FLASH NEWS
  • Loading...

मुस्ताङमा हरियो क्रान्ति कि जलवायु संकट ?

मुस्ताङमा हरियो क्रान्ति कि जलवायु संकट ?

लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४, घमीकी छिरिङ डोल्मा गुरुङ (५०) अचेल आफ्नै बारीमा फलेका ताजा ब्रोकाउली, जुकेनी र टमाटर टिपेर होटलका पाहुनालाई पस्किन्छिन् ।

फुस्रो पहाडको फेदीमा रहेको डोल्माको करेसाबारी काउली, ब्रोकाउली, टमाटर, जुकेनी र रायोले भरिएको छ । वारागुङ मुक्तिक्षेत्र–३, छुक्साङकी छिमी गुरुङले पनि बारीमा काँक्रो र करेला फलाएकी छन् ।
‘हिजो जस्तै लाग्छ, १२ दिन पैदल हिंडेर बेंशी पुगेपछि मात्रै हरियो तरकारी खान पाइन्थ्यो,’ डोल्माले विगत सम्झिइन्, ‘१३ वर्षकी हुँदा कात्तिक महिनामा बाउको पछि लागेर जोमसोम, घोरेपानी, नौडाँडाहुँदै पोखरा गएकी थिएँ । पहिलोपटक हरियो तरकारी खाएको त्यहीं हो । अहिले आफ्नो बारीमा तिनै तरकारी लटरम्म फलेको देख्दा सपना जस्तै लाग्छ ।’
केही वर्षअघिसम्म आलु, फापर र उवा मात्र फल्ने बारीमा हरिया तरकारी देख्दा डोल्मा र छिरिङहरू आफैं चकित छन्– हिजो किन फल्दैनथ्यो, आज किन फल्छ ?
सदियौंदेखि आलु, फापर र उवामा निर्भर मुस्ताङको कृषि अहिले फेरिंदैछ । तल्लो क्षेत्रमा मात्र फल्ने तरकारी र फलफूल माथिल्लो भेगमा पनि फल्न थालेका छन् । सडक पुगेपछि बजारसम्म उत्पादन पु¥याउन सजिलो भएको छ । किसानको आम्दानीको बाटो फराकिलो भएको छ ।
तर यो परिवर्तन सडक, प्रविधि र बजारले ल्याएको कृषि समृद्धिको कथा मात्र होइन । मुस्ताङी भान्सामा थपिएको हरियो स्वादसँगै हिमाली पारिस्थितिकीय प्रणालीमा भइरहेको उथलपुथलको कथा पनि हो ।
अझ ठूलो प्रश्न त, मुस्ताङको बारीमा जलवायु परिवर्तनका असर देखिइसक्दा त्यससँग जुध्न बनेका नीति, कार्यक्रम र तीन तहका सरकार किसानको खेतसम्म पुगेका छन् कि छैनन् भन्ने हो ।


हरियो हुँदै गएको मुस्ताङ, बदलिँदै गएको मौसम
कहिल्यै नफलेको तरकारी लटरम्म फल्न थालेपछि स्थानीयको भान्सामा पोषण र स्वाद थपिएको छ । तल्लो क्षेत्रमा मात्र फल्ने स्याउ उपल्लो मुस्ताङको लोमन्थाङमा फल्न थालेको छ । हिमाली भेगमा फलेको तरकारी र स्याउको व्यावसायिक उत्पादनले स्थानीयलाई आर्थिक लाभ दिएको छ ।
तर तत्कालका लागि अवसर देखिएको यो परिवर्तन दीर्घकालमा जलवायु संकटको दुष्प्रभाव बन्न सक्ने कृषि वैज्ञानिक टीकाबहादुर कार्की बताउँछन् ।
‘जलवायु परिवर्तनको अनेक प्रभावमध्ये बाली हुने क्षेत्र विस्तारै माथि सर्दै जानु (क्लाइमेट जोन शिफ्टिङ) एक हो,’ कार्की भन्छन्, ‘यो विश्वव्यापी जलवायु संकटले निम्त्याएको गम्भीर दुष्परिणाम हो ।’
तापक्रम वृद्धिसँगै सडक, प्रविधि र बजारको पहुँचले पनि उपल्लो मुस्ताङमा तल्लो क्षेत्रका तरकारी तथा फलफूलको खेती सम्भव बनाएको छ । तर मौसममा आएको यो बदलावले हिउँ र बरफ पग्लने प्रक्रिया तीव्र पार्दै हिमाली इकोसिस्टममा जोखिम बढाएको छ ।
हिमपात घट्ने र तापक्रम बढ्ने क्रम जारी रहँदा बाली तथा पशुचौपायाको उत्पादन चक्र खलबलिनुका साथै वनस्पति संरचनामा स्थायी परिवर्तन आउने जोखिम छ ।
जल तथा मौसम विज्ञान कार्यालय पोखराले उपलब्ध गराएको विवरण अनुसार सन् २०१० सम्म वार्षिक औसत वर्षा ३०० मिलिमिटरभन्दा तल हुने गरेकामा सन् २०२३ सम्म आइपुग्दा बढेर ६६५ मिमी पुगेको छ । सन् ०२४ मा ३३७.८ मिमी, ०२५ मा ३७७.७ मिमी र सन् २०२६ जुलाइसम्म १७६.१ मिमी वर्षा भएको रेकर्डमा छ ।
त्यस्तै, उपल्लो मुस्ताङको छोसेरस्थित मौसम मापन केन्द्रमा पनि सन् २००९ मा २०० मिमीमुनि रहेको वर्षा सन् २०२३ मा ३३१ मिमी पुगेको छ । सन् ०२४ मा २८० मिमी, ०२५ मा २५९.४ मिमी र सन ०२६ जुलाइ सम्म छोसेरमा१३९.७ मिमी बर्षा भएको रेकर्ड छ ।
वर्षा बढ्नु र हिमपात घट्नुले माटोको आद्रता बढाएर खेती उकालो चढाए पनि स्थानीयमा त्रास बढेको छ ।
‘बारीमा स्याउ र तरकारी फल्दा खुशी त लाग्छ । तर, यो दुईदिने घामछायाँ मात्रै हो कि भन्ने डर छ,’ लोमन्थाङ गाउँपालिका–३ छोसेरकी देछेन डोल्मा गुरुङ भन्छिन्, ‘चिसो हिउँ र हिउँद हाम्रा भगवान हुन, हाम्रा सन्तानले यो वातावरण देख्न पाउलान÷नपाउलान् थाहा छैन ।’
जल तथा मौसम विज्ञान कार्यालय पोखराकी मौषमविद् सुमना रेग्मीका अनुसार जोमसोमको औषत वर्षा २५०–३५० मिमी हुनु पर्नेमा त्यो बढेर ५३०–६५० मिमीसम्म पुगेको र जोमसोम स्थित एरोसिनप्टिक केन्द्र र माथिल्लो मुस्ताङको छोसेर स्थित मौष्म मापन केन्द्र दुवैको तापक्रम र वर्षाको ठाँचामा ठूलो परिवर्तन देखिन्छ । रेग्मी यस अघि जोमसोम एरोसिनप्टिक केन्द्र प्रमुख रहेर मौषम रेकर्ड गरेकी थिईन ।

जोमसोममा सन् १९५७ देखी मौषम मापन सुरु गरेयता सन् १९७४ नोभेम्बर २८ मा हालसम्मकै बढी ८८.८ मिमी जलबर्षा÷हिमपात रेकर्ड भएको थियो । पछिल्लो एक दशकमा भने सन् २०२४ सेप्टेम्बर २८ मा उच्च ७२.७ मिमी जलवर्षा÷हिमपात मापन भएको थियो । विभागको प्रणालीले जलवर्षा र हिमपातलाइ एकमुष्ठ (मिलीमिटरमा) नाप्ने गरेको छ ।
‘मुस्ताङको तापक्रम सुरुदेखीकै रेकर्ड हेर्दा तापवृद्धी केही बढेपनि न्यूनतम र अधिकतम औषत तापक्रम एकदमै अस्थिर देखिन्छ । तर जलवर्षा भने बढेको देखिन्छ । अभिलेखलाइ मुस्ताङमा बढेका बाढीपहिरोका संख्यात्मक र मात्रात्मक वृद्धीले पनि जलवर्षाको रेकर्डलाइ पुष्टी गर्छ’ विषमविद् रेग्मीले थपिन, ‘गर्मी महिनाहरुको मात्र रेकर्ड निकालेर अध्ययन गर्दा तापवृद्धी धेरै बढेको देखिएकोले मुस्ताङमा स्नोकभर द्रुत घट्दै जाँदा हिमताल फुटने र हिमबाढी आउने जोखिम बढेको छ । यसले कृषी क्षेत्रमा पनि असर गर्छ ।’
बालीसँगै रोगकीरा पनि उक्लिए
तल्लो क्षेत्रका बाली माथि सरेजस्तै तापक्रम बढेपछि रोगकीरा पनि उकालो चढेका छन् । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरका अनुसार सुख्खा स्थानमा वर्षा बढेपछि माटोको आद्रता र तापक्रमले क्रप्स शिफ्टिङ त गराएको छ तर माथिल्लो भेगसम्मै नयाँनयाँ रोगकीरा फैलिएका छन् ।
लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ सुर्खाङका तम्डी आङ्ग्याल गुरुङ भन्छन्, ‘उपल्लो मुस्ताङमा शुरु गरिएको उन्नत आलुमा खुम्रे, डढुवा, बन्दपुतली र कत्लेकीरा देखिन थालेका छन् । स्याउमा गवारो र दागे रोग देखिन थालेपछि विषादी प्रयोग गर्नु पर्ने बाध्यता छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन रेग्मीका अनुसार तराइ÷पहाडमा मात्र देखिने रोगहरू स्याउ बगानमा देखिएका छन् । गहुँ, जौ, उवा जस्ता रैथाने बालीमा समेत पहिला कहिल्यै नदेखिएका फौजी किरा देखिएका छन् ।
पानीका मुहान सुक्न थालेपछि पालिकाले स्रोत संरक्षण गर्न पोखरी निर्माण र ग्रीनहाउस प्रविधिमा लगानी बढाए पनि प्राविधिक जनशक्तिको अभाव छ ।
आलु र स्याउमा कत्लेकीरा, भुवाइलो, पाउडर मिल्यु, भेलभेटी डार्क जस्ता रोग लोमन्थाङसम्मै देखिएका छन् । अर्कातिर इसिमोडले सार्वजनिक गरेको ‘हिन्दुकुश हिमालय स्नो अपडेट २०२६’ अनुसार हिमाली क्षेत्रमा हिमपातको दर २७.६ प्रतिशतले घटेको छ । हिउँको भण्डार रित्तिँदै जाँदा मुस्ताङको यो हरियाली आशा छिट्टै निराशामा बदलिने खतरा छ ।
लोघेकर–दामोदरकुण्ड गाउँपालिका–१ चराङका ६८ वर्षीय कर्साङ विष्ट नयाँ तरकारीले स्वाद र आम्दानी बढाए पनि रैथाने बाली मासिने चिन्ता व्यक्त गर्छन् ।
‘मौषम फेरियो, हिउँ पर्न छाड्यो । बारीमा होचो मकै र तरकारी फल्न थालेको छ । तर हाम्रा पुर्खालाई पाल्ने रैथाने उवा, फपर र कालो केराउ हराउन थालेको छ,’ उनले भने ।

मुस्ताङमा देखिएको यो परिवर्तन उत्पादनमा मात्रै होइन, खाद्य प्रणाली, संस्कृति र स्थानीय ज्ञानमा आएको फेरबदल पनि हो ।
ईसीमोड र काठमाडौं विश्वविद्यालयका डा. रोशनमान बज्राचार्यसमेतको टोलीले गरेको अध्ययन ‘सोयल स्टडी इन मुस्ताङः एसेसिङ सोयल प्रोडक्टिभिटी एण्ड अर्गानिक कार्बन लिङ्कििङ टु क्लाइमेट चेन्ज मिटिगेसन’ मा प्राकृतिक चक्र विग्रँदा माटोको ओश र जैविक कार्बन सञ्चित क्षमता घट्दै गएको उल्लेख छ, जसले हिमाली क्षेत्रको रैथाने खाद्य सुरक्षामा ठूलो जोखिम निम्त्याएको छ ।
हिमाली जिल्ला मुस्ताङङा पछिल्लो एक दशक (विसं २०७०–०८०)को अन्तरमा परम्परागत खाद्यन्नबालीको खेती गरिने क्षेत्रफल र तिनको कुल उत्पादनमा भारी गिरावत आएको छ । साविक जिल्ला विकास समिति तथा कृषि एवं पशु विकास कार्यालय मुस्ताङको तथ्याङ अनुसार ०७० को दशक र ०८० को दशकका पछिल्ला वर्षहरु विच तुलना गर्दा मकै, गहुँ, जौ र फापर जस्ता मुख्य अन्नवालीको उत्पादन आधाबढीले घटेको छ ।
तथ्याङ्क अनुसार विस ०७०/७१ मा ६०४ हेक्टर खेतीबाट १ हजार ११० मेट्रिकटन गहुँ उत्पादन भएकोमा एक दशकपछि ०८२/०८३ मा आईपुग्दा यसको क्षेत्रफल र उत्पादन दुवै ७१ बढी प्रतिशतले घटेको छ । त्यस्तै, मकै उत्पादन ६१७ मे.टनबाट घटेर एक दशकमा ३१६.६० मे.टनमा झरेको छ । फापर, जौ, उवासमेत मुस्ताङको मुख्यवालीको उत्पादन आधाबढी घटेको तथ्याङ्कले देखाउँछ ।
खाद्यान्नबाली लगाउने क्षेत्रफल र उत्पादन तिब्र घट्नुमा जलवायु परिवर्तन मात्र कारण हैन वरु खेती गर्ने जनशक्तीको अभावमा उपल्लो मुस्ताङङा जमिन बाँझिनु, किसानहरु अन्नवालीमा भन्दा तत्काल मुल्य पाइने स्याउ खेती तर्फ आर्कषित भएको, उच्चघनत्वको स्याउ खेती विस्तारहुँदा परम्परागत स्याउवालीमा हुने भित्री खेती खुम्चिनु मुख्य कारण रहेको कृषी प्राविकिकहरुको भनाइ छ ।

भिजेको भुवा, सुकेका खर्क
जलवायु परिवर्तनसँगै हिमाली खर्कमा च्याङ्ग्रा संकट गहिरिँदै गएको छ ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार च्याङ्ग्राको शरीरमा दुई तहको रौं हुन्छ । बाहिर कडा रौंले सुख्खा हिउँ तर्काउँछ भने भित्र छालासँग टाँसिएका नरम मसिनो भुवा (पश्मिना) ले च्याङ्ग्राको शरीरलाई तातो राख्छ ।
तर हिउँको सट्टा वर्षा हुँदा पानी भित्रैसम्म पुगेर पश्मिना भिज्छ । यसले गर्दा निमोनिया भएर च्याङ्ग्रा मर्न थाल्छन् । परम्परागत गोठ र चरन शैलीबाट अब च्याङ्ग्रा जोगाउन नसकिने भएकाले अनुकूलनका नयाँ उपाय अपनाउनुपर्ने पशु प्राविधिकहरूको बुझाइ छ ।
राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका प्रमुख जगदीश पाण्डे खुला चरनमा आश्रित पशुले प्रशस्त घाँस नपाएपछि मासु र पश्मिना उत्पादन घट्नु स्वाभाविक भएको बताउँछन् ।
‘परम्परागतरुपमा खुल्ला पालिने च्याङग्रालाइ अव अनुकुलित ट्रष्ट र जस्तापाताको स्थायी गोठमा सार्न आवश्यक छ,’ पाण्डे भन्छन् । तर यसका लागि नीति, बजेट, प्राविधिक सहयोग र स्थानीय आवश्यकता जोडिनुपर्छ ।
नीतिगत अस्पष्टताका कारण जलवायु संकटले निम्त्याएको समस्यासँग जुध्न हिमाली चरन खर्क व्यवस्थापनको जिम्मा स्थानीय पालिका र समुदायलाई हस्तान्तरण गर्न ढिलाइ भइसकेको कृषि वन तथा पर्यटन मन्त्रालयअन्तर्गतको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालयका उपसचिव केशव भट्ट बताउँछन् ।
भट्ट भन्छन्, ‘संघीयता अघि बनेको हिमाली चरन खर्क नीति समयानुकुल परिवर्तन गरी जलवायु अनुकूलित वासस्थान र चरनखर्क व्यवस्थापन अन्तगृत स्थानीय तहलाइ खर्क हस्तान्तरण गरिनु पर्छ ।’
नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाटा वार्षिक ३ अर्वको पश्मिना तेस्रो मुलुक नियात हुन्छ । तर यी पश्मिना नेपालको उत्पादन नभै युरोपका विभिन्न देशबाट पश्मिनाको कच्चा पदार्थ भेडाको ऊन ल्याएर प्रशोधनगरी उत्पादित पश्मिनाको सामान र पश्मिना नै निर्यात गर्ने गरिएको छ ।
नेपालको पश्मिना उद्योगमा ठूलो हिस्सा आयातित कच्चा पदार्थमा निर्भर रहेका बेला मुस्ताङमा च्याङ्ग्रा जोन बनाई पश्मिना पश्मिनाको आयात घटाउन प्रयास थालएिको छ । पश्मिना मात्र हैन, देशको प्रमुख मासु बजारको मेरुदण्ड मुस्ताङका च्याङ्ग्रा प्रमुख हुन । च्याङ्ग्राको दशैं सिजनेवल बजारबाट मुस्ताङमा बार्षिक ४० करोडबढी नगद भित्रने गरेको कृषी तथा पशु विकास कार्यालय मुस्ताङका पशु चिकित्सक लालमणी अर्यालले बताए ।
पश्मिना संकलन केन्द्र लोमन्थाङका मुख्य पस्मिना संकलक पासाङ गुरुङका अनुसार पछिल्लो ६ वर्षदेखी लोघेकरदामोदरकुण्ड र लोमन्थाङ क्षेत्रका च्याङ्ग्राबाट पश्मिना संकलन थालिएको हो । गुरुङका अनुसार गत वर्ष लोमन्थाङ संकलन केन्द्रबाट ८ सय केजी पश्मिना संकलन भएको थियो ।
यहाँ उत्पादित पस्मिना प्रति केजी ४ हजार ५ सय रुपैयाँमा नेपाल पश्मिना महाँसघले खरिद गर्ने गरेको छ । कृषकलाई पस्मिना उत्पादनमा प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले कृषी तथा पशु विकास कार्यालय मुस्ताङ मार्फत प्रति केजी ३ सय रुपैयाँकादरले प्रोत्सहान अनुदान थप दिने गरेको छ ।
सन् २०२४ मे २१ मा प्रकाशित ‘डायलग अर्थ’ मा प्रकाशित मुस्ताङ जस्तै उचाइ र भूगोल भएको भारतको लद्दाखका रैथाने च्याङ्ग्रामा गरिएको स्थलगत अध्ययनले ट्र«ान्स–हिमालयन क्षेत्रमा अत्यधिक चिसो हावा र हिउँ खप्न सक्ने च्याङ्ग्राहरुान फेरिएको मौषमी चक्रपछि वेमौषमी बर्षा र क्लाउड ब्रस्ट जस्ता मौषमी घट्नापछि र कलेजो र फोक्सोको निमोनियाको सिकार भै धमाधम मर्न थालेको उल्लेख छ ।
यसमा भने थप डाटा अपडेट दिन सकिएन ।
सडकले बजार खोल्यो, तापक्रमले खेती उकाल्यो
सडक सञ्जालको विस्तारले मुस्ताङको कृषि अर्थतन्त्रलाई नयाँ मोड दिएको छ ।
लोघेकर–दामोदरकुण्ड गाउँपालिकाकी उपाध्यक्ष छिरिङ गुरुङका अनुसार वार्षिक करोडौंको स्याउ बेंशीका शहरतिर झर्न थालेका छन् । पालिकाले स्याउ बेर्ना, ढुवानी र बगैंचा व्यवस्थापनमा अनुदान दिएर बाँझो जमिनको सदुपयोग बढाएको छ ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन भन्छन्, ‘पहिले हामी तरकारी खान बेंशी झर्नुपथ्र्यो, अहिले हामीले फलाएको तरकारी पोखरा र काठमाडौंका ठूला होटलसम्म पुग्न थालेको छ ।’ यो मुस्ताङका लागि नयाँ कमाइको बाटो बनेको छ ।
तर यही कृषि अर्थतन्त्रको आधार मानिएको स्याउ पनि जलवायु परिवर्तनको चपेटामा छ । स्याउका लागि वर्षमा कम्तीमा १२ सयदेखि १५ सय घन्टा चिलिङ आवर (७ डिग्रीभन्दा कम तापक्रम) चाहिन्छ । हिउँ पर्न छाडेपछि तल्लो मुस्ताङका बगानहरूले यो तापक्रम पाउन छाडेका छन्, जसले गर्दा किसान उचाइतर्फ सर्न बाध्य छन् ।
मुस्ताङको कृषि भूगोल एकैसाथ दुई दिशामा चलिरहेको छ, उत्पादन बजारतर्फ तल झर्दैछ, खेती भने जलवायुका कारण माथि चढ्दैछ ।
स्याउ खेती क्षेत्रफल

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अधिकतम ३ हजार ९ सय मिटरसम्मको उच्च भुभागमा स्याउ खेती गरिएको छ । तर माथिल्लो भेगमा रोपिएको स्याउमा तल्लो क्षेत्रमा भन्दा ढिलोगरी फुल्ने र ढिलैगरी पाक्ने गरेको राष्ट्रि« कृषि आधुनिकीकरण कार्यक्रम, स्याउ जोन मुस्ताङका प्रमुख भरत गौतमले बताए ।
गौतमका अनुसार बढ्दो तापक्रमका कारण परम्परागत स्याउ खेती क्षेत्रबाट माथिल्लो क्षेत्रतिर सर्दै गएपछि हिजो स्याउ फल्ने तल्लोक्षेत्रमा वातावरणीय अनुकुलता अनुसार तल्लो गर्मी क्षेत्रमा फल्ने नयाँ जातका स्याउ परिक्षण गर्ने स्याउ जोनको योजना छ ।
नेपालमा हालसम्म सिफारिस गरिएका स्याउका जातहरुमध्य ९९ प्रतिशत चिसो हावापानीमा फल्ने र १ प्रतिशतमात्र गर्मी हावापानीमा फल्ने प्रकृतिका छन । सामान्यतया नेपालमा उचाइ र आवश्यक चिस्या (चिलिङ आवर टेम्प्रेचर)का आधारमा स्याउका जात वर्गिकरण गरिएका छन । समुद्र सतहबाट २००० देखी ३००० मिटर उचाइसम्म १००० घन्टाबढी माइनस ७ डिग्रीसेल्सियस भन्दा कम चिसो चाहिने रेड डेलिसियस, स्टारकिङ डेलिसियस, गोल्डेन डेलिसियस, रोयल डेलिसियस, जोनाथन, रिचारेड र उच्च घनत्वका स्याउको खेति गरिन्छ ।
त्यस्तै १५००देखी २ हजार मिटर उचाइमा ६०० सयदेखी १००० घन्टा माइनस ७ डिग्रीसेल्सियस भन्दा कम चिसो आवश्यक पर्ने (क्रिस्पिन, कटजा, रेड जुन, किङ्गअफ पिपिन जस्ता मध्यम जातहरु र १२०० देखी १५०० मिटर उचाइमा ४०० देखी ६०० घन्टा माइनस ७ डिग्रीसेल्सियस चिसो चाहिने अन्न, भेरेड, नियोमी र ट्र«ोपिकल ब्युटी जस्ता कम चिसो चाहिने जातहरु शिफारिस गरिएका छन ।
स्याउ जोन मुस्ताङले ‘तापक्रमबृद्धी भएस“गै परम्परागत खेती क्षेत्रबाट माथिल्लो क्षेत्रमा उक्लेका स्याउ खेती अझै उत्पादकत्व, स्वाद र गुणस्तरमा परिक्षणक्रममै छन । माथिल्लो मुस्ताङमा स्याउले फाट्टफुट्ट फल्न लागेको हो, ब्यवसायीक रुपमा फलिसकेको छैन । स्याउ जोनले तल्लो मुस्ताङका घाँसा, लेते क्षेत्रमा यीनै मध्यम जातका स्याउ परिक्षण खेती गर्न थालेको हो ।
स्याउ खेतीहुने तल्लो भेगमा मात्र हैन माथिल्लो उचाइतिर सरेका स्याउ खेतीमा समेत ढुसी र ब्याक्टेरियाबाट सर्ने रोगहरु खासगरी ‘रेड माइट’ रोगको प्रकोप ब्यापक देखिएको छ । बाली जोगाउन कृषकले रासायनीक विषादीको प्रयोग बढाउँदै गरेको बेला स्याउ जोनका भरत गौतम समेतको टिमले मुस्ताङमै रैथाने घाँसमा जैविक विषादी ‘ल्याक्किट एसिड ब्याक्टेरिया’ विकासगरी सफल परिक्षण गरिएको छ ।
स्याउ जोन प्रमुख गौतमले भने, ‘ढुसी र ब्याक्टेरियाबाट फैलने रोग नियन्त्रणकालागि विषदीको सट्टा स्थानीय घाँसमा ‘ल्याक्किट एसिड ब्याक्टेरिया’को प्रयोग मार्फा स्याउ बगान र केही कृषकको वारीमा प्रभावकारी देखिएको छ ।’

संघीयता कहाँ पुग्यो किसानको बारीसम्म?
मुस्ताङमा जलवायु परिवर्तनका असर स्थानीय किसानको खेतबारीमा देखिइसक्दा त्यससँग जुध्ने जिम्मेवारी तीन तहका सरकारबीच कसरी बाँडिएको छ र कार्यान्वयन कति प्रभावकारी छ भन्ने प्रश्न उठ्छ ।
नेपालको संघीय संरचनाले कृषि, वातावरण, प्राकृतिक स्रोत र विपद् व्यवस्थापनसँग सम्बन्धित जिम्मेवारी विभिन्न तहमा बाँडेको छ । जलवायु अनुकूलन पनि एउटै सरकारको काम मात्र होइन, नीति, स्रोत, प्राविधिक क्षमता र स्थानीय कार्यान्वयनबीच समन्वय आवश्यक पर्ने विषय हो ।
स्थानीय तहहरू आफ्नै स्रोत, अनुभव र सीमित प्राविधिक जनशक्तिका भरमा अनुकूलनका कार्यक्रम चलाइरहेका छन् । प्रदेश सरकारले अनुदान, बीमा र बगैंचा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको बताउँछ । संघीय सरकारले सशर्त अनुदान, रोगकीरा नियन्त्रण, माटो सुधार, रैथाने बाली प्रवद्र्धनलगायत कार्यक्रम स्थानीय तहमा पठाएको दाबी गर्छ । तर किसानको खेतमा आएको संकटको एकीकृत तस्वीर भने कतै देखिंदैन ।
माथिल्लो भेगमा खेती सरेको स्पष्ट र अद्यावधिक तथ्याङ्क कृषि विभाग र राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) सँग छैन । कुन बाली कहाँ सर्दैछ, रोगकीरा कुन क्षेत्रसम्म पुगे, पानीका मुहानमा कस्तो परिवर्तन भयो, कुन पालिकालाई कस्तो प्राविधिक सहयोग चाहिन्छ भन्नेबारे अद्यावधिक जानकारीबिना तीनै तहले बनाउने नीति परिणाममुखी हुन सक्दैनन् ।
घरपझोङ गाउँपालिकाले आफ्नै ज्ञान र सीपका आधारमा जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गरेको भए पनि संघीय सरकारबाट प्रत्यक्ष नीतिगत र बजेटरी सहयोग प्राप्त नभएको जनाएको छ ।
गण्डकी प्रदेश कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी डा. राजेशकुमार चौधरीका अनुसार जलवायु अनुकूलन तथा जलवायु प्रविधिका लागि प्रदेश सरकारले मुस्ताङलाई ६ करोड २८ लाख रुपैयाँ र ‘नाफा आयोजना’ मार्फत ५० प्रतिशत अनुदानमा स्याउ र ओखर बगैंचा व्यवस्थापन कार्यक्रम दिएकोे जानकारी दिए ।
डा. चौधरीले बेमौसमी वर्षा र बाढीले स्याउमा ठूलो नोक्सानी पु¥याउने गरेकोले ८० प्रतिशतसम्म बाली बीमा प्रिमियम र बीमा नभएका कृषकलाई प्रदेश राहत कार्यक्रम ल्याएको बताए ।
उनले स्थानीय, प्रदेश र संघीय कृषि निकायबीच समन्वय गरी अनुदानको प्रभावकारिता अनुगमन आवश्यक रहेको पनि उल्लेख गरे । उनले अनुदानको प्रभावकारिता अनुगमनका लागि तीनै तहका निकायबीच समन्वय आवश्यक रहेको पनि स्वीकार गरे ।
यता, कृषि विभागका सूचना अधिकारी वरिष्ठ कृषि अर्थविज्ञ तिलकराज चौलागाईंसँग जलवायु अनुकूलन कृषि नीति वास्तविक किसानको खेतबारीसम्म पुगेको छ कि छैन भनेर सोद्धा उनले, ‘यस विषयमा विभागबाट अध्ययन नभएकाले तथ्यगत रूपमा भन्न सकिने अवस्था नरहेको । स्याउलगायत फलफूलको गुणस्तर जोगाउनेबारे कृषि अनुसन्धान परिषद्ले जवाफ दिन सक्ने’ जानकारी इमेलमा दिए ।
तर, यसबारे प्रतिक्रिया लिन कृषि अनुसन्धान परिषद्की सूचना अधिकारी डा. सुधा सापकोटालाई पटक–पटक सम्पर्क गर्दा पनि फोन र इमेलको जवाफ प्राप्त भएन।
तर, यसबारे प्रतिक्रिया लिन कृषि अनुसन्धान परिषद्की सूचना अधिकारी डा. सुधा सापकोटालाई पटक–पटक सम्पर्क गर्दा पनि फोन र इमेलको जवाफ प्राप्त भएन।
तीन तहमा अधिकार बाँडिएपछि जिम्मेवारी पनि बाँडियो, तर जलवायु संकटको परिणाम मापन गर्ने र त्यसअनुसार नीति सुधार गर्ने जिम्मेवारी भने कसैले नलिएको भान हुन्छ ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टशीनर्वु गुरुङका अनुसार पालिकाले रैथाने बाली संरक्षण गर्दै तरकारी खेतीका लागि प्लास्टिक टनेल, कृषि बिमा र एकीकृत कीट व्यवस्थापन अपनाएको छ। तर नयाँ रोगकीरा रोक्न हम्मे–हम्मे परेको छ।
सूचना अधिकारी सुदर्शन थकालीले भर्खर भित्रिएका स्याउमा ‘स्क्याब’ जस्ता रोग र तरकारीमा लाही कीराको प्रकोप नियन्त्रण गर्न विषादी छर्कन सुरु गरिएको बताए ।
थासाङ गाउँपालिकाले भने घाँसा क्षेत्रमा जलवायु अनुकूल किवी खेती प्रवद्र्धन थालेको छ । प्रवक्ता एवं वडाध्यक्ष गौतम शेरचनका अनुसार पालिकाले ग्रिनहाउस प्रविधिसहित कृषि यान्त्रीकरणमा जोड दिएको छ । तर, दुई जना मात्र कृषि प्राविधिकको भरमा चल्नुपर्दा सेवा प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत अनिल अर्याल बताउँछन् ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरीका अनुसार बालीमा नयाँ रोगकीरा नियन्त्रण गर्न कृषकले विषादीमा ठूलो लगानी गर्नुपरेको छ। पालिकाले प्राङ्गारिक मल, यान्त्रीकीकरण र बाली उपचारमा चालु आर्थिक वर्षमा ५० लाख ६० हजार रुपैयाँ विनियोजन गरे पनि संघीय सरकारको ठोस योजना र पर्याप्त अनुदानको अभाव छ ।
यसैबीच, हिमाली क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न घरपझोङ गाउँपालिकाले भदौ अन्तिम साता जोमसोममा देशभरका पालिका प्रमुखहरू, जलवायु तथा कृषि विज्ञहरू सहभागी गराएर ‘राष्ट्रिय जलवायु सम्मेलन’ आयोजना गर्दैछ।
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार हिमनदी पग्लिने, हिमताल विस्फोटको जोखिम, विपद् र जैविक विविधतामा परेको असरबारे छलफल गरी स्थानीय तहहरूको साझा रणनीति बनाउन सम्मेलन आयोजना गरिएको हो।
छिरिङ डोल्माका लागि बारीमा फलेको ब्रोकाउली खुसीको कुरा हो। तर, त्यही बारीमा हिउँ कम परेको, मौसम बदलिँदै गएको र नयाँ रोगकीरा देखिन थालेको तथ्य ठूलो चिन्ताको विषय हो।
मुस्ताङमा जलवायु परिवर्तन अब भविष्यको कुरा रहेन, यो किसानको बारीमा आइसकेको छ। तर यसको सामना गर्न तीनै तहका सरकारको एकीकृत र वास्तविक प्रयास भने अझै आवश्यक देखिन्छ । *खोज पत्रकारिता केन्द्रका लागि

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र