी हिंडेको रत्नेचौर र बेनीमा भएको सिसी टिभीमा देखिएको थियो ।
‘ब्यवसायी बोगटी विहिवार विहान मृत अवस्थामा फेला परेपछि घट्नाको शंकास्पद देखियो । मृतकका आफन्तले पनि किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु गरियो । प्रारम्भीक अनुसन्धान क्रममा घट्ना कर्तब्यबाट भएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मदन कुँवरले भने, ‘रत्नेचौरको एक होटलमा रहेको सिसी टिभी फुटेज, रत्नेचौर–बेनीको सडक दुरी र समयावधी तथा बेनीको नगरपालिका अगाडी रहेको सिसी क्यामेरा फुटेज हेर्दा बोगटी मृत्यु प्रकरण शंकास्पद रहेको हो । आरोपितको फेरिरहने बयान र बाटोमा देख्ने साँक्षीहरुको बयानले घट्ना योजनाबद्ध नभै आकस्मिक भएको हो कि भन्ने देखाउँछ ।’