FLASH NEWS
  • Loading...

तरकारी नर्सरी ः सानो लगानी, मनग्य आम्दानी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३४ पटक पढिएको
तरकारी नर्सरी ः सानो लगानी, मनग्य आम्दानी

धानवाली भित्राएसँगै कृषकहरु खेतमा प्याज, बन्दा, काउली लगाएतका तरकारीका वेर्ना रोप्न थालेका छन । हिउँदे तरकारी खेतीकाे सिजन सुरु भएसँगै नर्सरीमा बेर्ना ब्यापार बढेको छ ।
स्थानीय हावापानी सुहाउँदा तरकारीका बेर्ना उत्पादन गरी विक्रि गर्ने नर्सरीहरुले राम्रो आम्दानी गर्न थालेका छन । घरायसी प्रयोजनकालागी काउली, ब्रोकाउली, बन्दा, प्याज, खुर्सानी लगाएतका तरकारीका बेर्ना उत्पादन गर्ने नर्सरी ब्यवसाय फस्टाएकाे हाे । नर्सरी ब्यवसाय कम लागतमा, थोरै जनशक्ति र सजिलोसँग गर्न सकिने भएपछि जाँगरिला किसान नर्सरी ब्यवसाय तर्फ आर्कषित छन । नर्सरी ब्यवसाय ओझेलमा रहेको तर उदाउँदो ब्यवसाय हो । खासगरी तरकारीका वेर्ना उत्पादन गर्ने नर्सरीले थोरै लगानीमा मनग्य आम्दानी गर्न थालेका छन ।
‘कृषी नर्सरीमा छोटो समयमा थोरै लगानी र परिश्रम गर्दा राम्रो आम्दानी छ । १० फुट लम्बाई र ५ फुट चौडाई भएको नर्सरीमा उमारेका तरकारी बेर्नाबाट ५–७ हजारसम्म आम्दानी हुन्छ’ बेनी नगरपालिका, ५ कुमाल्नीका मनोज खड्काले भने, ‘ब्याडबाट प्याजका बेर्न एक रुपैयाँको ३ वटा र अन्य तरकारीका बेर्ना प्रतिगोटा ५ रुपैयाँमा विक्रि गर्छौ ।’


तरकारीका वेर्ना उत्पादन गर्ने नर्सरी ब्यवसायमा कति कृषक संलग्न छन भन्ने कतै अभिलेख नभएपनि सदरमुकाम तथा मुख्य बजार क्षेत्रका वरपरका अगुवा कृषकहरु यस्ता कृषी नर्सरीमा संलग्न छन । सानो वारीमा धेरै विरुवा उमार्न सकिने र वेच्न पनि झन्झट गर्नु नपर्ने हुँदा कृषी नर्सरी ब्यवसायीक स्वरुपमा फस्टाउन थालेको हो ।
हिजोआज सहरका प्रायः तरकारी पसलमा तरकारीका बेर्ना पनि बेच्न राख्ने गरेका छन । सहरमा कौसी खेती गर्न थालिएसँगै ब्रोकाउली, बन्दा, काउली, काँक्रा, खुर्सानी, कुरिलो, प्याज, घिरौंला समेतका तरकारीका बेर्ना उत्पादन र विक्रि थप बढेको हो । जिल्लामा सुन्तला, कागती, किवी, जुनार, एभोकाडो, ओखर, मेवा आदिका नर्सरी पनि बढेका छन ।
कृषी नर्सरीमा तरकारी बेर्ना उत्पादन गर्ने कृषकलाई मात्र होईन, तरकारी पसल र स–साना खुद्रा पसल गर्नेले पनि प्याज, काउली, खुर्सानी, काँक्रा, घिरौला, करेला लगाएत तरकारीका बेर्ना वेचेरै राम्रो आम्दानी गर्ने गरेका छन ।
‘गाउँमा घरायसी खानाकालागी थोरै वारी/खेतमा तरकारी रोप्ने र सहरमा घरका कौसीमा तरकारी गर्नेले बेर्ना किनेर लैजाने गरेका छन’ सदरमुकाम बेनीको पिपलचोक स्थित तरकारी पसले देवेन्द्र सुवेदीले भने, ‘हामीले कृषकबाट प्याजका बेर्ना एक रुपैयाँको २ गोटा किनेर ग्राहकलाइ प्रति गोटा एक रुपैयाँमा र अन्य लहरे जातका तरकारीलाई प्रति गोटा ५ मा किनेर १०–१५ रुपैयाँ गोटामा बेच्ने गरेका छौं ।’ सुवेदीले थपे, ‘यो सिजनमा ४०–५० हजारका बेर्ना बेचें । हाम्रो जिल्लाको हावापानीमा अझै लहरे तरकारीको बेर्ना उत्पादन र बेच्ने वेला अझै भएको छैन ।’