FLASH NEWS
  • Loading...

जिल्लाको अक्सिजन श्रोत बन्दै बेनी अस्पताल

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२२ पटक पढिएको
जिल्लाको अक्सिजन श्रोत बन्दै बेनी अस्पताल

शुक्रवार राती छिमेकी जिल्ला बाग्लुङ्गको धवलागिरी अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अक्सिजन दिनु पर्ने भयो तर अस्पतालसँग अक्सिजन नभएको खवर आएपछि बेनी अस्पतालले १० वटा अक्सिजन सिलिण्डर पठायो । समयमै अक्सिजन पाएपछि संक्रमितको स्वास्थ्य सुधार भयो ।
कोरोना संक्रमित अधिकांश विरामीलाई अक्सिजनको जरुरी हुने गरेको छ । अक्सिजन दिनु पर्ने संक्रमितको बढ्दा सहरका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भैरहेको छ । कतिपय संक्रमितले अक्सिजन नपाएरै मृत्युवरण गर्नु परेको छ । अस्पतालहरुले अक्सिजन नभएको भन्दै विरामी भर्ना गर्न छोडेका छन ।
जनसाँङ्खीक आँकडामा सानो जिल्लामा दैनिक तीन अङ्कको संख्यामा कोरोना संक्रमण बढ्न थालेपछि यहाँको बेनी अस्पतालले आफुलाई ‘अक्सिजन बैंक’ को रुपमा विकसित गर्ने र जिल्लाका स्वास्थ्य संस्थाकालागी अक्सिजनको श्रोत अस्पताल बनाउन जुटेको छ ।
‘विरामीलाई अक्सिजन दिने कुरा प्राविधिक तर संवेदनशिल विषय हो । गम्भीर विरामीलाई हाई प्रेसरमा अक्सिजन दिँदा ठूलो सिलिण्डरले २–३ घन्टा मात्र पुग्ने हो । अक्सिजनको संकटको वेलामा खोजेको वेला अक्सिजन पाईदैन’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष वेलबहादुर कटुवालले भने, ‘हाम्रा गाउँपालिकाका कोरोना अस्पतालमा ५–७ वटा भन्दाबढी सिलिण्डर छैनन । त्यसैले अक्सिजन रिफिल गर्ने सक्ने प्लान्ट रहेको बेनी अस्पतालले सिलिण्डरको जोहो गरी अक्सिजन बैंक वा अक्सिजन श्रोत अस्पतालको रुपमा विकास गर्न खोजेका छौ ।’
बेनी अस्पतालमा अहिले ४ वटा साना, ४ मझौला र ९९ वटा ठूला अक्सिजन सिलिण्डर छन । यस बाहेक ५ वटा अक्सिजन कन्सन्टेटर पनि छन । केही सिलिण्डर बाहिरबाट आउने भनिएको छ । ठूला ७४ वटा अस्पतालकै हुन । २२ वटा राष्ट्रिय अनुसन्धान र प्रहरीले बेनीका विभिन्न ठाउँबाट खोजेर ल्याएका र ३ वटा ब्यक्तिगत सहयोग प्राप्त भएका हुन । त्यसैगरी ५ वटा कन्सन्टेटरमध्य ४ वटा अस्पतालका र १ वटा स्थानीय एक ब्यापारीले खरिद गरी सहयोग उपलब्ध गराएका हुन ।
बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जितेन्द्र कँडेलका अनुसार सोमबार विहानसम्म बेनी अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्य १८ जनालाई अक्सिजन चढाईएको छ । अक्सिजन दिएकामध्य ४ जनालाई हाईप्रेसरमा अक्सिजन दिएर राखिएको छ ।
बेनी अस्पतालले कोरोना संक्रमणलाई लक्षितगरी ६२ लाख ४० हजार लागतमा अक्सिजन प्लान्ट जोडेको छ । अस्पतालको आईसोलेसन वार्डका ५ वटा वेडमा मात्र पाईपबाट सोझै हाईप्रेसर अक्सिजन दिन सकिन्छ । प्लान्टबाट छुट्टै दैनिक १० वटा सिलिण्डर रिफिल गर्न सकिन्छ ।
‘अस्पताल ब्यवस्थापन समिति अक्सिजन श्रोत अस्पतालको रुपमा विकास गर्न लाग्नु भएको छ । तर परिस्थिती अव त्यस्तो नहुन सक्छ । अहिले दैनिक ५० वटा सिलिण्डर खपत भैरहेको छ’ मेसु डा.कंडेलले भने, ‘प्लान्टबाट सवै बेडमा सोझै हाई प्रेसरमा अक्सिजन पाउँदा रिफिल क्षमता कम हुन्छ । हाम्रो प्लान्टबाट अक्सिजन रिफिल नथेगेपछि पोखरा रिफिल गर्न पठाएका छौ, ५ दिन भयो, पालो नै पाएका छैनौं ।’
त्यसैविच कोरोनाबाट संक्रमितको उपचारमा अक्सिजन अत्यावश्यक भैसकेको वेला यहाँका स्थानीय तहमा रहेका कोरोना अस्पतालमा अक्सिजन सिलिण्डर प्रयाप्त छैनन । धवलागिरी, अन्नपूर्ण, मालिका, रघुगंगा गाउँपालिकाका अति दुर्गम वस्तीका संक्रमितलाई स्वास्थ्य संस्था ल्याउनै समस्या छ । वल्न तल्न गापाका कोरोना अस्पताल विरामी पुऱ्याएपनि अक्सिजन नै नपाउने अवस्था झन विकराल देखिएको छ ।
दुर्गम धवलागिरी गाउँपालिकाले स्थानीय कोरोना अस्पतालमै १५ वटा अक्सिजनसहित २० वेड क्षमताको आईसोलेसन ब्यवस्थापन गरेको छ । छुट्टै सवै स्वास्थयचौकीमा एक–एक वटा अक्सिजन, अक्सीमिटर र भ्यापोराईजर मेशिन राखेको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै अर्को दुर्गम रघुगंगा गाउँपालिकाले पनि कोरोनाबाट संक्रमितको उपचारमा सानो ५ र ठूलो १५ वटागरी २० वटा अक्सिजन सिलिण्डर रिफिलगरी कोभिड अस्पतालमा राखेको जनाएको छ । गाउँपालिका भित्रका सवै ८ वटा स्वास्थ्यचौकीमा आपतकालिन प्रयोगकालागी थप १–१ वटा अक्सिजन सिलिण्डर पुऱ्याईएको छ ।
त्यसैगरी अन्नपूर्णमा संञ्चालित कोभिड अस्पतालमा ५ वटा, शिख र तातोपानी स्वास्थ चौकीमा २–२ वटागरी गाउँपालिकामा ९ वटा अक्सिजन सिलिडर छन । यीमध्य ४ वटा रिक्त नभएपनि प्रयोग भएका हुन ।
मालिका गाउँपालिका, ६ दरवाङ स्थित कोरोना अस्पतालमा २ वटा अक्सिजन सिलिण्डर रहेका छन । नजिकै दरवाङ प्राथमिक स्वास्थ्य चौकीमा ७ वटा अक्सिजन सिलिण्डर छन । कोभिड अस्पतालको एउटा सिलिण्डर एम्बुलेन्समा जोडिएको छ ।
त्यस्तै मंगला गाउँपालिकाको कोभिड अस्पतालमा २ वटा अक्सिजनसहित ५ शैया क्षमताको आईसोलेसन स्थापना गरेको छ । काठका खाट राखेर छुट्टै १० शैयाको प्रि आईसोलेन स्थापना पनि गरिएको छ ।
‘कोरोना संक्रमितको संख्या बृद्धीभएपछि थप ६ वटा अक्सिजन सिलिण्डर, केही अक्सोमिटर समेतका स्वास्थ्य सामाग्री प्रदेश स्वास्थ्य मन्त्रालयमा माग गरिएको छ’ कोभिड अस्पतालकी मेडिकल अधिकृत डा रोशनी पुर्जाले भनिन, ‘कोरोना संकलन ब्यवस्थापन समिति र स्वास्थ्यकर्मी सम्मिलित टोलीले वस्ती/होम भिजिट गरी शंकास्पद विरामीको पहिचान र होमआईसोलेसनमा बसेका विरामीको अवस्था बुझिरहेका छौं ।’