FLASH NEWS
  • Loading...

गुञ्जन छोड्यो असारे भाका

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २५० पटक पढिएको
गुञ्जन छोड्यो असारे भाका

१५ असार ।

यी असारे गीतको संकलक वा गीतका रचयीता को हुन ? यस संवाददाता अवभिज्ञ छ । तर धान खेतमा यी गित सँधै गुन्जने गर्छन । यी कृषक गीतकार/संकलकलाई हिलाम्मे सलाम गर्दै असारे भाकालाई अक्षरमा गाउन चाहन्छु ।

 कोरस ः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला

यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।

हलीवाउसे ः असार मास, दवदवे हिलो छुनलाई घिन लाग्यो

पातली नानीलाई फरिया किन्दा, छ विस ऋण लाग्यो ।

रोपाहार ः त्यो पारी गाउँको देउरालीपाखो भरियो सल्लाले

 घरमा जहान, पाल्ने आँट छैन, के गर्ला यस्ताले ।

हातको पाँजोभरी धानको वेर्ना लिएर रोप्दै गरेका रोपाहारहरुले यस्तैयस्तै गीतको गेडाले हिलोमा साहा लगाउँदै लछप्प भिजेका हलिवाउसेलाई असारे भाकामा सवालको जवाफ दिए । सामान्यतयाः असार र साउन महिनामा खेतमा प्रयाप्त पानी लगाएर खनजोतगरी हिलो बनाई धानको विरुवा रोपन्छ । भारयित एवं पश्चिमी शैली र संस्कृतिको प्रभाव बढ्दै जाँदा नेपाली समाजको बहुमुल्य संस्कृति कृषकका खेतखेतका गहृामा गुञ्जने असारे गीत विस्तारै लोपहुँदै जान थालेको छ । असारे भाका अव अक्षरहरुमा अभिलेखित हुन थालेको छ ।नेपाली कृषकहरुको मुख्यवाली धान रोप्ने बेलामा निक्कै चटारो हुन्छ । मानो खाएर मुरी उब्जाउनु पर्ने असारसाउनको धान रोपाईको चटारो विचपनि हलिबाउसे र रोपाहारहरु विच मनोविनोद हुने गर्छ । युवायुवतीहरु हिलो छ्यापाछ्याप खेल्दै लय र छन्द मिलाएर खेतका फाँटहरुमा घन्काउने भाकालाई असारे गीत भनिन्छ ।

असारे गीतको विशेषता भनेकै यसको मौलिकता सहितको रोचकता हो । शायद त्यसैले होला असारे गीतमा दुखःसुखका भोगाईहरुलाई युवायुवतीदेखी पाका उमेरका हलिवाउसे र रोपाहरको ओठले टपक्क टिपेको हुन्छ । हिलाम्मे खेतमा खनजोत र धानको विउ रोप्दा आउने छुपछुपु को मधुर संगितमा पनि मनमा लागेका जुनसुकै भावना सजिलै गीतिलयमा गाउन सकिने हुंदा असारेगीतले सवैलाई उत्तिकै आकर्षण गर्छ । कहिले काहीं भद्रताबाट सुरु हुने तरुनीतन्नेरी विचको हिलो छ्यापाछ्यापको रमाईलो रौसिंदै मर्यादाका लक्ष्मणरेखा अतिक्रमण गर्दै कपडा भित्रसम्म पुग्छन ।

केटा ः हलो है भाँच्यो, जुवा है भाँच्यो डाँडैको खेतले

ऋण पनि लाग्यो, दिनपनि लाग्यो, एकछिनको भेटले

केटी ः त्यो पाखो कोप्चो धान है रोप्दा हात खायो हिलोले

          कस्ताको फेला परियो बाबै, एकछिनको भेटले ।

कोरस ः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला

यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।

 तर बैदेसिक रोजगारीको प्रभावले होला हिजोआज गाउँघरका खेतबाट असारे भाका सुस्ताउँदै जान थालेको छ । बेंशीका फाँटमा समेत पछिल्ला केही बर्षदेखी असारेगीत गुन्जन छोडेको छ । बसाईसराइको चापले बेंशीका फाँटहरुमा प्लटिङ्ग शुरु भएको र गाउँघरका खेतहरु बाँझै हुन थालेपछि नेपाली समाजको महत्वपूर्ण संस्कृति लोपुन्मुख छ । बैदेशिक रोजगारीले युवापुस्ता पलाएन भएपछि असारे गीतका भाकाहरु समेत हराउन थालेका छन ।

केटा ः छुपुमा छुपु धान है रोप, हातको वीउ छउञ्जेल

          मसिनो खाउली, सुकिलो लाउली, यो मेरो जीउ छउञ्जेल ।

केटी ः हातको मैला सुनको थैला, के गर्नु धनले

          साग र सिस्नु खाएको बेंश आनन्दी मनले ।

कोरस ः छुपुमा छुपु हिलोमा धान, रोपेर छोडौंला

यो मन जस्तो त्यो मन भए पिरती जोडौंला ।

असार १५ दघि च्यूरा खानु, साउन १५ खिर खानु भन्ने नेपाली उखान छ । असार १५ गते धान दिवसको रुपमा तन्नेरी र कर्मचारीलाई कृषक खेतमा एक छिन पुगेर छोरीबुहारीलाई हिलो छ्याप्न रमाईलो गर्ने थलो भएको छ । असार धानका फाँटमा कंक्रिटका घर रोपिएपछि असारे भाका पनि अक्षरमा सिमित छन । यो बर्ष मनसुन ढिलो सुरु भएकोले लेकबैंशीका वस्तीमा रोपाई राम्रो संग भएको छैन ।

कृषी ज्ञान केन्द्रमा रहेको साविक तथ्याङ्ढ अनुसार जिल्लामा ३ हजार ८ सय ९५ हेक्टर क्षेत्रफलमा गरिने धानखेतीबाट १२ हजार ५ सय ६० मेट्रीकटन धानको उत्पादन हुन्छ । कुल धानखेती योग्य जमिनको १६ प्रतिशत क्षेत्रफलमा सिंचाई सुविधा छ । उपल्लो क्षेत्रमा असार भित्र धान रोपाई नभए साउनबाट पानी चिसो हुने हुंदा पाक्ने बेलामा गेडा नलाग्ने समस्या हुन्छ ।

धान रोप्न समेत पहाडी खेतमा समेत आधुनिक प्रविधीको मिनीटिलर हलो र पावर टेलर हलोले जोत्न थालेपछि गोरु विस्थापित हुन थालेका छन । कान्ला र ससाना फोट्यान भएका पहाडी खेतबारीमा हलगोरु नारेर जोत्दै आएको परम्परागत खेती प्रणालीमा औजार प्रयोगमा कृषकको आकर्षण बढेको छ । पहाडका ससाना फोट्यानमा आधुनिक हलो मिनी टिलरले परम्परागत हलोले भन्दाबढी छेउकुना जोत्न पनि सकिन्छ । फराकिला फाँटमा मात्र होईन माथिल्लो ग्रामिण क्षेत्रका ससाना खेतवारीमा मिनीटिलरको प्रयोग बढेको छ ।

पाँच दिनको गोरुले जोत्ने मेलो ट्याक्टरले जोत्दा एक दिनमै सकिन्छ । पानी, रोपाहार र बाउसेको ब्यवस्था मिलाए, कुलोमा पानीकालागी झगडा पनि गर्नु पर्दैन । एकै दिन दुईतिन जनाको खेतमा धान रोप्न भ्याईन्छ मौवाफाँटका कृषक जीतबहादुर पाईजाले भने, ‘गोरुले जोत्ने भन्दा लागत धेरै सस्तो र छिटो । तर कान्ला भएको पहाडी खेतमा बोकेर उकाल्ने/ओराल्ने गर्नु पर्ने भैरहन्छ ।

बैदेशिक रोजगारीले गाउँघरमा खेत जोत्ने मान्छे पाईन छोड्यो र पशुपालन पेशा पनि हराउँन थालेपछि पहाडी क्षेत्रमा समेत मिनी टिलर ट्याक्टर विकल्प बन्न थालेको हो । ट्याक्टरबाट जोत्ने प्रविधी दुर्गम वस्तीमा पनि भित्रिएपछि बर्षौ देखी बाँझो बनेका लेकाली फाँटहरुमा खनजोत शुरु भएको छ ।

छिटो, सस्तो, सजिलो र उर्वरामा पनि फरक पर्ने भएकोले पहाडका गाउँवस्तीमा समेत मिनीटिलर हलो (ट्याक्टर) प्रयोग बढेको छ भकिम्लीका कृषक राजु पुनले भने, ‘गोरुलाई बाहृै महिना घाँसपात गर्न र छुट्टै हेरालु राख्नु भन्दा यो थप सजिलो भएको हो ।

जिल्लाका ताकम, अर्मन, बाबियाचौर, रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, भकिम्ली, पात्लेखेत, हिस्तान, घार, विम, राम्चे, शिख, घतान, पात्लेखेत, पिप्ले, समेतका वस्तीका कृषकले ट्याक्टरको प्रयोगले खनजोत गर्न थालेका हुन । सानो आकारको भएकोले सानासाना कान्लामा ट्याक्टरलाइ बोकेर उकाल्ने/ओलाल्ने गरेका छन । कृषक समुहले ट्याक्टरले खेत जोतेको समुहका सदस्यसंग प्रति घन्टा तीन सय र अन्यसंग तीन सय ५० रुपैया शुल्क लिने गरेका छन् ।