FLASH NEWS
  • Loading...

मालिका गाउँपालिकाले सिसा पेल्ने ‘ग्लास क्रसर’ राख्ने

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३४९ पटक पढिएको
मालिका गाउँपालिकाले सिसा पेल्ने ‘ग्लास क्रसर’ राख्ने

मालिका गाउँपालिकाले पालिकामा उत्सर्जन भएका सिसाजन्य फाेहाेर ब्यवस्थापन गर्न ‘ग्लास क्रसर’ राख्ने भएकाे छ ।

दोस्रो सदरमुकामले चिनिने मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ बजारमा सिसाजन्य समेत अन्य फोहोर ब्यवस्थापन चुनौति बनेको छ । दरवाङ बजारबाट उत्सर्जन गर्ने फोहोरमैला नछुट्याई म्याग्दी नदी किनाराको छ्यारछ्यारेमा फाल्दै आएको छ । पालिकाले दरवाङबाट संकलित फोहोरमैलाबाट सिसाजन्य फोहोरलाई छुट्याएर ग्लास क्रसरमा राखेर पेल्ने गरी लागत अध्ययन थालेको जनाएको छ ।
पालिका केन्द्र रहेको दरवाङबाट उर्त्सजन हुने फोहोरको मात्र र प्रकारपनि धेरै हुन थालेपछि मालिका गाउँपालिकाले छुट्टै फोहोर मैला ब्यवस्थापन कार्यविधी बनाई लागु गर्ने भएको छ । पालिकाले निजी क्षेत्रसँग साझेदारी गरी संकलित फोहोरबाट पुनःप्रयोग गर्न मिल्ने, सड्ने र नसड्ने वस्तु छुट्याई फोहोरमैला ब्यवस्थापन गर्ने योजनामा छ ।
मालिका गापाले चालु आवमा फोहोर ब्यवस्थापन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
‘दरवाङमा सिसाजन्य फोहोर ब्यवस्थापन ठुलो चुनौति बनेको छ । त्यसैले पालिकाले ग्लास क्रसर ल्याई सिसालाई पेल्ने योजनामा छौं । ग्लास क्रसर प्रति घन्टा कति सिसा पेल्ने भन्ने आधारमा मुल्य पर्ने रहेछ । सिसाको धुलो घरको ढलान र ल्बक बनाउन सकिने देखिएकोले निजी क्षेत्रसँग साझेदारी गरी ग्लास क्रसर ल्याउने योजनामा छौ’ मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले भने, ‘पालिकाले प्रविधी ल्याउन सहयोग गर्छ । फोहोरको उचित ब्यवस्थापन गरे आम्दानी पनि हुने भएपछि निजी क्षेत्रसँग छलफल गरिरहेका छौं ।’ अध्यक्ष गर्वुजाले थपे, ‘ सिसाका वोटलहरु मानव श्वास्थ्य र प्रदुषणका मुख्य जोखिम बढाएकोले ब्यवस्थापनमा चुनौति बनेका छन ।’
सिसाजन्य बोटलहरु पुनःप्रयोगकालागी फिर्ता लैजाने ब्यवस्था नहुँदा गाउँसहरमा समस्या भएको हो । वियरसमेत विभिन्न मदिराका सिसाजन्य बोटलहरुले वस्तीको सौन्दर्य घटेको, प्रदुषण बढेको मात्र होईन दुर्घटना समेत बढाएको छ । वस्ती वरपर यत्रतत्र थुप्रो लागेका वोटलहरुले प्रदुषणमात्र गरेको छैन, फुटेका सिसाका टुक्राहरु खेतवारी तथा वाटोमा पुगेकोले स्थानियको खुट्टामा गाडिने समेतका दुर्घटना भैरहेका छन ।
फोहरमैला ब्यवस्थापन ऐन ०६८ ले हानीकारक, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रसायनिक फोहरमैला, औधोगिक फोहरमैलाको ब्यवस्थापन भने संवन्धित ब्यक्ति वा संस्थालाई नै तोकेको भएपनि अनुगमन नहुँदा कार्यान्वयन भएको छैन । नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहोर उत्पादक कम्पनीहरुले नै फिर्ता लैजानु पर्ने हो तर वास्ता गरिएको छैन ।