FLASH NEWS
  • Loading...

साढे २७ हजार नेपाली आफ्नै खर्चमा स्वदेश आइपुगे

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९५ पटक पढिएको
साढे २७ हजार नेपाली आफ्नै खर्चमा स्वदेश आइपुगे

कोरोना महामारीका कारण विभिन्न मुलुकमा समस्यामा परेका २७ हजार ५३२ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा समस्यमा परेका नेपालीहरुलाई घर फर्काउन सञ्चालन गरिएको पहिलो चरणका चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ । योसँगै पहिलो चरणमा तय भएका स्वदेश फिर्ती उडान पूरा भएका छन् । पहिलो चरणमा १७५ वटा चार्टर्ड जहाजले उडान भरेका हुन् ।
स्वदेश फर्किएकामध्ये सबैभन्दा धेरै यूएईबाट फर्केका छन् । यूएईबाट ५ हजार ८३५ नेपाली फर्केका हुन् । यूएईपछि कुवेतबाट ठूलो संख्यामा नेपाली फर्केका छन् । कुवेतबाट ५ हजार २४३ स्वदेश आइपुगेका छन् । त्यसैगरी साउदी अरेबियाबाट ४ हजार १८४, मलेसियाबाट ३ हजार २०९ र कतारबाट २ हजार ८८४ नेपाली नेपाल फर्किएका छन् । बंगालदेशबाट ८४१, जापानबाट ७५६, बहराइनबाट ७१२ र माल्दिभ्सबाट ७०९ जना नेपाली पनि स्वदेश फर्किएका छन् ।
यसैगरी ओमनबाट ४९२, अष्ट्रेलियाबाट ४८३, दक्षिण कोरिया ४७६, अमेरिकाबाट ४२३, थाइल्याण्डबाट ३२६ र बेलायतबाट २२९ स्वदेश आएका छन् । सिंगापुरबाट १४६, इजराइल र साइप्रसबाट १२७, फिलिपिन्सबाट १०८, चीनबाट १०५, हङकङबाट ८९, पाकिस्तानबाट ७२, टिर्कीबाट ३४ र सबैभन्दा कम श्रीलंकाबाट ५ नेपाली स्वदेश आइपुगेका छन् ।
प्रदेशगत हिसाबले सबैभन्दा बढी बाग्मती प्रदेशका ८ हजार ३९, प्रदेश नं १ का ५ हजार ६५५, प्रदेश नं ५ का ४ हजार ५४९, प्रदेश नं २ का ४ हजार ४८०, गण्डकी प्रदेशका ३ हजार ५१८, सुदूरपश्चिम प्रदेशका ६७७ र कर्णाली प्रदेशका ६१६ नेपाल घर फर्किएका छन् ।
नेपाली लिएर आएका जहाजले विदेशमा रोजगारीको क्रममा ज्यान गुमाएका १६७ नेपालीको शव समेत बोकेर ल्याएका छन् । सिएमसीका अनुसार लकडाउनको अवधिमा विभिन्न एयरलाइन्सका चार्टर्ड जहाजमा १ सय ६७ जना नेपालीको शव नेपाल ल्याइएको हो ।
यस अवधिमा सबैभन्दा बढी साउदी अरबियाबाट ५९ जना, मलेसियाबाट ४१ जना, कतारबाट ४१ जना, यूएईबाट १० जना, बहराइनबाट ६ जना, कुवेतबाट ८ जना, माल्दिभ्स र ओमनबाट एकरएक जनाको गरी १ सय ६७ जना नेपालीको शव नेपाल ल्याएर आफन्तको जिम्मा लगाइएको छ ।
सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको थियो । सोही निर्णय अनुरुप जेठ २८ गतेबाट विभिन्न एयरलाइन्सका चार्टर्ड जहाजले नेपाली फर्काउन सुरु गरेका थिए । फर्किएका सबै नेपाली आफ्नै खर्चमा समान्यभन्दा दोब्बर महँगो भाडा तिरेर चार्टर्ड फ्लाइटमा आएका हुन् । उनीहरुमध्ये धेरैजसोले आफ्नै पैसाले टिकट काटेका हुन् भने केहीलाई रोजगारदाता कम्पनीले उपलब्ध गराएको हो ।
स्वदेश फर्कनको लागि विदेशस्थित नेपाली दूतावासमा अझै हजारौँ नेपालीहरुले आवेदन दिएका छन् । दूतावासले पनि प्राथिमकतामा परेका हजारौँ नेपालीको नाम सूचीमा निकालिरहेका छन् तर, सरकारले सीमित चार्टर्ड जहाज उडाइरहेकोले उनीहरु स्वदेश फर्कन समस्या भएको छ । आफैं टिकट काट्न सक्ने अवस्थामा नरहेका र रोजगारी पनि गुमाइसकेका नेपालीलाई कहिलेदेखि र कसरी फर्काउन सुरु गर्ने भन्ने अझैसम्म टुंगो लागकेो छैन ।
सरकारले असार २८ गतेसम्मका लागि तय भएका सबै चार्टर्ड उडान पूरा भएपछि थप ४२ चार्टर्ड उडान तय गरेको छ । मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको थप चार्टर्ड उडान तालिका सार्वजनिक गरेको हो । यी उडानमा पनि आफ्नै खर्चमा टिकट काट्न सक्ने वा रोजगारदाताले टिकट उपलब्ध गराएका नेपाली मात्र फर्किन सक्नेछन् । https://www.dcnepal.com/2020/07/171882/