- Loading...
समाचार कक्षमा प्रहरी हस्तक्षेप र पत्रकार धरपकड : लोकतन्त्र र संविधानमाथि सोझो प्रहार

- पुनहिल डट कम
- २ हप्ता अघि
- ११२ पटक पढिएको
समाचारको स्रोत पत्ता लगाउने र प्रकाशित समाचारप्रति असहमति जनाउने बहानामा नेपाल प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्ष (न्यूजरूम) मा छिरेर पत्रकारहरूलाई नियन्त्रणमा लिने र धरपकड गर्ने क्रम बढाएपछि चौतर्फी विरोध र चिन्ता व्यक्त गरिएको छ।
बिना पक्राउ पुर्जी, अदालतको अनुमतिबिना र स्पष्ट कानूनी आधारबिना सादा पोशाकका प्रहरीहरू समाचार कक्षमै पुगेर पत्रकारहरूमाथि गरेको यो कदमलाई सञ्चार क्षेत्रका अगुवाहरूले संविधान र प्रेस स्वतन्त्रतामाथिको सीधा हस्तक्षेप भनेका छन्।
पत्रकार र पत्रकारिताके नियमन गर्ने सरकारी निकाय प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै कार्यालय समय सकिएपछि लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि बिना कारण र कानूनी आधार पत्रकारहरूलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय भएको जनाएको छ।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने कानूनी जिम्मेवारी प्रेस काउन्सिलको भएको स्मरण गराउँदै समाचारकै विषयमा सीधा प्रहरी परिचालन गर्नुको सट्टा स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न आग्रह गरिएको छ।

यस्तै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले समाचारको स्रोत पत्ता लगाउने उद्देश्यले प्रहरी समाचार कक्षमा प्रवेश गरी पत्रकार पक्राउ गर्नु असंवैधानिक कदम भएको भन्दै यसको घोर भर्त्सना गरेकी छिन।
महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारमाथि धरपकड र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेपले संविधान र लोकतन्त्रको हुर्मत लिने काम भएको बताउँदै पक्राउ गरिएका पत्रकारको तत्काल रिहाइ र यस्ता हर्कत बन्द गर्न माग गरेका छन।
घटनाबारे चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस सल्लाहकार दीपा दाहालले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै संलग्नता र पूर्वजानकारी नरहेको उल्लेख गरेकी छिन। दहालले लेखेकी छिन, प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न र समाचार कक्षमा कुनै प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ।
तर, कान्तिपुर दैनिकका पूर्वसम्पादक एवं वरिष्ठ पत्रकार सुधिर शर्माले प्रधानमन्त्री कार्यालयको यो पन्छिने शैलीप्रति कडा प्रश्न उठाएका छन । शर्माले प्रधानमन्त्री कार्यालयले यो घटनामा आफ्नो संलग्नता र जानकारी नरहेको भनेर मात्र उम्किन नमिल्ने बताउँदै कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्ने स्पष्ट उल्लेख गरेका छन। यदि गृह मन्त्रालय वा प्रधानमन्त्री कार्यालयको साँच्चै असहमति हो भने यो निर्णय कसले, किन र कुन नियतले लिएको हो, सम्बन्धित अधिकारीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउनुपर्ने र त्यसो नगरिए मुलुकमा द्वैध शासन सञ्चालन भइरहेको बुझ्नुपर्ने शर्माको भनाइ छ।
हिमाल खबरका पूर्वसम्पादक शिव गाउँलेले पनि कडा टिप्पणी गर्दै समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने मुलुकमा संविधान नै समाप्त भएको अवस्था सिर्जना हुने चेतावनी दिनुभएको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पछि लड्दै गरिए पनि पहिले संविधान जोगाउन लड्नुपर्ने स्थिति आएको उहाँको ठम्याइ छ।
अन्तर्राष्ट्रिय सञ्चारविद्, कानूनी विज्ञ र प्रेस स्वतन्त्रताका अन्तर्राष्ट्रिय पक्षधर संस्थाहरूका अनुसार समाचारको स्रोत संरक्षण गर्नु पत्रकारिताको मूल मर्म हो। अन्तर्राष्ट्रिय मान्यता अनुसार समाचारको स्रोत गोप्य राख्न पाउनु पत्रकारको निसर्गसिद्ध अधिकार हो। स्रोत पत्ता लगाउन प्रहरी प्रशासन समाचार कक्षमा छिर्नु भनेको राज्यले सूचनाको प्रवाहलाई कुण्ठित पार्ने र नागरिकको सूचना पाउने अधिकारमाथि प्रत्यक्ष प्रहार गर्नु हो।
प्रहरीको यस्तो भयपूर्ण हस्तक्षेपले पत्रकारहरूमाझ त्रासको वातावरण सिर्जना गर्छ, जसले गर्दा खोजमूलक पत्रकारिता र भ्रष्टाचारविरोधी समाचारहरू बाहिर आउन छाड्छन्। पत्रकारले लेखेको समाचारमा चित्त नबुझे प्रेस काउन्सिल वा अदालत जाने संवैधानिक बाटो हुँदाहुँदै प्रहरी बल प्रयोग गर्नु ‘प्रहरी राज्य’ तर्फको खतरनाक संकेत भएको विज्ञहरूको विश्लेषण छ।
प्रहरी प्रशासनले चालेको यो असंवैधानिक कदमले केवल प्रेस स्वतन्त्रतामाथि मात्र नभई सम्पूर्ण लोकतान्त्रिक व्यवस्था र संविधानको अस्तित्वमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य






























