FLASH NEWS
  • Loading...

तातोपानीका पोखरीमा विरामीको घुईचो, ओढारमा समेत बास

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८५ पटक पढिएको
तातोपानीका पोखरीमा विरामीको घुईचो, ओढारमा समेत बास

जिल्लाका विभिन्न तातोपानीका पाखरीहरुमा डुब्दै विभिन्न रोगको प्राकृतिक उपचार गर्ने विरामीहरुको भीड लागेको छ ।
जिल्लाका विभिन्न तातोपानीका मुहान र पोखरीहरुमा प्राकृतिक उपचार गर्न आएका विरामीहरुको भीड बढेको हो । अर्थोपेडिक औषधीले आजित भएका देशभरका वायुगोला (ग्याँस्टिक), हाडजोर्नी दुखेको, मुटुकोरक्तचाप र छालाका रोगीहरुको यहाँको तातोपानीमा प्राकृतिक उपचारकालागी आउने गरेका छन ।
‘अहिले दैनिक तातोपानीमा डुब्न आउने ३ सयबढी विरामी थपिन्छन । उत्तिकै संख्यामा घर फर्कने पनि हुन्छन । दैनिक एक पटक नुहाउन आउने बाहेक दशैंयता ९ हजार विरामीले यहाँको तातोपानीमा डुबेर उपचार गराएका छन’ बेनी नगरपालिका, ४ सिङ्गातातोपानी ब्यवस्थापन समितिका सदस्य कुमार केसीले भने, ‘फागुन–बैशाख अति भीड लाग्छ । एक पटकमा तीन सय मान्छे अट्ने पोखरीमा विहानदेखी वेलुकासम्म महिला–पुरुषको २–२ घन्टाको ६ सिफ्टमा विरामी डुब्ने ब्यवस्था मिलाएका छौं ।’


तातोपानीमा लगातार दुई घण्टा डुबेपछी बाहिर निक्लेर कम्बलभित्र गुम्सीदै खलखली पसिना निकालेपछि रोग निको हुने विश्वास छ । फागुन–बैशाख तातोपानीमा डुब्ने उपयुक्त मौषम मानिन्छ । सिङ्गामा कम्तीमा ५ दिनदेखी ९ दिन डुवेको प्रति विरामीले तीन सय र छुट्टै पोखरीमा केही वेर आराम गर्ने पर्यटकले भने एक पटकको साँझ ६ बजेसम्म एक सय र साँझ ६–९ बजेसम्म पोखरीमा डुवुल्कि लगाएको दुई सय सुल्क तिर्नु पर्छ । पाउद्धारमा एक विरामीले दुई सय तिरेपछि जति दिन पनि डुब्न सक्छन, पटके पर्यटकलाई शुल्क लाग्दैन । अन्यत्रका तातोपानीमा भने शुल्क तिर्नु पर्दैन ।
‘न जाडो न बढी गर्मी सिजन भएकोले फागुन–वैशाखमा देशका विभिन्न शहरबाट समेत विरामी आई तातोपानीमा प्राकृतिक उपचार गर्ने गरेका छन’ घार पोखरेका राजु वरुवालले भने, ‘वास्तवमा शहरको महंगो उपचारबाट निराश भएका र शहरका अस्पताल पुग्न नसक्ने गरिव विरामीको साझा थलो भएको छ ।’
परम्पारादेखी नै यी स्थानहरुमा स्थानियहरु रुखभीरबाट लडेर हाडजोर्नी मर्केको र चोट लागेको बेला, पेटसम्बन्धी र घाउखटिरा समेत छालाका रोगको उपचार गर्न तातोपानीमा बुब्दै आएका छन ।


म्याग्दी खोला किनाराका मुदी, गुर्जा र सिङ्गातातोपानी, राहुघाट नदी किनाराको दग्नामऔल तातोपानी र कालीगण्डकी नदी किनारामा रहेका दोवा, घारको रातोपानी, पाउद्धारको तातोपानी प्राकृतिक उपचारकालागी प्रशिद्ध छन । धौलागिरी हिमालको फेदीमा झण्डै तीन हजार मिटर उचाईमा अवस्थित गुर्जा र मुदीको सिमानामा रहेको तातोपानी जिल्लाको सवै भन्दा अग्लो स्थानको तातोपानी हो ।
‘पेटको विमार थिए । यहाँको तातोपानी डुवेपछि निको भएको थियो । यस वर्ष फेरी हातखुट्टाका जोर्नी दुख्न थालेकोले ७ वर्षपनि तातोपानी डुब्न आएकी हुँ’ बाग्लुङ गल्कोटबाट आएकी ६८ बर्षिया सरस्वती सुवेदीले भनिन, ‘५ दिन डुब्दा धेरै आराम/राम्रो भैरहेको महशुस गरेको छु ।’
पाउद्धारको नुनिलो तातोपानी, दोवा, दग्नाम र मुदीको परम्परागत साना पोखरीहरु ब्यवस्थित हुन बाँकी छन । स्थानिय एवं छिमेकी गाउँका विरामी बढी डुब्ने यी तातोपानीमा आवास क्षेत्र नभएकोले विरामीहरु भिरको जरोमा ओढारमा बास बस्नु पर्ने बाध्यता छ ।

‘वस्ती देखी अलि टाढा अस्करे भीरको जरोमा राहुघाट खोला र पाखापानीको झरना छेउमा तातोपानी रहेकोले स्थानिय भीरको ओढारमा बस्नुको विकल्प नै हुँदैन’ पाखापानीका हरीबहादुर पाईजाले भने, ‘यहाँको तातोपानीमा वास्तविक विरामी र बढी आँट भएका विरामीहरु समुहमा मात्र बस्न सकिन्छ ।’
तातोपानीका मुहानहरु स्थानियको रोग निको पार्ने प्राकृतिक अस्पताल मात्र भएका छैनन, स्थानिय विद्यालय संञ्चालन, बस्ती एवं संस्कृति संरक्षण, युवा क्लवको आर्थिक श्रोत मात्र होईन राज्यको कोषमा समेत योगदान पुर्‍याउँदै आएका छन ।
गलेको थाकेको शरिरलाई आराम दिन, जोर्नी मर्केको, चोट लागेका विरामीले श्वास्थ्य आरोग्यताकोलागी तातोपानी थेरापी (नेचुरल स्टीम वाथ) वैकल्पिक उपचार पद्धति हो । प्राकृतिक तातोपानीमा डुब्दा हाडजोर्नीको उपचार सित्तैमा हुन्छ । शरिरलाई आराम पनि हुन्छ । परम्परादेखी प्राकृतिक श्वास्थ्य लाभ लिँदै आएका तातोपानीका पोखरीहरु स्वास्थ्य लाभसँगै आर्थिक उपार्जनको थलो बनेका छन ।