FLASH NEWS
  • Loading...

आज राती १२ बजेबाट लकडाउन, अत्यावसेक बाहेक सवै सेवा बन्द

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२६ पटक पढिएको
आज राती १२ बजेबाट लकडाउन, अत्यावसेक बाहेक सवै सेवा बन्द

म्याग्दीमा कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न आज राती १२ बजेबाट १० दिन लकडाउन सुरु हुँदैछ ।

बेनी नगरपाकिलाको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय अनुसार जिल्ला कोरोना संकट ब्यवस्थापन समितिले २२ गते रातीदेखि १० दिन लकडाउन गर्न निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना र माईकिङ मार्फत समेत निषेधाज्ञाको बारेमा सूचित गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी मार्फत जारी भएको निषेध आदेशमा कोरोना रोकथाम र नियन्त्रणका लागि बेनी नगरपालिकाका सबै वडाहरुमा लागू हुने गरि निषेधाज्ञा लागू हुने जनाईएको छ ।

लकडाउन अवधिमा अत्याबश्यक बाहेकको यातायात, बजार लगायतका क्षेत्र बन्द हुने भएका छन् । निषेधाज्ञामा अत्याबश्यक बाहेकका नीजि तथा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । सो अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, तोकिएको समयमा खाद्य बस्तु खरिद गर्ने लगायतका अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन र हिँडडुल गर्न पाउने छैनन ।

तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, ग्याँस, पानी, पशुन्छीका दाना लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विहान ७ देखि १० बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जनाईएको छ । निषेधाज्ञाको समयमा धार्मिक स्थलमा पुजाआजा गर्ने, कुनैपनि जमघटन तथा भेला हुने गतिविधि सञ्चालन गर्न रोक लगाईएको प्रजिअ अधिकारीले बताए ।

लकडाउनको अवधिमा बैँक तथा वित्तिय संस्थाहरु न्यूनमत कर्मचारी उपस्थित गराएर सञ्चालन हुने भएपनि सहकारी तथा बिमा संस्थाहरु भने बन्द हुनेछन् । यस अवधिमा सार्वजनिक विकास निर्माणका कार्यहरुलाई निर्वाध रुपमा सञ्चालन गरिने र संलग्न मजदुरहरुको हकमा सम्बन्धीत आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण व्यवसायीहरुले निश्चित ठाउँमा बस्ने प्रवन्ध मिलाउन भनिएको छ ।

म्याग्दीमा १ सय २ जनाभन्दाबढी सक्रिय संक्रमित होम आईसोलेसनमा रहेका छन ।

त्यसैगरी कोरोना संक्रमण फैलिएसँगै धवलागिरि गाउँपालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्धारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्म गाउँपालिका, वडा र सेवा केन्द्रहरु मार्फत प्रवाह हुने नियमित सेवाहरु बन्द गरिएको जनाइएको छ ।

गाउँपालिकाले आम नागरिकलाई मास्कको अनिवार्य प्रयोग, सावुन पानीले हात धुने र स्यानिटाइज गर्ने कार्यमा जोड दिन अनुरोध गरेको छ ।