FLASH NEWS
  • Loading...

योजना माग्छन मतदाता, आश्वासन बाँड्छन उम्मेदवार

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४८ पटक पढिएको
योजना माग्छन मतदाता, आश्वासन बाँड्छन उम्मेदवार

निर्वाचनमा उम्मेदवारले पैसा वा योजना बाँड्नु आचार संहिता उल्लङ्घन हो तर यहाँका अधिकांश मतदाता नै कार्यक्षमता भन्दा ‘योजनामा पैसा हाल्न सक्ने’ उम्मेदवार खोज्न थालेका छन ।
नगर तथा गाउँपालिका प्रमुख/उपप्रमुखलाई टोलै पिच्छे विभिन्न योजनाको फेहरिस्त पेस गर्दै मत बार्गेनिङ गर्ने बढेका छन । नगर/गाउँपालिका अव कसरी उन्नत बनाउने भिजन भएको नेता भन्दाबढी मतदाताहरु पैसाको लोभ गर्ने बढी देखिएका छन । दलहरु ले पनि ‘मतदाता’ मात्रलाई मात्र होईन योजना र भविश्यका पद बाँडेर कार्यकर्ता ब्यवस्थापन गरेका छन ।
मत बार्गेनिङ गर्नेमा अधिकाँश आमा समुह र युवा क्लव छन । महिला मतदाताको संख्या बढी भएकोले उम्मेदवारहरु पनि मतदाताको मनोभाव अनुसार प्रतिवद्धता पत्र भन्दै ‘हात हातमा योजना बाँड्दै’ घरदैलो गरिरहेका छन ।
‘जस्ले हामीलाई विकास दिन्छ उसैलाई भोट दिने हो’ बेनी नगरपालिकाकी उमादेवी पौडेलले भनिन, ‘समुहको भवन बनाउने, सामुदायिक विद्यालयमा पैसा दिने नेता चाहिएको छ ।’
मतदातालाई प्रभावित पार्न दलहरुले छुट्टै समुह बनाएर हरेक समुदायका तत्काल सम्बोधन गर्नु पर्ने आवश्यकताहरु, रोजगारी आवश्यकता भएका युवा पुस्ता फेहरिस्त नै तयार पार्ने र सोही अनुसार मागको मौखिक सम्बोधन गर्ने गरेका छन । केही उम्मेदवारले मेलापर्व वा मन्दीर निर्माण भन्दै पैसा बाँडेको पनि चर्चा छ ।
‘समुदायले चन्दा उठाएर चलाएका विद्यालय भवन जीर्ण छन, फर्निचर छैन, समुदायले खनेका सडक अलपत्र र जीर्ण छन । त्यसैले टोलै पिच्छे माग पत्र आउने गरेको छ’ एक उम्मेदवारले भने, ‘मतदाताको घरमा गयो, छोराछोरी, बुहारीलाई जागिर खोज्नु पर्‍यो भन्छन, सकेसम्म ब्यवस्थापन गर्छु भन्ने वचन गरेको छु । जनप्रतिनिधीले रोजगारी सृजना गर्ने योजना पनि बनाएको छु ।’
पुरुष युवा मतदाताहरुमा साँझ होटल/भट्टीमा उम्मेदवारका मान्छेहरुसँग बस्ने र मोटरसाईकलमा तेलको कुपन माग्ने प्रवृत्ति थप बढेको छ । अझ दुर्गम वस्तीसम्मै मौलाउन थालेको छ । आमा समुहलाई भवन, भाँडा वा कार्यालय ब्यवस्थापनका सामाग्रीको माग, वयस्क पुरुषलाई विद्यालय, सडक र खानेपानीका योजना माग र युवाहरुलाई खेलकुद सामाग्री, मोटरसाईकलमा तेल र साँझ यसो जलपान माग सम्बोधन नगर्ने कुनै दल चोखा छैनन । आचार संहिता न मतदाताले बुझेका छन, न उम्मेदवार र दलले पालना ।