FLASH NEWS
  • Loading...

म्याग्दीका पर्यटन सूचना केन्द्र अलपत्र

  • पुनहिल डट कम
  • १ साल अघि
  • १६९ पटक पढिएको
म्याग्दीका पर्यटन सूचना केन्द्र अलपत्र

सदरमुकाम बेनीको कालीपुल वसपार्क छेवैमा जिल्ला ट्राफिक कार्यालयसँगै जोडिएको पर्यटन सूचना केन्द्रको दैलोमा लागेको ताल्चा तिन वर्षदेखी खुलेको छैन ।
बेनी नगरपालिका, पर्यटन वोर्ड र म्याग्दी उद्योग वाणिज्य संघले संयुक्त संञ्चालन गरेको पर्यटन सूचना केन्द्र अहिले बन्द मात्र होईन अलपत्र परेको छ । सूचना केन्द्रको बाहिर बसपार्क क्षेत्रका ब्यवसायीले आ–आफ्ना घरबाट निक्लेका कवाडीजन्य सामान ल्याएर थुपारेका छन । सूचना केन्द्र रहेको भवनको छतमा ट्राफिक प्रहरीले छेउबाट भञ्याङ राखेर लुगा सुकाउने र घाम ताप्ने थलो बनाएका छन ।
‘विसं २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउने गरी आन्तरिक तथा बाहृय पर्यटकहरु जिल्लामा भित्रने र बाहिरिने मुख्य बसपार्क क्षेत्रमा पर्यटन सुचना केन्द्र स्थापना गरेका थियौं । करिव २ बर्ष कर्मचारी राखेरै सूचना केन्द्र चलायौं तर कोरोनाले पर्यटन क्षेत्र पनि अस्तायो, केन्द्र पनि वेवारिसे भएको छ’ स्थानीय पर्यटन अभियन्ता राजेश शाक्यले भने, ‘वेवारिसे बनेको पर्यटन सुचना केन्द्रलाई बन्द गर्नु हुँदैन, बरु वदलिँदो परिस्थिती अनुसारको मोडेलमा पुनः संञ्चालन गर्न आवश्यक छ ।’
पर्यटन सुचना केन्द्रमा पर्यटन वोर्डले म्याग्दीका प्रर्यटकीय क्षेत्रको फ्रेमसहित फोटाहरु, मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन, म्याग्दी उद्योग वाणिज्य संघले कर्मचारी ब्यवस्था र अन्य पर्यटकीय क्षेत्रमा चासो र काम गर्ने संस्थाहरुले जिल्ला भित्र पर्ने पर्यटकीय क्षेत्रका म्याप, गाईड वुक र ब्रोसरहरु राखेका थिए ।
म्याग्दीका पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्न र जिल्ला आएका आन्तरिक तथा बाहृय पर्यटकलाई पदमार्ग सम्बन्धी अन्यौलमा मद्दत गर्न तत्कालिन पर्यटन मन्त्री स्व.रविन्द्र अधिकारीले ०७५ बैशाख ३१ गते उद्घाटन गरेको म्याग्दी पर्यटन सूचना केन्द्र कोरोना कहरसँगै बन्द भएको थियो ।
‘जिल्लाका कृषक तथा दिदीबहिनीहरुले उत्पादन गरेका कृषी उपज, हस्तकलाका सामाग्री, अचार सहितका सामाग्रीको विक्रि कक्ष (कोसेली घर)सहित पर्यटन सूचना केन्द्रलाई थप ब्यवस्थित सहित सञ्चालनमा ल्याउने तयारीमा छौं’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘कोरोना महामारीले बन्द भएको सूचना केन्द्र अव सहज परिस्थिती हुन थालेकोले अलपत्र छोड्नु हुँदैन । वरु यसको अधिक उपयोग गर्न के के गर्नु पर्छ सरोकारवालाको सहयात्रा बढ्नु पर्छ ।’
सदरमुकाम बेनीको मात्र होईन, धवलागिरी आरोहण, धवलागिरी फन्को लगाउने, हिडन भिलेज ट्रेल, गुर्जा एवं पुथाहिमाल ट्रेल, गुरिल्ला ट्रेल, ढोरपाटन शिकार तथा उपल्लो डोल्पो ट्रेलको प्रवेश द्धार रहेको धवलागिरी गाउँपालिकाले वडा नं २ लम्सुङ र वडा नं ४ जेल्टुङमा सुरु गरेको पर्यटन सूचना केन्द्र पनि अलपत्र परेको छ ।
धवलागिरी आरोहण, ढोरपाटन शिकार आरक्ष, गुरिल्ला ट्रेल, गुर्जा ट्रक र उपल्लो डोल्पा पदयात्रामा आएका पर्यटकको स्थानीय स्तरमा कुनै अभिलेख नहुँदा विपदमा खोज तथा उद्धार गर्न समस्या भएको भन्दै पालिकाले सूचना केन्द्र संञ्चालन गरेको थियो ।
‘पर्यटन विकासको प्रचुर संभावना रहेको धवलागिरीका दर्जन पदमार्गमा बार्षिक कति पर्यटक आउँछन ? भन्ने अभिलेख नहुँदा पर्यटन पूर्वाधार विकास तथा पर्यटन सुरक्षा योजना बनाउन समस्या भएकोले सूचना केन्द्र स्थापना गरेका हौं । केन्द्र स्थापना गरेको एक वर्ष नपुग्दै कोरोनाले पर्यटन क्षेत्र तहसनहर भयो, हाम्रो योजना पनि अलपत्र परेको छ’ धवलागिरी गाउँपालिकाका पूर्व प्रमुख थमसरा पुनले भनिन्, ‘पर्यटन सूचना केन्द्र अव नयाँ नेतृत्वले पुनः चलाउन सुझाएको छु । यो जरुरी पनि छ ।’