FLASH NEWS
  • Loading...

हिउँले छोपिनु पर्ने हिमाली वुक्यानमा दैनिक डढेलो

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२३ पटक पढिएको
हिउँले छोपिनु पर्ने हिमाली वुक्यानमा दैनिक डढेलो

लामो खडेरीलेपछि वातावरण सुख्खा हुँदा बाक्लो हिउँले छोपिनु पर्ने हिमालमुनीका राष्ट्रिय जंगल समेत जिल्लाका सामुदायीक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा दैनिक डढेलो लाग्न थालेको छ ।
माघसम्म तल्लो वस्तीसम्मै हिउँ जम्नु पर्ने हो तर यस वर्ष असोजदेखी पानी नपरेकोले लेकाली वस्तीमा मात्र होईन हिमाल पनि हिउँ विहिन बन्न थालेका छन । हिमालमुनीका वुक्यानहरुमा दैनिक डढेलो दन्की रहेको छ ।
‘यो डढेलोको सिजन होईन तर खडेरीले गर्दा राष्ट्रिय वनमा दैनिक डढेलो लागिरहेको छ । वस्ती देखी धेरै टाढा हिमालमुनीको जंगलमा डढेलो लागेकोले चासो कम क्षति बढी भैरहेको छ’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले भने, ‘वस्ती नजिक समुदाय प्रत्यक्ष जोडिएको जंगलमा डढेलो लाग्दा सवैको चासो हुने रहेछ । वस्तीदेखी अलि परका राष्ट्रिय वनमा लागेको डढेलो नियन्त्रण गर्न पनि समस्या, चासो पनि कम हुँदा जोगाउन मुस्किल छ ।’
तल्लो क्षेत्रका सामुदायीक वनमा मात्र होईन बाक्लो हिउँले सेताम्मे छोप्नु पर्ने वस्ती देखी धेरै माथीका हिमाली चरन क्षेत्रमा पनि दैनिक डढेलो लाग्ने गरेको छ । चैत–बैशाख–जेठ महिना बढी वन डढेलो लाग्ने सिजन हुन । तर हिउँदमा हिउँ र पानी नपर्दा सुख्खाबढेकोले माघ तेस्रो साता सुरु हुँदा गुर्जा हिमाल, धवलागिरी हिमश्रृखला, निलगिरी साउथ र अन्नपूर्ण प्रथम, वराह हिमाल मुनीका जंगलमा धेरै दिनदेखी निरन्तर डढेलो लागिरहेको छ ।
‘वस्ती नजिकका प्रायः सवै भीर र पाखा डढेर काला भएका छन । वन डढेलो रोकथाम गर्न म अध्यक्ष हुँदा धेरै प्रयास गरियो । केहीलाई कार्वाही पनि गरें तर डढेलो रोक्न सकिएन’ धौलागिरी गाउँपालिकाकी पूर्व अध्यक्ष थमसरा पुनले भनिन्, ‘माथिल्लो हिमाली क्षेत्रमा कतै सिकारीले डढेलो लगाउने गरेको सुनिएको भएपनि तल्लो वस्ती नकिका भीरपाखामा गाउँलेले नै डढेलो लगाउँछन ।’
डिभिजन वन कार्यालयले वर्षेनी वन डढेलो नियन्त्रण गर्न विभिन्न शिर्षकमा लाखौं खर्च गर्ने गरेपनि डढेलो नियन्त्रणमा कुनै प्रभाव पारेको छैन । वन कार्यालयले वन डढेलो विरुद्ध प्रचार–प्रसार गर्न, सामुदायीक वनहरुलाई डढेलो नियन्त्रण परिचालन गर्न डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्ने सामुदायीक वन समुहलाई पुरस्कार, डढेलो नियन्क्रणमा खटिने ब्यत्तिहरुलाई खाजा तथा पानी खर्च र र डढेलो लगाउने विरुद्ध सुराकी परिचालन बजेट खर्च कागजमै सिमित छ ।
डिभिजिन वन कार्यालयका अनुसार वन डढेलो नियन्त्रण गर्न जिल्ला स्तरिय एक र सवै ६ वटा स्थानीय तहमा सव डिभिजन डढेलो नियन्त्रण सञ्जाल गठन भएका छन । तर जिल्लाका प्रायः सवै वस्तीमा डढेलो लागेको भएपनि कार्यालयमा कुनै रिपोर्ट आएको छैन ।
‘वन डढेलो नियन्त्रण गर्ने विभिन्न कार्यक्रम भएपनि प्रभावकारी कार्यान्वयन भएको छैन’ सहायक वन अधिकृत क्षत्रीले भने, ‘वन डढेलोको राम्रो अभिलेख पनि हामी संग छैन । कर्मचारी त सवै इलाकामा खटाएका छौं तर सूचना आएको छैन । वस्तीभन्दा धेरै माथी राष्ट्रिय वन भएकोले पनि नियन्त्रणमा चुनौति छन ।’
मानवीय वा प्राकृतिक कारणले आगो लाग्न गै वनजंगलका रुखविरुवा डढ्ने, चराचुरुङ्गी, वन्यजन्तुको वासस्थान जल्ने र नासिने प्रकृयालाई वन डढेलो भनिन्छ । डिभिजन वन कार्यालयको अभिलेख अनुसार गत वर्ष सवैभन्दा कम तीन सय ४१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । यस वर्ष भने वन डढेलो अधिक हुने अनुमान छ । राष्ट्रिय वनमा वन्य जन्तु सिकारीले डढेलो लगाउने गरेका छन ।
वन कार्यालयको अभिलेख अनुसार जिल्लाको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्य ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, एक्यापले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । वन कार्यालयले ब्यवस्थापन गर्ने ७९ हजार ४ सय ३९ हेक्टर वनमध्य २४ हजार २ सय २ हेक्टर वन ३ सय १० वटा सामुदायीक वन उपभोक्ता समुह मार्फत ब्यवस्थापन हुँदै आएको छ । करिव ५ हेक्टर कवुलियत, धार्मिक र निजी वन छ । बाँकी सवै राष्ट्रिय वन हो ।
वन डढेलो मध्य सवैभन्दा ठूलो २०५० बैशाख १ गतेदेखी एक महिना १७ दिनसम्म ढोरपाटन सिकार आरक्षको म्याग्दी पट्टी लुलाङ्ग र गुर्जा गाविसको वन क्षेत्रमा लागेको थियो । यस वन डढेलोले झण्डै आठ सय हेक्टर वन नष्ट गरेकोले सुकेका रुखहरुको जंगल मात्र देख्न पाईन्छ । नयाँ विरुवा समेत उम्रेका छैनन । यही सुकेको जंगलमा ०६९ जेठमा पुनः भिषण डढेलो लाग्यो । १५ दिनसम्म लागेको डढेलो नियन्त्रण गर्न सेना परिचालन हुने प्रयास भएपनि दुर्गम पहाडी ईलाकामा ठूलो क्षेत्रफलमा फैलिएकोले सफल भएन । यो डढेलो आकासे झरी लागेपछि नियन्त्रणमा आएको थियो ।
त्यसैगरी ०४५ सालमा मुस्ताङ्गबाट हावाहुरीले ल्याएको आगोको लप्काले संसारकै सवै भन्दा ठूलो लालिगुराँसको जंगल अर्न्तगत म्याग्दीको शिख, हिस्तान, राम्चे र पर्वतको भुकदेउराली गाविसको ठूलो क्षेत्रफल वनमा डढेलो लागेको थियो ।