FLASH NEWS
  • Loading...

म्याग्दीमा रोकिएन वसाइँ–सराइ, ग्रामीण वस्ती झन शून्य वन्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६७ पटक पढिएको
म्याग्दीमा रोकिएन वसाइँ–सराइ, ग्रामीण वस्ती झन शून्य वन्दै

राजनैतिक दलका नेता तथा ब्यवसायीहरूले मतदाता तथा ग्राहकलाइ प्रभावित पारी लैजादै, पाेखरा, तनहुँ, चितवन समेतमा ठाउँमा घरघडेरीकाे काराेवार गर्न थालेसँगै जिल्लाबाट बसाइ सराइ गर्नेकाे संख्या बढेकाे छ । बसाइ सराइ बढेसँगै म्याग्दीकाे जनसंख्या ह्वात्तै घटेकाे छ । ग्रामीण वस्तीहरु आजभोलि शून्य हुन थालेका छन् ।

जिल्लामा बसेर राजनितीकाे अावरणमा सहरमा घरजग्गाकाे दलाली गर्नेहरूकाे कारण जिल्लामा रहेका बैंक तथा सहकारीहरूबाट जनताले जम्मा गरेकाे कराेडाैं रकम लुट्दा बचत फिर्ता पाउन सकेका छैनन । मुलुक संघिय संरचनापछि गाउँमै सिंहदरवार पुगेको छ । स्थानीय सरकारहरु गाउँ विकासमा जुटेका छन । स्थानीय सरकार मार्फत गाउँ–गाउँमा सडक, पदमार्ग, सिंचाई, खानेपानी, कृषी, पशुपालन, विद्यालय, स्वास्थ्य चौकी/ग्रामिण अस्प्ताल निर्माण समेतका पूर्वाधार विकासमा बर्षेनी करोडौं लगानी गरेका छन । तर पनि स्थानीय सरकारले बसाई सर्नेलाई रोक्न सकेका छैनन । गाउँ छोडेर सहरबजार बसाई सर्नेको लर्को बर्षेनी बढ्दो छ ।
गाउँका सिंहदरवारमा बस्ने पात्र फेरिएपनि संस्कार र प्रवृति नफेरिएपछि आस गुमाएका स्थानीयले धमाधम गाउँ छोड्न थालेका हुन । राजनिती रातारात धनी बन्न उद्धत दलाल, गुण्डा, अार्थिक अपराधीहरूकाे चंगुलमा फसेसंगै निरास सर्वसाधारणाले धमाधम छाडेका रित्ता घरका आगनमा उम्रेका झाडी, खेतवारी उत्तिस र झाडीले भरिएपछि वस्ती खण्डहर बनेको छ । ढुङ्गे घरहरुले चिटिक्क परेका वस्ती पाललिंदै गएपछि शिक्षा, कृषी र जनसंख्यामा प्रभाव देखिन थालेको छ ।
‘हामी गाउँगाउँमा विकासका कुरा गर्छौ । आर्थिक, सामाजिक, सांस्कृतिक एवं पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने प्रयत्न गरेका छौं । उता गाउँलेहरु पुख्यौली थलो मायाँ मारेर बसाईसराइ सर्नेको लस्केर देख्दा मन कटक्क खान्छ’ मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘जिल्लाका अन्य पालिकाको तुलनामा हाम्रो पालिका सुगम मात्र होईन, आफ्नो उत्पादनले अधिकांशलाई खान पुग्छ । शिक्षा, स्वास्थ्य, संञ्चार, सडक, खानेपानी समेतका न्यूनतम पूर्वाधार थपेका छौ र पनि जति कोसिस गर्दा पनि बसाई सर्नेहरुलाई रोक्न सकेनौं ।’
मंगला गाउँपालिकाको पञ्जिकरण शाखाका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ४५ परिवारका १ सय ६० जनाले बसाई सरी अन्यत्र गएका छन । पञ्जिकरण शाखाका लेकनाथ सापकोटाका अनुसार मंगला गापाबाट गत आवमा ८२ परिवारका ३ सय ५ जनाले बसाई सराई गरी पोखरा, काठमाण्डौ समेत सहर पसेका थिए ।
मंगला गाउँपालिकामा मात्र होईन, आप्रवासनको यो प्रवृत्ति जिल्लाका सवै पालिकामा उच्च छ । रोग, भोक र अभावको कारण दुर्गमका गाउँबाट मात्र होईन बेनी नगरपालिका र सदरमुकाम बेनीबाटै बसाई सर्नेको बढ्दो छ ।
जिल्लाका बेनी नगरपालिका समेत ६ वटै स्थानीय तहबाट पोखरा, तनहुँ, चितवन, वुटवल र काठमाण्डौमा अधिक बसाई सर्ने गरेको अभिलेखले देखाउँछन । सदरमुकाम रहेको बेनी नगरपालिकाबाट गत आर्थिक बर्षमा ४ सय ४२ जनाले बसाई सरे । चालु आवको ९ महिनामा २ सय ४३ जनाले बसाई सरेका छन ।
‘केही वर्ष अघिसम्म सदरमुकाम बेनीमा बसाइ आउनेको चाप धेरै थियो । संघियता कार्यान्वयनमा आएपछि सिंहदरवार गाउँ गएसँगै सदरमुकामको चाम र चाप दुवै घटेको छ’ बेनी नगरपालिका, ८ का वडाध्यक्ष उत्तम कर्माचार्यले भने, ‘अव बेनीको पुरानो विरासत फर्काउने हो भने यहाँको पर्यटन, ब्यवसाय र अवसरहरुमा विविधता र समान वितरण गरिनु पर्छ ।’
त्यसैगरी रघुगंगा गाउँपालिकाबाट चालु आवको चैत १५ गतेसम्मम ३५ परिवारका एक सय १४ जनाले पुख्यौली थातथलो छोडेर आप्रवासन हिंडेको गाउँपालिकाबाट प्रमाण पत्र लिएको पञ्जिकरण शाखाकी बसुता पुनले बताईन । थातथलो छोडेपनि बसाई सराइको प्रमाण पत्र नलगेका संख्या झन धेरै छ । रघुगंगा गापाबाट गत आवमा १ सय ८३ जनाले बसाई सरेका थिए ।
दक्ष जनशक्ति बैदेसिक अध्ययन तथा रोगजारीकालागी विदेश पलायन हुनेक्रम बढेसँगै पुख्यौली थलो छोडेर, सहर पस्नेहरुको संख्या पनि बढेको हो । जिल्लाको उत्तरी भेगको अर्को अन्नपूर्ण गाउँपालिकाबाट आलु आवमा २४ जनाले आन्तरिक (गाउँबाट पालिका केन्द्र)मा बसाई सराई गरे । पछिल्लो ९ महिनामा ३५ घरपरिवारका १ सय ४७ जनाले जिल्लाबाहिर आप्रवासन रोजे । अन्नपूर्ण गाउँपालिका भित्रका वस्तीमा ०४६ सालपछि आप्रवासनले तिब्रता लिएको हो ।
त्यस्तै, मालिका गाउँपालिकामा पनि चालु आवको चैत मसान्तसम्म ३२ परिवारका एक सय २४ जनाले बसाई सराइ गरेको भर्खरै सुरुवा भै गएका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए । काफ्लेका अनुसार राम्रो शिक्षा, स्वास्थ्य र सुखसयलको खोजी गर्ने भन्दा राजनैतिक स्थिरता नहुँदा पहुँचवाला र सिमित मान्छेले स्थानीय श्रोतसाधन र स्थानीय सरकारको बजेटमा कब्जा गरेपछि अवसर नदेखेर गाउँ छोड्नेहरुको संख्या धेरै छ ।
जिल्लाका सवैभन्दा दुर्गम धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालका अनुसार धवलागिरी गापाबाट चालु आवमा ६७ घरपरिवारले जिल्ला बाहिर बसाई सरेका छन । प्रमुख प्रशासकीय अधिकृत रिजालका अनुसार गाउँमा संघियताले राजनैतिक रुपमा सेवा र सुविधा विकेन्द्रीत गरेपनि स्थानीय स्तरमा रोजगारीका अवसर र आधारभुत आवश्यकता परिपुर्ति गर्ने आधार बन्न नसक्दा बर्षेनी वस्तीबाट आप्रवासन बढ्दो छ । अस्थाई रुपमा गाउँ छोड्नेको संख्या अभिलेख नै भएको छैन ।
‘मानिसहरु आर्थिक रुपमा सक्षम भएकोले गाउँ छोडेर हिंड्ने भन्दा राज्यको श्रोतसाधनहरु सिमित ब्यक्तिको कब्जामा पुग्दा गाउँमा अवसर नपाएकोले विस्थापित हुनेको संख्या बढी छ । गुणस्तरीय स्वास्थ्य र शिक्षाको खोजीमा बसाई सर्ने पनि धेरै छन’ प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले भने, ‘सडक र भवन समेतका भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने तर सामाजिक, सांस्कृतिक क्षेत्रको विकासलाई कसैको ध्यान पुगेको छैन । वेतिथी र अराजकताबढी भयो ।’
म्याग्दीको जनसंख्या निरन्तर घट्दो छ । विस २०४८ सालको जनगणनामा एक लाख ५ सय ५२ जनसंख्या रहेकोमा २०५८ को जनगणनामा बढेर एक लाख १४ हजार ४ सय ४७ पुगेको थियो । ०५२ सालमा सुरु भएको शसस्त्र विद्रोहपछि माओवादीले गाउँगाउँबाट सामाजिक अगुवा, नेता, कर्मचारीलाई खेद्न थालेपपछि म्याग्दीको जनसंख्या ओरालो लाग्न थालेको हो ।
०५८ को जनसंख्या ०६८ को जनगणनामा घटेर एक लाख १३ हजार ८ सय १८ मा झरेको थियो । ०७८ सालको जनगणनामा यो संख्या अझ धेरै घटेर एक लाख ७ हजार ३ सय ७२ मा ओर्लेको छ । जनगणना ०६८ देखी ०७८ सम्म जनसंख्या ० दशमलव ५४ प्रतिशतले जनसंख्या घटेको छ ।
‘गाउँले थातथलो छोडेर बसाइँ हिंड्नुमा एउटै मात्र कारण छैन । पुगिसरी आएपछि गाउँ छोडेर सहर झर्ने पनि छन । तर राज्य श्रोतमा सिमित ब्यक्तिको कब्जामा पुगेको, श्रमले सम्मान पाउनुको सट्टा कुनै देखिने पेशाब्यवसाय विना रातारात धनी बनेकाको चंगुलमा राजनिती फसेपछि अवसर र पहुँच नपाएकोले अवसर खोज्दै थातथलो छोड्ने धेरै छन’ म्याग्दी बहुमुखी क्याम्पस प्रमुख रहेका समाजशास्त्री गोरखबहादुर जिसीले भने, ‘आप्रवासन भैरहने कुरा हो तर राजनिती र ब्युरोक्रेसीमा शुद्धताले धेरै वा थोरै हुन सक्छ । हाम्रो समाजमा केही काम गर्न खोज्नेले निरुत्साही हुनु पर्ने विडम्बनाले विस्थापनलाई प्रोत्साहन गरेको छ ।’