FLASH NEWS
  • Loading...

भुमे र जल देवतासँग वर्षा माग्दै पुजा लगत्तै वर्षा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१८ पटक पढिएको
भुमे र जल देवतासँग वर्षा माग्दै पुजा लगत्तै वर्षा

हिउँद सकिन लाग्दासम्म पानी नपरेपछि यहाँका कृषकहरुले आ–आफ्ना वस्ती र गाउँमा रहेका जलदेवता जलका देवता बरुण, इन्द्र, बराह र भुमे देवताका थानहरुमा पुजाअर्चना गर्दै वर्षा (पानी) मागे लगत्तै हल्का वर्षाकाे संयाेग जुरेकाे छ ।  हल्का भएपनि वर्षाले कृषक खुसी भएका छन ।
शनिवार अन्नपूर्ण गाउँपालिका, ६ घारका कृषकहरुले बाजागाजासहित ‘हरहर महादेव पानी देउ’ भन्दै स्थानीय वराह देवता, भुमेदेवता र अन्यदेवीदेवताको मन्दीर–मन्दीर पुगेर बर्षा (पानी) मागे । घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार धजा, अक्षता र धुपदीप गरी देवीदेवतासँग गाउँलेलाई भोकमरीबाट बचाउन बर्षा पारी दिन शनिवार प्राथना गरेका थिए ।
अन्नपूर्ण गापा, ६ घारका कृषकले मात्र होईन, लामो खडेरीले बालीनाली सुक्ने, खानेपानीको मुहान सुक्न थालेपछि दैनिक जसो देवीदेवतासँग बर्षाको याचना गर्दै पुजा गरेका थिए। त्यस्तै, अन्नपूर्ण गापाको दाना, नारच्याङ, रघुगंगा गापा, २ भगवती, बेनी नगरपालिका, ५, १० र धवलागिरी गापा, ७ ताकमका कृषकले पनि जलदेवतासँग वर्षा माग्दै पुजा गरेका थिए।
‘असोज देखी नै पानी परेको छैन । गहुँजौ लगाएतको हिउँदेवाली सुक्यो, बर्खेबाली लगाउनै पाईएको छैन’ अखण्ड जलसमाधीसहित बरुणदेव पुजामा रहेका कृषक निलकण्ठ सुवेदीले भने, ‘जलका देवता बरुण, इन्द्र र बराह खुशी पार्न प्राथना शुरु गरेका हौं ।’

दशैं यता वर्षा नभएपछि आकाशे पानीको भरमा हुने यहाँका गहुँ, जौ, औवा, तोरी लगाएतका हिउँदेवाली सुकेर नष्ट भएका छन । स्थानीयले प्रयोग गर्दै आएका ढुङ्गेधारा, कुवा र पाईपलाईनमा ल्याएको खानेपानीको मुहान सुक्दै गएपछि खानेपानीको समेत समस्या हुन थालेको छ । उच्च डाँडा र हिमालहरु हिउँविहीन काला पहाडमा अाइतरवार हल्का हिउँ थपिएकाे छ ।
‘लामो समयको खडेरीले गर्दा खानेपानीका मुहान सुक्न थालेका छन । पानीका मुहानमा पानी घटेपछि खानेपानीको समस्या हुन थालेको छ’ बेनी नगरपालिका, ६ का वडाध्यक्ष कृष्णसिं बानियाँले भने, ‘जिल्लामै सवैभन्दा कम खानेपानीको श्रोत भएको वडा भएकोले खानेपानीको जहिल्यै हाहाकार हुन्छ । फागुनमै खानेपानीका मुहान सुकेभने जेठमा के हालत होला ?’
कृषी ज्ञान केन्द्र म्याग्दीले तयार पारेको ‘कृषी उत्पादन लाभ लागत अध्ययन प्रतिवेदन ०७९’मा उल्लेख भए अनुसार जिल्लाको कुल २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्य खेतियोग्य जमिन जम्मा ३० हजार ८ सय ५६ हेक्टर (१३ प्रतिशत) मात्र हो । खेतियोग्य जमिनमध्य पनि जम्मा १९ हजार ४ सय ९८ हेक्टर (६६.१९ प्रतिशत)मा खेती गर्ने गरिएको छ । खेती गरिएको जमिनमध्य १३ हजार ४ सय ८५ हेक्टर क्षेत्रफलमा आकासे वर्षाको भरमा खेती गर्ने गरिएको छ । सिंचित ६ हजार १३ हेक्टर जमिनमा मध्यपनि जम्मा १ हजार ६ सय ८० हेक्टरमा मात्र १२ महिना सिंचाई हुन्छ ।अभिलेख अनुसार जिल्लामा २२ हजार ४ सय ८० परिवार कृषी पेशामा संलग्न छन ।

‘जिल्लाको अधिकांश भुगोल हिमाल, पहाड, भीरपहरा, खालानाला र वनजंगलले ओगटेको छ । खेतियोग्य न्यून क्षेत्रफलमध्य पनि थोरैमा मात्र खेती भैरहेको छ । धेरै जमिन बाँझो छ । खेतीयोग्य जमिनमध्य पनि थोरै क्षेत्रफलमा मात्र सिंचाई पुगेको छ’ कृषी ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले भने, ‘म्याग्दीको अधिकांश हिउँदेवाली आकासे पानीको भरमा हुन्छ । क्षतिको लागन अनुमान गरिसकेका छैनौं तर हिउँदे वर्षा र हिमपात नभएकोले गहुँ, जौ, औवा र फलफुलखेतीमा नराम्रो असर गरेको छ ।’