FLASH NEWS
  • Loading...

कमजोर भूगोल र गैरजिम्मेवार विकास : यसरी निम्तियो कालीगण्डकीमा बाढीको वितण्डा

कमजोर भूगोल र गैरजिम्मेवार विकास : यसरी निम्तियो कालीगण्डकीमा बाढीको वितण्डा

०८३ असोज दोस्रो साता (८–११ गते) लगातार परेको भारी वर्षासँगै कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिराले म्याग्दी र मुस्ताङ क्षेत्रको जनजीवन तहसनहस बनायो ।

भारी वर्षापछि आएका दर्जनौ पहिरोमा परि अन्नपूर्ण गाउँपालिकामा मात्र ५ जनाको मृत्यु, १ जना वेपत्ता छन । पहिरोबाट अन्नपूर्ण गापा, ५ पाउद्धार, गिवाङ, किन्दुसमेत वस्तीबाट एक सय ५० जनाबढी विस्थापित भै अन्नपूर्ण गापा, ६ घार र शिखका होल्डिङ सेन्टरमा ल्याइ राखिएको छ । होल्डिङ सेन्टरमा रहेका मध्य पहिरोमा फसेका १ सय १५ जनालाइ हेलिकोप्टरबाट उद्धारगरी होल्डिङ सेन्टरमा ल्याउनु परेको थियो । त्यस्तै, अन्नपुर्ण गापा, ८ काफलडाँडाको महभीर वस्ती नै पहिरोले बगाएपछि ३० घरलाइ छुट्टै होल्डिङ सेन्टरमा राखिएको छ । बाढीले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक) र राष्ट्रिय प्रसारण लाइनका पूर्वाधारहरूमा अर्बौंको क्षति पुर्‍याएको छ । अस्वभाविक मनसुनी वर्षा, यस क्षेत्रको कमजोर भौगोलिक बनोट र विकासका नाममा अपनाइएको गैरजिम्मेवार निर्माण शैली एकापसमा जोडिँदा कालीगण्डकीले कसरी विनाशकारी रूप लियो भन्ने गम्भीर प्रश्न खडा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज दोस्रो साता मनसुन बाहिरिने समय नजिकिँदै गर्दा म्याग्दी र मुस्ताङका विभिन्न वर्षामापन केन्द्रहरूमा “अति भारी” वर्षा रेकर्ड भएको थियो । कार्यालयको असोज ८ देखि ११ गतेसम्मको वर्षाको तथ्याङ्क अनुसार सदरमुकाम बेनीमा २९९ मिमी, रघुगंगा गाउँपालिका-१ बेगमा २५१.७ मिमी, अन्नपूर्ण गाउँपालिका-६, रातोपानीमा २३६ मिमी (असोज १० गते ९६.६ मिमी र ११ गते एकै रात ११४.६ मिमी ) वर्षा भएके थियाे। त्यस्तै, सेही समयमा मुस्ताङके लेतेमा ८७.५ मिमी, मार्फामा ९७ मिमी र जोमसोममा ५८.६ मिमी वर्षा रेकर्ड भएकाे छ ।

यसरी मनसुनको उत्तरार्धमा एकैपटक परेको मूसलधारे वर्षाले सुक्खा र संवेदनशील पहाडी भूगोललाई गलाइदियो, जसले गर्दा दर्जनौँ ठाउँमा ठूला पहिरा खसे। बाढी र पहिराले सडक सञ्जाल र मुलुकको ऊर्जा क्षेत्रलाई ठूलो धक्का पुर्‍याएको छ। क्षतिबारे सम्बन्धित आयोजना प्रमुखहरूले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

कालीगणडकी करिडाेर मालढुङ्गा-बेनी-जाेमसाेम-काेरला सडक याेजना प्रमुख तेजस्वी शर्माका अनुसार, प्रारम्भिक विवरणमा बाढीले ८० करोड रुपैयाँभन्दा बढीका सडक संरचना बगाएको छ । भत्किएका संरचनाहरू पुनःनिर्माण गर्न ३ अर्ब ५० करोडदेखि ४ अर्ब रुपैयाँसम्म खर्च लाग्ने अनुमान छ। बेनी–घाँसा ३३ किलोमिटर खण्डमा मात्र ९ किलोमिटर सडक पूर्ण रूपमा बगेको छ (जसमा ४ किमी पहिरोले र ५ किमी कालीगण्डकीले बेससहित कटान गरेको हो) ।

याेजना प्रमुख शर्मा भन्छन, “विद्युत आयोजना निर्माणक्रममा निस्किने मकिङ मेटेरियल र सडक खन्दा निक्लिएका ढुंगा–माटो नदीमा फाल्न र डम्पिङ गर्न निषेध गर्ने, मोटरपुलको डिजाइन परिवर्तन गरी फ्रिबोर्ड (पुलको उचाइ) बढाउने र ५०–१०० वर्षको औसत बाढीको तथ्याङ्कका आधारमा ग्याबिन जाली र आरसीसी रिटेनिङ वालको मापदण्डमा पुनर्विचार नगरे सडक सँधै असुरक्षित भइरहन्छ, यस वर्षको जस्तो विपत्ति दोहोरिरहन्छ।”

यस्तै, बाढीले जलविद्युत क्षेत्रमा पनि ठूलो संकट पैदा गरेको छ। कालीगण्डकी करिडोर २२० केभीए प्रसारण लाइनअन्तर्गत दानादेखि कुश्मातर्फका ३ वटा हाइटेन्सन टावर बाढीले बेससहित ढलाएको छ भने एउटामा क्षति पुर्‍याएको छ। यसबाट मिस्त्रीखोला, निलगिरि, अपरराहुघाटसहित ७ वटा जलविद्युत आयोजनाको १७५ मेगावाट विद्युत उत्पादन पूर्ण रूपमा ठप्प भएको छ। साथै, स्थानीय वितरणतर्फ ११ केभी र ४०० भोल्टका २ सय ४२ वटा पोल र ३ वटा ट्रान्सफर्मरसमेत बगेका छन् ।

नेपाल विधुत प्राधिकरण पोखरा ग्रीड महाशाखाका प्रमुख/उपप्रबन्धक रहेका रोशन खड्का भन्छन, “अहिले इमर्जेन्सी रिस्टोरेसन टावर निर्माण गर्ने र ठूला तारको सट्टा कन्डेक्टर तार (सानो तार) प्रयोग गरी दशैंभित्र हाइटेन्सन लाइन सुचारु गर्ने गरी युद्धस्तरमा काम भइरहेको छ। बाढीपहिरोले पुर्‍याएको आर्थिक क्षतिको विवरण तत्काल निकाल्न सकिने अवस्थाै छैन।”

विपद्को मुख्य कारक: ‘मकिङ मेटेरियल’ र मानवीय लापरवाही

यो प्राकृतिक विपद् मात्र थिएन। अध्ययन गर्दा ध्यान दिनुपर्ने रोचक पक्ष के देखियो भने, कालीगण्डकीले जुन स्थानमा धेरै क्षति पुर्‍याएको छ, त्यस क्षेत्रमा घारखोलाबाहेक अन्य कुनै ठूला सहायक नदीहरू बढेका थिएनन्। बाढीको विनाशकारी रूप मुख्य गरी घाँसाभन्दा तलको क्षेत्रमा मात्र सीमित थियो।

घाँसाभन्दा तलका क्षेत्रमा निर्माण भएका र निर्माणाधीन जलविद्युत आयोजनाका सुरुङ (टनेल) खन्दा निस्किएका लेदो, ढुंगा र विस्फोटक पदार्थका अवशेष (‘मकिङ मेटेरियल’) डम्पिङ साइटमा नराखी सोझै नदी किनारमा फालिएको थियो ।

त्यतिमात्र हैन, सडक आयोजनाले नयाँ बाटो खन्दा निस्किएका ढुंगा-माटो र समय-समयमा खसेका पहिरा पन्छाउँदा निकालिएका सामाग्रीहरू पनि डम्पिङ साइटको सट्टा सोझै कालीगण्डकीमै फालिएका थिए।

यसरी नदी किनारमा जथाभावी थुपारिएको हजारौँ टन मकिङ मेटेरियलका कारण कालीगण्डकीको सतह कैयौँ ठाउँमा २ मिटरभन्दा माथि उठेको थियो। जब असोजको भारी वर्षापछि नदीको बहाव बढ्यो, तब थुप्रिएको सोही गेग्रान र लेदोलाई बाढीले एक्कासी बगाएर ल्यायो। यसले गर्दा नदीले उग्र रूप लिँदै आफ्नो धार र गति परिवर्तन गर्‍यो र तटीय क्षेत्रका सडक, विद्युत संरचना र बस्तीहरूमा अपुरणीय क्षति पुर्‍यायो।

 

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र