- Loading...
बेनी–जोमसोम सडक सुचारु गर्न दुवैतर्फबाट पहिरो पन्छाउने काम तीव्र, संचार र विधुत सुचारू गर्न हेलिकप्टरमार्फत इन्धन र जेनेरेटर पुर्याइयो

- पुनहिल डट कम
- १ हप्ता अघि
- २२४ पटक पढिएको
कालीगण्डकी करिडोरअन्तर्गत राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकखण्डको गलेश्वर–बेगखोला–पेखरे क्षेत्रमा पहिरो र नदी कटानले सडक ध्वस्त बनेपछि वैकल्पिक बाटो निर्माण र अवरुद्ध विद्युत्-सञ्चार सेवा सुचारु गर्न युद्धस्तरमा काम भइरहेको छ।
अविरल वर्षासँगै आएको बाढीले कालीगण्डकी किनारको मुख्य सडक बगाएर भीर र गेग्रानमा परिणत गरेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना, त्यस क्षेत्रमा रहेका विधुत अयेजना, स्थानीय तह, सुरक्षा निकायसमेतको समन्वयमा भारी उपकरण (डोजर/एस्क्याभेटर) परिचालन गरी दुवैतर्फबाट सडक मर्मत र सञ्चार पुनर्स्थापनाको काम अघि बढाइएको छ।
त्यसैविच उत्तरी म्याग्दी र मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकखण्ड खोल्न दुवैतर्फबाट उपकरण परिचालन गरिएका छन्। जोमसोम क्षेत्रबाट दर्जनावौँ पहिरो पन्छाउँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीसम्म सवारी साधन चल्न सक्ने गरी सडक मर्मत भइसकेको स्थानीय सडक सुपरभाइजर इन्द्रसिं शेरचनके हवाला दिँदै जिल्ला प्रशासन कार्यालयले जनाएके छ। बेनीतर्फबाट भने पहिरो पन्छाउँदै डोजर रघुगङ्गा गाउँपालिका–२ बैसरीसम्म पुगेको भए पनि सवारी साधन नै सञ्चालन भइहाल्ने अवस्था भने बनिसकेको छैन।
यसैगरी, गलेश्वर–भगवती–बेग हुँदै बेगखोला झर्ने वैकल्पिक ग्रामीण सडकका पहिरो हटाउन स्थानीय पालिकाले पहल गरिरहेको भए पनि उक्त बाटो पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने देखिएको छ।
“शुक्रवारसम्म जोमसोमतिरबाट अस्थायी ट्र्याक खोल्दै दर्जनावौँ पहिरो पन्छाएर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ तातोपानीसम्म सवारी साधन चल्न सक्ने गरी सडक मर्मत भइसकेको छ,” म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले भने, “बेनीतर्फबाट भने पहिरो पन्छाउँदै डोजर रघुगङ्गा गाउँपालिका–२ बैसरीसम्म पुगेको छ, तर सवारी साधन नै सञ्चालन गर्न सकिने अवस्था भने बनिसकेको छैन।”
प्रजिअ गैरेले थपे, “गलेश्वर–भगवती–बेग हुँदै बेगखोला झर्ने वैकल्पिक सडकका पहिरो स्थानीय पालिकाको पहलमा पन्छाउने काम भइरहेको छ, तर सडक पूर्ण रूपमा खुलाउन अझै केही दिन लाग्ने अवस्था छ।”
हेलिकप्टरबाट जेनेरेटर, इन्धन र प्राविधिक परिचालन
बाढी र पहिरोका कारण विद्युत्का टावर तथा पोलहरू ढलेपछि अन्धकार बनेको र सञ्चारविहीन बनेको उत्तरी म्याग्दीका बस्तीहरूमा सेवा पुन: सञ्चालन गर्न शुक्रवार हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री पठाइएको छ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा बेनीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र प्राविधिकहरूको टोली पोखरेबगर तथा हिस्तानलगायतका बस्तीहरूमा पुर्याइएको छ।
“उत्तरी भेगमा अवरुद्ध बिजुली र सञ्चार सेवा सुचारु गर्न शुक्रवार बेनीबाट हेलिकप्टरमार्फत जेनेरेटर र इन्धनसहित प्राविधिकहरू पोखरेबगर र हिस्तानलगायतका बस्तीमा पुर्याएर मर्मत सुरु गरिएको छ,” प्रमुख जिल्ला अधिकारी गैरेले बताए, “प्राविधिक टोली खटिएकाले शनिवारसम्म विद्युत् र टेलिफोन सेवा सुचारु हुने जानकारी पाएका छौँ।”
यता, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पनि सञ्चार टावरहरूमा इन्धन पुर्याउन र विद्युत् मर्मत गर्न पालिकाले पूर्ण समन्वय गरिरहेको बताए। “सडक सञ्जाल कटेकाले हेलिकप्टर र भरियामार्फत पोखरेबगर र दाना क्षेत्रमा सामग्री पुर्याएर वैकल्पिक ३३ केभी लाइन जोड्ने र सञ्चार टावर चलाउने काम अन्तिम चरणमा पुगेको छ,” नेपाल विद्युत् प्राधिकरण तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईँले जानकारी दिए।
हिलो र भीरको बाटोमा पैदलयात्रीको सकस
सडक सम्पर्क विच्छेद भएपछि दसैँ मनाउन घर फर्किने सर्वसाधारण, मुस्ताङ जाने तीर्थयात्री र बिरामीहरूले सास्ती व्यहोर्नु परेको छ। सवारी साधन नचल्दा यात्रुहरू ज्यान हत्केलामा राखेर जोखिमपूर्ण पैदल यात्रा गर्न बाध्य छन्।
राहुपारे, बैसरी र तिप्ल्याङ क्षेत्रमा पहिरोले सडकको नामोनिसान मेटाएको छ। घुँडासम्म गाडिने लेदो हिलो, निरन्तर खसिरहने ढुङ्गा र तल सुसाइरहेको कालीगण्डकीको किनारै-किनार यात्रुहरू थरथर काप्दै हिँड्न बाध्य छन्। दसैँका सामान, झोला र साना बालबालिका काँधमा बोकेर हिँडेका यात्रुहरू हिलोमा चिप्लिँदै र एकअर्काको हात समात्दै बाटो पार गरिरहेका छन्।
“अगाडि हेर्यो भीरबाट ढुङ्गा खस्ने डर, तल हेर्यो उर्लिएको कालीगण्डकी। एक-एक पाइला जिन्दगीको बाजी थापेर चाल्नुपरेको छ,” मुस्ताङतर्फ जाँदै गरेका एक यात्रुले भने, “हिलोमा जुत्ता गाडिएर खाली खुट्टा हिँड्नुपरेको छ। ज्यान जोगाएर गन्तव्यमा पुग्न सकिए ठूलो भाग्य।”
बेनी–दरबाङ सडक दुखुखोला पुग्यो, पश्चिम क्षेत्रमा सेवा सुचारु
जिल्लाको पश्चिमी क्षेत्र जोड्ने बेनी–दरबाङ सडक खण्डमा पनि बाढीपहिरोले पुर्याएको क्षति पन्छाउने काम निरन्तर भइरहेको छ। डोजरमार्फत पहिरो हटाउँदै मर्मत टोली म्याग्दीको मालिका र मङ्गला गाउँपालिकाको सीमास्थल दुखुखोलासम्म पुगिसकेको छ।
पश्चिम क्षेत्रका धेरैजसो बस्तीहरूमा भने विद्युत् र दूरसञ्चार सेवा यसअघि नै सुचारु भइसकेकाले जनजीवन क्रमैसँग सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन र सुरक्षा निकायका टोलीहरू सबै अवरुद्ध सडकका ट्र्याक खोलेर दसैँ अगावै सवारी आवागमन सहज बनाउन प्रयासरत छन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य




























