FLASH NEWS
  • Loading...

बेनी–जोमसोम सडक विस्तार झन सुस्त

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११२ पटक पढिएको
बेनी–जोमसोम सडक विस्तार झन सुस्त

सरकारको प्राथमिकतापूर्ण गौरवको योजना मध्यको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला अर्न्तरदेशिय सडकको काम झन झन सुस्त भएको छ ।
अधिक चिसो बढेसँगै मुस्ताङ खण्डको काम पुरै ठप्प छ । आयोजनाको सुरु विन्दु गलेश्वरदेखी मुस्ताङसीमावर्ती घाँसासम्मको ४० किलोमिटर (पहिलो र दोस्रो प्याकेज) सडकको काम पनि ठप्प प्रायः छ । गत दशैंयता गलेश्वर छेउमा ८–१० जना मजदुरल रिटेनिङ वाल लगाउने काम बाहेक कुनै भएको छैन ।
‘बेनी–जोमसोम–कोरोला सडकको पहिलो खण्ड अर्न्तगत बेनी–जोमसोम ७६ किलोमिटरमध्य मुस्ताङ तर्फको ३८ किलोमिटर क्षेत्रमा अधिक चिसोले काम रोकिएको छ । म्याग्दी तर्फको ३८ किलोमिटर क्षेत्रमा काम ठप्प त नभनौं तर अति सुस्त काम भएको छ’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘दशैं मनाउन गएका मजदुर निर्वाचनको कारण देखाएर रोकिए, अहिले चिसो छ भनेर फर्केका छैनन । हामीले ब्यवसायीलाई प्रेसर गरिरहेका छौं ।’
आयोजना प्रमुख प्रजापतिले थपे, ‘फिल्डमा देखिनेगरी काम नभएपनि बेनी–घाँसासम्मका खण्डमा सडक विस्तार गर्न टेक्निकल समस्या पनि छ । भिरकाटेमा सुरुङ मार्ग बनाउन अध्ययनजारी छ भने रुप्सछहरामा अघिल्लो बर्ष बाढीले बगाएको मोटरेवल पुलको डिजाइनपछि ठेक्का लगाएका छौं, सम्झौता गर्न बाँकी छ ।’
आयोजनाका अनुसार गत वर्षदेखी थपिएको पर्वतको मालढुङ्गा–बेनी १३ किमी र बेनी–गलेश्वर ३ किमी सडकमा पनि काम भैरहेको छ । नालीको पानी पन्छ्याउने विषयमा स्थानियको अवरोध गरेपछि काम प्रभावितहुँदा ठेक्का लगाएको दुई वर्षमा ३५ प्रतिशत काम सकिएको आयोजनाले दावी गरेको छ ।
आयोजना प्रमुख जगत प्रजापतिले दिएको जानकारी अनुसार मालढुङ्गा–बेनी ३५ प्रतिशत, बेनी–गलेश्वर खण्डमा ठेक्का प्रकृयामा रहेको, गलेश्वर–तातोपानी पहिलो प्याकेजमा ७० प्रतिशत, तातोपानी–घाँसा दोस्रो प्याकेजमा ६५ प्रतिशत, घाँसा–कैकुखोला तेस्रो प्याकेज सतप्रतिशत र कैकु–जोमसोम सडकमा ६८ प्रतिशत काम सकिएको छ । ०७६ मंसिर भित्रै सक्नेगरी बेनी–जोमसोम ७६ किमीलाई ४ प्याकेज बनाई ठेक्का लागेको भएप्नि सडक विस्तार, उन्नत र कालोपत्रे गर्ने काम ढिलो भैरहेको छ ।
‘मुस्ताङ तर्फको दुई प्याकेजको कटिङ, फिलिङ, रिटेनिङवाल, नालीको काम सकिएको छ । गर्मी मौषम सुरु भएर कालोपत्रे गर्न योग्य तापक्रम पुग्ने वित्तिकै कालोपत्रे गर्नेगरी ठेकदारलाई तयारी बस्न भनेका छौं’ आयोजना प्रमुख प्रजापतिले भने, ‘म्याग्दी क्षेत्रको दाना खण्डमा अघिल्लो र यस वर्ष ठूलाठूला बाढीपहिरोले सडकमा धेरै क्षति पुर्‍याएकोले ब्यवसायीले प्रगति देखिनेगरी काम गर्न सकेनन । पहिरोमा अझै धेरै काम बाँकी छ । यो हिउँदा ब्यवसायी परिचालिन हुन सके म्याग्दी खण्डमा पनि यो वर्ष धेरै भाग कालोपत्रे गर्छौ ।’
म्याग्दी खण्डमा गलेश्वर–बेगखोला (कुनौटो) ७ किलोमिटर सडक विडिएसडी प्रविधीको कालोपत्रे गर्न गरिएको भएप्पनि बर्खाको भेलबाढी र पहिरोले क्षति पुर्‍याएको ठेकदार कम्पनी ओमकारेस्वर कन्ट्रक्सनले जनाएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गरिएको यो पहिलो कालोपत्रे हो । *कान्तिपुरमा प्रकाशित छ ।