FLASH NEWS
  • Loading...

चिनियाँ सेनासँगको झडपमा ३ जना भारतीय सैनिकको मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८८ पटक पढिएको
चिनियाँ सेनासँगको झडपमा ३ जना भारतीय सैनिकको मृत्यु

लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी र दुई जना जवान मारिएका छन् । लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएका हुन् ।
भारतीय सेनाको मुख्यालयले दिएको जानकारीअनुसार सोमबार राति चिनियाँ सेनासँग लामो समय झडप भएको थियो । इन्डिया टुडेका अनुसार झडपमा ढुंगामुढा प्रयोग गरिए पनि गोली हानाहान भने भएको थिएन ।
भारतीय सेनाका उच्च अधिकारीका अनुसार अहिले घटनास्थलमा दुवै देशका सैनिक अधिकारी पुगिसकेका छन् । झडपमा दुवैतर्फ मानवीय क्षति भएको भारतीय सेनाले बताए पनि चीनतर्फ के कति क्षति भयो भन्ने जानकारी भने उपलब्ध गराएको छैन । उनीहरुबीच स्थितिलाई साम्य पार्ने विषयमा कुराकानी भइरहेको पनि भारतीय सेनालाई उद्धृत गर्दै इन्डिया टुडले लेखेको छ ।
लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशबीच तनाव उत्पन्न भएको छ । यसअघि पनि पाङगोङ सो क्षेत्रमा दुई देशका सैनिकबीच हात हालाहाल भएको थियो ।
गत महिना चीनले लद्दाख सीमा नजिकै गाल्वान उपत्यका र पाङगोङ क्षेत्रमा थप सुरक्षा फौज खटाएको थियो । भारतले सीमारेखा(लाइन अफ् एक्चुअल कन्ट्रोल) पार गर्दै भौतिक संरचना निर्माण गरेको भन्दै चीनले त्यसलाई रोक्न अतिरिक्त फौज खटाएको थियो । त्यही क्रममा भारतीय सेना र चिनियाँ सेनाबीच झडपसमेत भएको थियो ।
दुई देशबीच तनाव चलिरहे पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस भने जारी रहेको छ । त्यसका लागि दुवै पक्षबीच औपचारिक र अनौपचारिक संवाद पनि चलिरहेको छ । तर पनि तनाव कम हुनुको साटो थप बढ्दै गएको छ । भारत र चीनबीच सीमामा आइपर्ने तनाव सम्बन्धमा छलफल सैनिक अधिकारीहरूको नेतृत्वमा एउटा विशेष संयन्त्र नै गठन गरिएको छ ।