FLASH NEWS
  • Loading...

कहाँ गए सामुदायीक सिकाई केन्द्र ? खै सामाजिक परिचालक ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१२ पटक पढिएको
कहाँ गए सामुदायीक सिकाई केन्द्र ? खै सामाजिक परिचालक ?

औपचारिक शिक्षा लिन वीचमै विद्यालय छुटेका वयस्क नागरिकलाई जीवन पर्यन्त सिकाइ अवधारणा अन्र्तगत वैकल्पिक माध्यमबाट पठन पाठन गराउने उद्देश्यले स्थापना गरिएका सामुदायीक सिकाइ केन्द्र गुमनाम छ ।
त्यसैगरी सामुदायीक सिकाइ केन्द्र संञ्चालन गर्न नियुक्त गरिएका सामाजीक परिचालक पनि उद्देश्य अनुसार परिचालित छैनन । काम गरी खाने कम शिक्षित समुह, विद्यालयबाहिर रहेका युवा, थप शिक्षा लिन चाहेका तर विद्यालय गएर औपचारिक शिक्षा लिन नसकेका मानिकालागी सिकारुको क्षमता, माग र रुचिमा आधारित भै जुन समय र परिस्थिती उपयुक्त हुन्छ सोही अनुसार शिक्षालाई निरन्तरता दिन सामुदायीक सिकाइ केन्द बनाईका थिए ।
‘विद्यालय तहको पढाई पुरा नगरी बीचमै विद्यालय छोडेका नागरिकको शिक्षाको गुणस्तर कमजोर तथा पौढ साक्षरता दर न्यून रहेको स्थितीमा सामुदायीक सिकाइ केन्द्रले समुदायकै सकृयतामा यस्ता जनसंख्या पहिचान गरी सीप विकास र आय आर्जनमा जोड्दै सिकाइ गराउने उद्देश्य थियो’ शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले भने, ‘सामुदायीक सिकाइ केन्द्र र उत्तिनै संख्याका सामाजिक परिचालक स्थानीय तहलाई हस्तान्त्रण गरेका हौं । अहिले पनि कार्यक्रम कार्यान्वयन पुस्तिकामा स्थानीय तहमा एकमुष्ठ बजेट आईरहेको देखिन्छ ।’
समुदायमा न्यून आय र न्यून क्षमता भएकै कारण ब्यक्तिले औपचारिक शिक्षा छोड्ने भएकोले उनीहरुलाई सिकाइ केन्द्रमा आवद्ध गराई आयआर्जनका सीप, अनौपचारिक र खुल्ला सिकाइ गराउने उद्देश्यले साविकको शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्रले शिक्षा कार्यालय मार्फत सामुदायीक परिचालक नियुक्त भएका हुन । मानिसले जीवनभर सिक्न सक्छ भन्ने विश्वाससहित सफल जीवनकालागी आवश्यक पर्ने सीप, ज्ञान र अभिवृत्ति आवश्यक हुने भएकोले जीवन प्रर्यन्त शिक्षाकालागी सामुदायीक अध्ययन केन्द्र उपयुक्त माध्यम मानिन्छन ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार स्थानीय तहमा समाहित हुनु अघि जिल्लामा २२ वटा सामुदायीक सिकाइ केन्द्र संञ्चालित थिए । राज्य पुन:संरचना भएसँगै साविक शिक्षा कार्यालय मातहत संञ्चालित सामुदाइक सिकाई केन्द्र र त्यहाँ कार्यरत सामुदायीक परिचालक स्थानीय तहमा समाहित भएका थिए ।
स्थानीय तहमा समाहित भएसँगै सामुदाइक सिकाई केन्द्र निस्कृय छन । सामुदायिक परिचालकहरु मध्य केही नजिकको विद्यालयमा, केही वडा कार्यालयमा हाँजिर छन । केही घरमै बसेर सेवासुविधा लिँदै आएका छन । संघिय सरकारले सिकाई केन्द्र संञ्चालन गर्न पारिश्रमिक एकमुष्ठ बार्षिक एक लाख पठाउने गरेको छ । परिचालकले मासिक ८ हजार पारिश्रमिक पाउँछन । अपुग रकम स्थानीय तहले ब्यवस्था गर्दै आएका छन ।
‘गाउँमा सामुदायीक सिकाई केन्द्र स्थापना भएको थियो तर त्यहाँ उद्देश्य अनुरुप अनौपचारिक शिक्षा संञ्चालन थिएन । त्यसैले पालिकाको सहमतिमा केन्द्रमा रहेका सामाजिक परिचालकलाई स्कुलमा बोलाई बालविकास कक्षामा अध्यापन गराउन लगाएका छौं’ अन्नपूर्ण गाउँपालिका, ६ स्थित खिवाङ आधारभुत विद्यालयका प्रध्यानध्यापक राजेन्द्र खड्काले भने, ‘गाउँको विमा रहेको एउटा घरको कोठामा राखिएको सामुदायिक केन्द्रमा बोर्ड र दुई वटा रिजिष्टर बाहेक केही थिएन । स्कुलमा ल्याएपछि कोठा भाडा बचेको छ, कर्मचारीले काम पनि पाएका छन ।’
दुर्गम गाउँका मात्र होईन, वेनी नगरपालिका भित्रकै सामुदायीक सिकाइ केन्द्र पनि अलपत्र छन । बजेट र कार्यक्रम स्थानीय तहमा समाहित भएपनि सामुदायीक सिकाइ केन्द्रमा नियुक्त भएका सामाजिक परिचालकहरुको काम, कर्तब्य र अधिकार प्रष्ट नहुँदा सिकाइ केन्द्र अलपत्र परेका हुन । बेनी नगरपालिका भित्रका केही सामाजिक परिचालकलाई वडा कार्यालयमा सहयोगीको रुपमा र केही विद्यालयमा हाँजिर भै वालविकास केन्द्रमा कार्यरत रहेका छन ।
बेनी नगरपालिकाका शिक्षा शाखाका अनुसार नगरका १० वटा वडामध्य ७ वटा वडामा सामुदायीक सिकाइ केन्द र ६ वटामा सामाजिक परिचालक नियुक्त छन । निस्कृय प्राय: सामुदायीक सिकाइ केन्द्रलाई कसरी संञ्चालन गर्ने अध्ययन टोली गठन गरेको छ ।
‘बेनी नगरपालिका अन्र्तगतका सिकाइ केन्द्र र परिचालकहरु अलपत्र छन । तलवभत्ता गैरहेको छ र उद्देश्य अनुरुप कार्यान्वयन भैरहेको छैन’ बेनी नगरपालिकाका शिक्षा अधिकृत अर्जुन पौडेलले भने, ‘सामुदायीक अध्ययन केन्द्र र परिचालकको काम, कर्तब्य र अधिकार प्रष्ट बुझ्न र परिचालनको संभावना अध्ययनगर्न अध्ययन टोलीले प्रतिवेदन बनाएको छ । कार्यापालिकाले प्रतिवेदन अनुमोदन गरेपछि नयाँ शैलीमा काम गर्ने गरी केन्द्रहरु सकृय बनाउँछौं ।’