- Loading...
रसुवा बाढीबाट अहिलेसम्म ९५ जनाको मृत्यु पुष्टि, ६३ घाइते र सुरक्षाकर्मीसहित कैयौँ बेपत्ता

- पुनहिल डट कम
- १ हप्ता अघि
- ८२ पटक पढिएको
रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण साँझसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
बाढीले बगाएर ल्याएका शवहरू तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लाहरूमा फेला परेका हुन्। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार मृत्यु हुनेमा २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान खुल्न नसकेका २० जना रहेका छन्।

६३ जनाको विभिन्न अस्पतालमा उपचार जारी
बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी उपचार भइरहेको छ। प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१, रसुवा अस्पतालमा २१, त्रिशूली अस्पतालमा १६, राष्ट्रिय ट्रमा सेन्टरमा ७, नर्भिक अस्पतालमा ३, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ र ग्रीनसिटी अस्पतालमा १ जना घाइतेको उपचार भइरहेको छ।
सुरक्षाकर्मीहरूसमेत सम्पर्कविहीन
बाढीका कारण विभिन्न चौकी तथा प्रहरी पोस्टमा कार्यरत सुरक्षाकर्मीहरूसमेत सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार टिमुरेबाट १०, स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, वेत्रावतीबाट १, हाकुबाट १ र रसुवागढीबाट २ जना गरी कुल २२ जना प्रहरी सम्पर्कविहीन रहेका छन्।
सम्पर्कविहीन भएकाहरूको खोजीका साथै प्रभावित क्षेत्रमा उद्धार कार्य निरन्तर जारी छ।
४.५ म्याग्निच्युडको भूकम्पपछि हिमपहिरो वा हिमताल फुटेको शङ्का
तिब्बतबाट भोटेकोसी हुँदै रसुवाको टिमुरेमा आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। असोज १० गते बिहान आएको लेदोसहितको बाढी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म पुगेपछि तटीय क्षेत्रमा सन्त्रास फैलिएको छ।
बिहान पौने ९ बजेतिर गोसाईंकुण्ड गाउँपालिका-१ र २ को टिमुरे बजारमा धुलो, धुवाँ र कालो बादलसहित बाढी उर्लिएको थियो। बाढीले टिमुरे, स्याफ्रुबेँसी लगायत नदी किनारका बस्ती, पुल तथा पूर्वाधारमा पूर्ण रूपमा क्षति पुर्याएको छ। गोसाईंकुण्ड-१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङका अनुसार खोला किनारका करिब ६० प्रतिशत मानिस सम्पर्कविहीन छन् भने बाढीबाट जोगिन भागेका नागरिक पहाडी भिरालोमा उद्धारको पर्खाइमा छन्।
भूकम्पीय हलचल र हिमताल विस्फोटको शङ्का
विपद्को सटीक कारण अझै खुल्न नसके पनि बाढीको समय आसपास तिब्बती मुहान क्षेत्रमा दुई वटा भूकम्प रेकर्ड भएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८:२० बजे २.७ र ८:३७ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले तिब्बतको दोङलिङ जाङ्बो क्षेत्रमा हिमपहिरो गएर नदी केहीबेर थुनिएको र त्यही अस्थायी बाँध फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन्। जलवायु परिवर्तन अनुसन्धानकर्ता अर्जुन ढकालका अनुसार कमजोर हिमाली क्षेत्रमा साना भूकम्पले पनि हिमताल विस्फोट वा हिमपहिरो निम्त्याउन सक्छ।
१४ जलविद्युत् आयोजनामा ठूलो क्षति
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार बाढीले १४ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। जसमा सञ्चालनमा रहेका ९ वटा (३५४ मेगावाट) र निर्माणाधीन ५ वटा (३९४ मेगावाट) आयोजना रहेका छन्।
उद्धारमा चारवटा हेलिकोप्टर परिचालन
नेपाली सेनाले बाढीपीडितको उद्धार र प्राथमिक उपचारका लागि आफ्ना चारसहित १२ वटा हेलिकोप्टर विपद् प्रभावित क्षेत्रमा परिचालन गरेको छ। सेनाले रसुवाबाट १२ जनाको सकुशल उद्धार गरिसकेको छ भने सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





















