FLASH NEWS
  • Loading...

कुन स्थानीय तहमा आईसोलेसन र अक्सिजन क्षमता कति ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८९ पटक पढिएको
कुन स्थानीय तहमा आईसोलेसन र अक्सिजन क्षमता कति ?

कोरोनाको नयाँ भेरियन्टबाट ग्रसित अधिकांश विरामीलाई अक्सिजनको जरुरी हुने गरेको छ । अक्सिजन दिनु पर्ने संक्रमितको बढ्दा सहरका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भैरहेको छ । कतिपय संक्रमितले अक्सिजन नपाएरै मृत्युवरण गर्नु परेको छ । अस्पतालहरुले अक्सिजन नभएको भन्दै विरामी भर्ना गर्न छोडेका छन ।
त्यसैविच कोरोनाबाट संक्रमितको उपचारमा अक्सिजन अत्यावश्यक भैसकेको अवस्थामा यहाँका कोरोना अस्पताल तथा आईसोलेसन निर्माण र अक्सिजनको ब्यवस्थापनमा ढिलाई रहेका छन ।
बेनी अस्पताल तथा स्थानीय तहमा रहेका कोरोना अस्पतालमा रहेका आईसोलेसनमा प्रयाप्त अक्सिजन सिलिण्डर नभएपनि खाली शैया मात्र राखिएका छन ।
‘जव भयो राती, तव….ताती’ भन्ने उखान जस्तै कोरोना संक्रमणले गाँज्दै लगेपछि वल्न तात्न थालेका स्थानीय निकायलाई यतिवेला अक्सिजन सिलिण्डर पाउन समस्या भैरहेको छ ।
बेनी अस्पतालले कोरोना संक्रमणलाई लक्षितगरी ६२ लाख ४० हजार लागतमा अक्सिजन प्लान्ट जोडेको छ । यहाँबाट दैनिक १० वटा सिलिण्डर भर्न सकिन्छ तर जिल्लाका स्वास्थ्य संस्थामा अक्सिजन सिलिण्डर नै उपलब्धता छैन ।
वेनी अस्पतालमा ४ वटा साना, ४ वटा मझौला र ३४ वटा ठूलागरी ४२ वटा अक्सिजन सिलिण्डर रहेका छन ।
अस्पतालको जनरल वार्डमा पाईप लाईनबाट विरामीको शैयासम्म अक्सिजन पाईप पुऱ्याईएको भएपनि कोरोना ब्लकमा भने अक्सिजनको ब्यवस्थापन भएको छैन । छिमेकी पर्वतको जलजला गाउँपालिका समेत जिल्लाभरका विरामीको सेवा क्षेत्र बेनी अस्पतालमा उपलब्ध अक्सिजन सिलिण्डर अप्रयाप्त हो ।
‘सक्रमण भयावह फैलदै जानु, ठूलो सेवा क्षेत्र रहनु तर प्रयाप्त सिलिण्डर नहुँदा आफ्नै अक्सिजन प्लान्ट भएपनि चाहिएको वेला उपयोगमा समस्या हुन सक्छ’ अस्पताल प्रमुख डा.जीतेन्द्र कंडेलले भने ‘किनभने कोभिड ब्लकमा पाईप लाईनले विरामीको वेडसम्म अक्सीजन पुऱ्याईएको छैन ।’
दुर्गम धवलागिरी गाउँपालिकाले स्थानीय कोरोना अस्पतालमै १५ वटा अक्सिजनसहित २० वेड क्षमताको आईसोलेसन ब्यवस्थापन गरेको छ । छुट्टै सवै स्वास्थयचौकीमा एक–एक वटा अक्सिजन, अक्सीमिटर र भ्यापोराईजर मेशिन राखेको गाउँपालिकाले जनाएको छ ।
आईसोलेसनमा संक्रमित बसेपछि वेड तथा कोठालाई डिसइन्फेक्सन गर्न प्रयाप्त स्यानिटाईजर र छर्ने उपकरण, पिपिई र मास्क लगाएतका स्वास्थ्य सामाग्रीको जोहो गरिएको गाउँपालिकाले जनाएको छ ।
‘जनसंख्याको अनुपात, संक्रमित र अक्सिजन दिनु पर्ने विरामीको औषत निकालेर अक्सिजन सिलिण्डरहरु भरेर जोहो गरेका छौं’ धवलागिरी गापा प्रमुख थमसरा पुनले भनिन, ‘हाईफ्लो अक्सिजन दिनु पर्ने विरामीलाई रिफर नै गर्ने हो, सामान्य मात्रामा अक्सिजन दिनु पर्नेलाई यी सिलिण्डरले पुग्छ होला, जिल्लामै रिफिल गर्न मिल्ने भएकोले पनि सजिलो हुने सोचेका छौं ।’


अर्को दुर्गम रघुगंगा गाउँपालिकाले पनि कोरोनाबाट संक्रमितको उपचारमा अक्सिजन अत्यावश्यक हुने अक्सिजनको प्रयाप्त भण्डारण गरेको जनाएको छ ।
रघुगंगा गाउँपालिकामा सानो ५ र ठूलो १५ वटागरी २० वटा अक्सिजन सिलिण्डर रिफिलगरी कोभिड अस्पतालमा तयारी अवस्थामा राखिएको छ । गाउँपालिका भित्रका सवै ८ वटा स्वास्थ्यचौकीमा आपतकालिन प्रयोगकालागी थप १–१ वटा अक्सिजन सिलिण्डर पुऱ्याईएको छ ।
‘रघुगंगा गापाका वडामा १० वेडका प्रि आईसोलेन र कोभिड अस्पतालमा मेडिकल अधिकृत सहित १० वेडको शैया र अक्सिजन तयारी राखेका छौं’ रघुगंगा गापा अध्यक्ष भववहादुर भण्डारीले भने, ‘विरामीलाई तत्काल अस्पताल पुऱ्याउन गाउँपालिका तथा सवै वडामा एक–एक वटा गाडी तयारी अवस्थामा राखेका छौं ।’
त्यसैगरी अन्नपूर्णमा संञ्चालित कोभिड अस्पतालमा ५ वटा, शिख र तातोपानी स्वास्थ चौकीमा २–२ वटागरी गाउँपालिकामा ९ वटा अक्सिजन सिलिडर छन । यीमध्य ४ वटा रिक्त नभएपनि प्रयोग भएका हुन ।
गाउँपालिकाका स्वास्थ्य संयोजक समुद्र बरुवालका अनुसार गाउँपालिकाले ४ नम्बर वडा नारच्याङ्मा ५ बेडको कोरोना अस्पताल र २० वेडको प्रिआईसोलेसन स्थापना गरेको छ । यहाँको कोरोना अस्पतालमा कार्यरत लक्ष्मी पन्थीले स्थानीयका उपचारमा राम्रो प्रभाव राखेकी भएपनि म्याद थप नभएपछि मेडिकल अधिकृत छैनन ।
मालिका गाउँपालिका, ६ दरवाङ स्थित कोरोना अस्पतालमा २ वटा अक्सिजन सिलिण्डर रहेका छन । नजिकै दरवाङ प्राथमिक स्वास्थ्य चौकीमा भने २ वटा रित्ता समेत ७ वटा अक्सिजन सिलिण्डर छन । कोभिड अस्पतालको एउटा सिलिण्डर एम्बुलेन्समा जोडिएको छ ।
‘कोभिड अस्पताल र प्राथमिक स्वास्थय केन्द्रमागरी ९ वटा अक्सिजन सिलिण्डर छन । संक्रमितको संख्या बढ्दै गएकोले नथेग्ने आंकलन गरी थप २० वटा अक्सिजन सिलिण्डर माग भएको छ’ दरवाङ कोभिड अस्पतालका डा. रोशन आचार्यले भने, ‘देशभर अक्सिजन सिलिण्डरकै अभाव रहेको वेला तत्काल सिलिण्डर ल्याउन कति सजिलो होला ।’
त्यस्तै मंगला गाउँपालिकाको कोभिड अस्पतालमा २ वटा अक्सिजनसहित ५ शैया क्षमताको आईसोलेसन स्थापना गरेको छ । काठका खाट राखेर छुट्टै १० शैयाको प्रि आईसोलेन स्थापना पनि गरिएको छ ।
‘कोरोना संक्रमितको संख्या बृद्धीभएपछि थप ६ वटा अक्सिजन सिलिण्डर, केही अक्सोमिटर समेतका स्वास्थ्य सामाग्री प्रदेश स्वास्थ्य मन्त्रालयमा माग गरिएको छ’ कोभिड अस्पतालकी मेडिकल अधिकृत डा रोशनी पुर्जाले भनिन, ‘कोरोना संकलन ब्यवस्थापन समिति र स्वास्थ्यकर्मी सम्मिलित टोलीले वस्ती/होम भिजिट गरी शंकास्पद विरामीको पहिचान र होमआईसोलेसनमा बसेका विरामीको अवस्था बुझिरहेका छौं ।’