FLASH NEWS
  • Loading...

शेरावेंशी–मुत्तिनाथ केवलकारः स्थानीयलाई पदमार्ग नास्ने पिरलो

  • पुनहिल डट कम
  • ११ महिना अघि
  • ११५७ पटक पढिएको
शेरावेंशी–मुत्तिनाथ केवलकारः स्थानीयलाई पदमार्ग नास्ने पिरलो

पर्वतको मोदी गाउँपालिकाको शेरावेंशीबाट सुरु झै मुस्ताङको मुक्तिनाथ जोड्ने ८०.१ किलोमिटर लामो शेरावेंशी–मुत्तिनाथ केवलकार आयोजनाबाट अन्नपूर्ण चक्रिय पदमार्गका पर्यटन ब्यवसायी शसंकित भएका छन ।
मुक्तिनाथ दर्शन प्रालिले परियोजना विकासकालागी वातावरणीय प्रभाव मुल्याङकन (इआइए) प्रयोजनार्थ स्थानीयसंग रायसुझाव संकलन सुरु गरेसँगै पर्यटन ब्यवसायी केवलकारले पदमार्ग नास्ने भन्दै चिन्ता ब्यक्त गर्न थालेका छन ।
‘हामीलाई झुक्याईएको छ । केवुलकार आयोजनाको विरोध गर्दा विकास विरोधी देखिएपनि कालन्तरमा यस क्षेत्रको पदयात्रा पर्यटनमा आश्रित हाम्रो ब्यवसाय नष्ट हुने छ । सोझा जनता अन्यौलमा छौं । गाउँलेहरु छलफलमै छौं’ पर्यटकीय गन्तब्य घोरेपानीकी पर्यटन ब्यवसायी मीना पुनले भनिन, ‘समय छँदै केवुलकार आयोजनाबाट दीर्घकालिन रुपमा समुदायमा पर्न सक्ने लाभहानी बारे जनप्रतिनिधी र स्थानीय सरकारले पनि जनताको पक्षमा चासो राख्ने विश्वास गरेका छौं ।’
एक सय ५५ अर्व लागत अनुमान गरिएको र विश्वको सवै भन्दा लामो केवलकार परियोजना भनिएको शेरावेंशी–मुक्तिनाथ केवलकार आयोजनाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अर्न्तगत १ सय ७७ हेक्टर ब्यक्तिगत खेतीयोग्य जग्गा र ३ सय ८२ हेक्टर वन क्षेत्र समेट्ने छ । केवलकारमा ७ सय ७० वटा डिब्बा रहने बताईएको छ ।
अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने कास्कीको विरेठाँटी, तिखेढुङ्गा, उल्लेरी म्याग्दीको घोरेपानी, शिख, घार, तातोपानी, दाना र मुस्ताङका घाँसा, लेते, टुक्चे, मार्फा र जोमसोम क्षेक्रका ब्यवसायीहरु सामाजिक संञ्जालमा ‘मुत्तिनाथ केवलकार जन सरोकार समुह’ बनाई पर्यटन ब्यवसायमा पर्न सक्ने संभावित जोखिम र संभावना बारे बहस सुरु गरेका हुन ।
‘केवुलकार संञ्चालन सम्बन्धमा पालिका स्तरमा गरिएको सार्वजनिक सुनुवाईलाई स्थानीय वडातहमा जनतासँग छलफल गरी समस्या र गुनासा सम्बोधन गरेपछि मात्र गाउँपालिकाले आयोजना स्वीकृती दिने/नदिने निर्णय गर्छौ’ म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले भने, ‘जनताको गुनासा र समस्या नसुनी आयोजनाहरुले राजनैतिक अगुवाहरुको मात्र समर्थन लिएर अघी बढ्दा भविश्यमा हुनसक्ने जोखिमको स्थानीय सरकारले जिम्मेवारी लिन सक्दैन । राज्यको तल्लो तह वडा हो, त्यहींबाट सहमती लिएर आउनु पर्छ ।’

शेरावेंशी–मुक्तिनाथ केवलकार पर्वतको मोदी गाउँपालिकाको शेरावेंशीमा सुरु स्टेशन रही कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोरेपानी, शिख, घार, नारच्याङ र दाना तथा मुस्ताङका थासाङ, घरपझोङ र वारागुङमुक्तिक्षेत्र गाउँपालिकाका घाँसा, लेते, टुक्चे, मार्फा, जोमसोम (ठिनी) कागवेनीहुँदै मुक्तिनाथ (रानीपौवा)मा अन्तिम स्टेशन हुने छ ।
‘सार्वजनिक सुनुवाई कार्यक्रममा पदमार्ग र पर्यटन ब्यवसाय सुक्ने समेतका जनताका गुनासा राख्यौं । आयोजनाले स्थानीय प्रमुख पर्यटकीय गन्तब्यहरुमा यात्रु ओर्लने र चढ्ने छुट्टै स्टेसन राखिने, एउटा टिकट सात दिनसम्म चल्ने भएकोले पदयात्रीले विचका गन्तब्यहरु घुमफिरगरी समयमै केवलकार चढ्न सक्ने, केवलकारको स्टेसन, टावर रहने जग्गाको मुअब्जा दिने र स्थानीयलाई शेयर तथा रोजगारी ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाएका छन’ अन्नपूर्ण गाउँपालिका, ६ घारका पूर्व वडाध्यक्ष रहेका काँग्रेस जिल्ला नेता कृष्ण बरुवालले भने, ‘वातावरणीय प्रभाव मुल्याङकन रिपोर्टले सवै कुरा विस्तृत ल्याउला नै । अहिले आयोजनाका जिम्मेवार मान्छेहरुले भने अनुसार केवुलकारले यहाँको पर्यटनलाई नष्ट गर्ने हैन वरु बढवा नै दिने छ ।’
प्रस्तावित केवलकार निर्माण हुने क्षेत्रको जमिनमा सडक, जमिनमाथी तार (केवुलकार) र माथी आकासमा हवाई मार्ग एकसाथ संञ्चालन हुने छन । अहिले अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घोरेपानीबाट तल कास्कीको अन्नपूर्ण गाउँपालिका, उल्लेरी जोड्ने सडक धमाधम निर्माण भैरहेको छ । पोखरा–जोमसोम हवाई रुटको तल जमिनभन्दामाथी केवुलकार बन्न लागेको हो । कास्कीको विरेठाँटी–उल्लेरी–घोरेपानी–शिखघार–तातोपानी–घाँसा–लेते–जोमसोम–कागवेनी–मुक्तिनाथ पर्यटन पदमार्ग मात्र होईन भोट–मधेश नुन, ऊन र खाद्यान्नको ब्यापार गर्ने परम्पगत ट्रेड रुट पनि हो ।
शेरावेंशी–मुक्तिनाथ केवलकार आयोजनाका फिल्ड संयोजक इन्जिनियर नविन शाहीका अनुसार पर्वत, कास्की, म्याग्दी र मुस्ताङ जिल्लाका ६ वटा गाउँपालिका समेटिने केवुलकार परियोजनाको कास्कीको उल्लेरी, म्याग्दीको घोरेपानी, शिख, घार, नारच्याङ, रुप्से (काप्रेगाउँ) र मुस्ताङको घाँसा, लेते, कोवाङ, टुक्चे, मार्फा, जोमसोम (ठिनी), कागवेनी, खिङ्गा र रानीपौवामा गरी १९ वटा स्टेशन रहने छन ।
‘शेरावेंशी–मुक्तिनाथ केवलकार आयोजनाको विस्तृत डिपिआर तयार भै इआईए रिपोर्ट बनाउन प्रभावित क्षेत्रका जनतासँग रायसल्लाह संकलन चरणमा छौं । अव नेपाल सरकारसँग आयोजना विकास सम्झौता भएपछि जग्गा प्राप्ती, आर्थिक ब्यवस्थापन र लगानीकर्ताको सुनिश्चितता गरी ठेक्दार छनौट प्रकृया सुरु हुन्छ’ आयोजनाका फिल्ड संयोजक नविन शाहीले भने, ‘आयोजनाले स्थानीयवासीको चिन्ता र चासो सम्बोधन गर्ने छ । हिंड्न रुचाउने पर्यटककालागी केवलकारले कुनै असर पुर्‍याउँदैन वरु हिंड्न नसक्ने पर्यटकलाई घोरेपानी समेतका पर्यटकीय गन्तब्यमा पुग्न मद्दत नै गर्ने छ ।’
यो केवलकार रेखामा रहने स्टेशनहरुमध्य घोडेपानी, नारच्याङ, लेते, जोमसोम र कागवेनीमा यात्रुले अनिवार्य ओर्लेर डिब्बा परिवर्तन गर्नु पर्ने छ । अन्य स्टेशनमा भने यात्रुको इच्छा अनुसार यात्रु ओर्लने र चढ्ने गर्न सक्ने बताईएको छ । केवुलकारको एउटा टिकटको समयभ्यालु एक हप्ताको हुने छ । टिकट लिएर सुरु स्टेसनबाट चढेको यात्रु विचको स्टेशनबाट ओर्लेर कुनै गन्तब्यमा पैदलयात्रा गरी एक हप्ता भित्र केवुलकार लाईनका कुनै पनि स्टेशनबाट चढेर अन्तिम गन्तब्यमा पुग्न सक्ने सुविधा रहने पनि भनिएको छ ।
आयोजनाका फिल्ड संयोजक शाहीका अनुसार आयोजनाको हालसम्म नेपाली लगानीकर्ताहरु मात्र रहेपछि भविश्यमा विदेशी खासगरी भारतीय लगानी भित्रन सक्ने संभावना छ । आयोजनााको ५० प्रतिशतबढी काम भएपछि स्थानीयसँग लगानी बोर्डको सम्झौता अनुसार स्थानीयले शेयर लगानी गर्न पाउने छन ।