FLASH NEWS
  • Loading...

२७५ सासंदको हिसाव यस्ताे छ

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९२ पटक पढिएको
२७५ सासंदको हिसाव यस्ताे छ

मङ्सिर ४ गते भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले दोलखाको अन्तिम मत परिणाम औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेता पनि त्यहाँबाट नेकपा (माओवादी केन्द्र) का गंगा कार्की निर्वाचित भइसकेका छन् ।

यो सँगसँगै समानुपातिक मतगणना पनि सकिएको छ । आयोगले सिस्टममा प्रविष्ट भएका तथ्याङ्कहरूलाई रुजु गर्दै अन्तिम मत परिणाम घोषणा गर्न बाँकी जुन अहिले भएको झिनो मतले तलमाथि हुनसक्छ । त्यो सङ्ख्याले समानुपातिक सिट बाँडफाँडमा खासै असर नपर्ने देखिन्छ ।

प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमा पाँच स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवारहरू निर्वाचित भएर सांसद बन्दा १२ राजनीतिक दलबाट सांसदहरू निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट ५७ जना सांसदहरू निर्वाचित हुँदा नेकपा (एमाले) बाट ४४ जना, नेकपा (माओवादी केन्द्र) बाट १८ जना, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबाट समान सात/सात जना निर्वाचित भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्नबाट वञ्चित भएको छ । यस दलबाट १० जना निर्वाचित हुँदा प्रत्यक्षमा एक जना मात्र सांसद निर्वाचित गर्न सफल भएको सिके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ ।

तीन प्रतिशतको थ्रेसहोल्ड नकटाए पनि प्रत्यक्षमा निर्वाचित भएका नेकपा (एस) जस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट चार जना, नागरिक उन्मुक्ति पार्टीबाट तीन जना, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाट एक/एक जना गरी कूल १७५ जना निर्वाचित भएका छन् ।

समानुपातिक मा एमाले पहिलो

प्रतिनिधि सभाका कुल २७५ सिट मध्ये ११० सिट समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था नेपालको संविधानले गरेको छ । यसका लागि समानुपातिक तर्फ खसेको गणनायोग्य मतलाई ११० ले भाग गरिन्छ र भाग गर्दा आउने संख्या बराबर एक उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

समानुपातिक सिट बाँडफाँड गर्दा विभिन्न दलहरूले समानुपातिकमा पाएको कूल सदर मतको योगफल निकालिन्छ ।

कुनै पनि दलले समानुपातिक निर्वाचन अन्तर्गत प्राप्त मत ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेको खण्डमा उक्त पार्टीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पाएको भोट मार्फत् कुनै पनि उम्मेदवार जिताउन पाउँदैन । यसले गर्दा प्रत्यक्ष निर्वाचनमा जति धेरै सिट ल्याए पनि समानुपातिक तर्फ पाएको मत यसै खेर जान्छ ।

कूल सदर मत र त्यसको तीन प्रतिशतको हिसाव निकालेपछि तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूले पाएको मत घटाएर तीन प्रतिशत वा सो भन्दा बढी मत ल्याएका दलहरूको मतको योगफल निकालिन्छ । त्यसलाई ११० सिटले भाग गरेर सङ्ख्या निकालिन्छ । यदि उक्त सङ्ख्या दशमलवमा आएमा त्यसलाई शून्यान्तर गरेर सग्लो अंक निकालिन्छ ।

समानुपातिक सिट सङ्ख्या निकालेको विधि 

प्रत्यक्ष निर्वाचनमार्फत ४४ सांसद निर्वाचित गर्दै दोस्रो दल बनेको नेकपा (एमाले) ले समानुपातिकमा २७ लाख ९१ हजार ७३४ मत पाउँदै पहिलो दल बनेको छ । समानुपातिक सिट बाँडफाँड गर्दा यसले दलले ३४ सिट ल्याउने प्रारम्भिक तथ्याङ्कले देखाउँछ तर आयोगको सूत्र प्रयोग गरेर सिट सङ्ख्या निकाल्दा एक सिट घट्न सक्ने सम्भावना छ । समानुपातिकमा ३४ सिट पाउने एमालेले प्रत्यक्षमा ४४ सिट गरी ७८ सिटसँग संसद्मा प्रतिनिधित्व गर्ने देखिएको छ ।

राष्ट्रिय दल बनेका सात दलले पाउने समानुपातिक सिट सङ्ख्या । यसमा एक/सिट तलमाथि हुन सक्नेछ ।

समानुपातिकमा २६ लाख ६६ हजार २६२ मत पाएको नेपाली कांग्रेसले ३२ सिट पाउने देखिन्छ । प्रत्यक्षमा ५७ र समानुपातिकको ३२ सिट गरी कांग्रेस ८९ सिटसहित संसद्मा ठुलो दल बनेको छ ।

प्रत्यक्षमा १८ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा १३ सिट पाउँदै कूल ३२ सिटे दल बन्ने भएको छ । त्यस्तै भर्खरै दर्ता भएको रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ । निर्वाचन आयोगले अन्तिम मत परिणाम सार्वजनिक गर्दै सेन्ट लग मेथडबाट सूत्र प्रयोग गर्दा एक सिट बढ्ने सम्भावना देखिन्छ । २० सिट पाउने यस दल सरकारमा सामेल हुन्छ वा हुँदैन धेरैको चासो छ ।

प्रत्यक्षमा सात सिट जितेको राप्रपाले समानुपातिकमा पनि समान सिट जित्दै १४ सिट पाउने देखिएको छ । २०७४ को चुनावमा संसद्मा एकल प्रतिनिधित्व गरेको यस पार्टी अहिले राष्ट्रिय दल बनेको हो ।

सत्ता गठबन्धनबाट एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी नेपालले प्रत्यक्षमा सात र समानुपातिकबाट पाँच सिट गरी १२ सिट ल्याउने भएको छ । सरकारबाट बाहिरिएको यस पार्टी पुनः सरकारमा सहभागी हुनसक्ने सम्भावना पनि देखिएको छ ।

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी जनमत पार्टीले प्रत्यक्षमा एक सिट र समानुपातिकमा पाँच सिट प्राप्त गर्दै ६ सिट पाउने देखिन्छ । यो पार्टीका अध्यक्ष सिके राउतले आफूबिना प्रदेश र संघमा सरकार बन्न नसक्ने र आफूहरू नै निर्णायक भएको बताइरहेका छन् ।

अन्य दलहरूले समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड पार नगर्दा प्रत्यक्षमा सिट जिते पनि समानुपातिकमा पाएको मत खेर गएको छ ।

समानुपातिकमा दलहरूले पाएको मतको तालिका

समानुपातिकमा ४७ दलहरूले मत पाएको भएतापनि तीन प्रतशितको थ्रेसहोल्ड कटाउने सात दल मात्र भएका छन् । चुनावमा सहभागी भएका दलहरूले पाएको मतलाई तलको ग्राफमा राखिएको छ । यहाँ प्रतिशत भनेको समानुपातिकमा सबै दलहरूले पाएको कूल मत एक करोड चार लाख ३० हजार ४३९ लाई सम्वन्धित दलले पाएको मतसँग प्रतिशत निकालिएको हो ।